विराटनगर : नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा अप्रेसन नगरी पाठेघर भित्र गुजुल्टिएको रगतको गाँठो खोलिएको छ ।

नोबेलका प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राडा. शान्ति सुवेदीले अल्ट्रासाउन्ड गर्दा पाठेघरमा रगतको गुजुल्टो देखिएको बताउँदै इन्टरमेन्सनल रेडियोलोजी विभागको समन्वयमा विना चिरफार उपचार गरिएको बताइन् ।

मासिकश्राव गडबड हुने र अत्यधिक रक्तस्रावको समस्याग्रस्त मझरियाकी २९ वर्षीय महिलाको अप्रेसन नगरी उपचार गरिएको अस्पतालले जनाएको छ । 

विवाहपछि दुई पटक गर्भ तुहिएको र एकपटक पाठेघरको नलीमा गर्भधारण भई अपरेसन गरी नलिनै फाले पनि उनको मासिकश्रावको समस्या यथावत् थियो । स्थानीय एक नर्सिङ होमले उनलाई भारत एम्स हस्पिटलमा रिफर गरेको थियो ।

भारत जान खर्च अभाव भएकाले नोबेल मेडिकल कलेजमा जाँच गराउन आएकी थिइन् । प्राडा. सुवेदीका अनुसार मेडिकल भाषामा आर्टेरियोभेनस मालफरमेशन देखिएको बिरामीका पाठेघर नै फाल्नु पर्ने हुन्थ्यो ।

उनले भनिन्, ‘तर पाठेघर जोगाउन अल्ट्रासाउन्डको रिपोर्ट र एमआरआईको रिपोर्टको आधारमा इन्टरभेन्सनल रेडियोलोजिष्टबाट उपचार सम्भव भयो ।’ डा गणेश देवकोटाले इन्टरभेन्सनल रेडियोलोजी प्रविधिको सहायताले रगतको गुजुल्टो खुला गरेको उनले बताइन् ।

खर्चको हिसाब गर्दा भारत गएर उपचार गर्दा जति खर्च हुन्छ त्यसको आधाको पनि खर्चमा उपचार भएको उनले बताइन् । उपचारपछि गरिएका स्क्यानहरूले पनि बिरामीको समस्याको राम्रो उपचार भएको देखाएको उनको भनाई छ ।

नोबेल मेडिकल कलेजका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. गणेश देवकोटाका अनुसार यूटेराइन आर्टरी इम्बोलाइजेसन प्रविधि भनेको पाठेघरमा हुने रक्त प्रवाहलाई रोक्नु हो । यो पेट चिरेर ठुलो अपरेसन गर्नु होइन ।

निडिल, मसिनो तार र पाइप जसलाई वायर, क्याथेटर र माइक्रोक्याथेटरको सहायताले रगतको नलीबाट छिरेर एन्जियोग्राफिको सहायताले पाठेघरमा जाने रगतको नशाहरू पहिचान गरी जुन रगतको नशालाई थुन्न पर्ने हो त्यसलाई विभिन्न पदार्थहरूको सहायताले थुन्ने गरिन्छ ।

नोवेलकी प्रबन्ध निर्देशक इन्दिरा शर्मा बरालले पूर्वी नेपालमा सबै प्रकारका उपचार सेवा नोबेलले दिइरहेको बताइन् । अस्पतालले अत्याधुनिक उपकरणहरू र दक्ष चिकित्सा जनशक्तिको व्यवस्था गर्दै आएको जानकारी दिइन् । उनका अनुसार नोबेलमा निकट भविष्यमा क्यान्सरको रेडियो थेरापी सेवा पनि सुरु हुँदै छ ।

nobel 2

nobel 3