धरान : भारतबाट भन्सार छलेर ल्याएको करिब ५ लाख रुपैयाँ भन्दा बढीको सुर्तीजन्य पदार्थ बरामद गरिएको छ ।

विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहानको राती १ बजे इटहरी उपमहानगरपालिका-५ कलङ्की एरियाबाट को १ ख ६८९० नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको थियो ।

मिनी ट्रक नियन्त्रणमा लिई चेक जाँच गर्दा ट्रक भित्र लुकाई छिपाई राखिएको अवस्थामा ३३ बोरा सुर्तीजन्य पदार्थ र ३६ बोरा सैनिक लेखिएको तयारी खैनी फेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

बरामद गरिएको सुर्तीजन्य पदार्थका धनी कोसी गाउँपालिका-५ का ३६ वर्षीय कैसर आलमलाई नियन्त्रणमा लिइएको छ भने ट्रक चालक मोरङ सुन्दर हरैचाका २३ वर्षीय सैयद आलम र ओसारपसारमा संलग्न कोसी गाउँपालिका-५ का ३३ वर्षीय महबुव आलम र ३४ वर्षीय सम्पत लाल कामत समेतलाई नियन्त्रणमा लिइएको उक्त कार्यालयले जनाएको छ ।

बरामद गरिएको सुर्तीजन्य पदार्थको बजार मूल्य ५ लाख १६ हजार रुपैयाँ कायम गरी ट्रक र पक्राउ परेका मानिस समेतलाई आवश्यक कारबाहीकोलागी श्री सेतुबन्ध भन्सार कार्यालय कोसी ब्यारेजमा बुझाइएको छ ।