विराटनगर : माओवादीको सशस्त्र जनयुद्धपछि मुलुकमा गणतन्त्र आयो । शान्ति सम्झौतापछि माओवादी पटकपटक सरकारमा पुग्यो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले मुलुकको प्रधानमन्त्री छन् । माओवादी पार्टीका पूर्वलडाकुले भने उपचारमा आर्थिक अभावका कारण नोबेल अस्पतालमा छटपटाई रहेका छन् ।
जेलनेल, यातना भोग्दै लडेका पूर्वलडाकुहरू यति बेला विभिन्न अभाव र सङ्कटको सामना गरिरहेका छन् । तीमध्ये एक पूर्वलडाकु सङ्खुवासभाको पाँचखपन नगरपालिका-२ श्याबुनका ४५ वर्षीय टेकनाथ जनप्रेमी दाहाल । उनी अहिले अस्पतालको शैयामा रोग, अभाव र साकटसँग जुधिरहेका छन् । आर्थिक अभावकै कारण समस्याग्रस्त र तनावपूर्ण अवस्था उत्पन्न हुँदा उनले प्रभावकारी उपचार पाउन सकेका छैनन् ।
टेकनाथ जनप्रेमीलाई उपचारका लागि माघ २६ गते विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । दमका बिरामी उनलाई ६ दिनसम्म आइसियुमा राखियो । अवस्था सामान्य बन्दै गएपछि फोक्सो वार्डमा सारियो । अहिले फोक्सो वार्डको बेड नम्बर ३० मा छन् । उपचार जारी छ । तर, स्वास्थ्य अवस्था थप बिग्रँदै गएको छ ।
उनी भन्छन्, ‘म बाँच्छु कि बाँच्दिन भन्दा पनि तत्काललाई उपचार गराउने पैसा भएन ।’ परिवारको आम्दानीको स्रोत नहुँदा अभाव र साकटसँगै रोगले पनि शिथिल बनाएर लगेको गुनासो उनी गर्छन् । परिवारले आफन्तसँग ऋण गरेर उनलाई उपचारका लागि विराटनगर ल्याएका थिए । ऋण गरेर ल्याएको पैसा पनि सकिएपछि समस्या भएको उनले सुनाए । भने, ‘५ लाख रुपैयाँ जतिको बिल भइसक्यो ऋण सापटी नै भएपनि अहिलेसम्म त आफन्तहरूले दिएका थिए । अब आफन्तले पनि सहयोग गर्न सक्ने अवस्था छैन ।’
उनका अनुसार उपचार र औषधि उधारोमा चलिरहेको छ । ल्याबमा परीक्षण गरेको ७० हजार रुपैयाँ मात्रै तिरेको टेकनाथ बताउँछन् । उनकी पत्नी पार्वता थापा ‘कल्पना’ पनि माओवादीकी पूर्वलडाकु हुन् । पत्नी पार्वतासँगै जेठान बलबहादुर थापामा टेकनाथको उपचारमा संलग्न छन् ।
टेकनाथकी पत्नी पार्वता पनि सहयोद्धा पतिको सहज उपचार गराउन नसकेर पीडामा छन् । पार्टी र सरकारले सहयोग नगरेको तथा व्यक्तिगत हिसाबबाट मात्रै सहयोगको आश्वासन आएको उनले बताइन् । उनले आफू र पति नै माओवादीको जनमुक्ति सेनामा आबद्ध भएर युद्ध लड्दै पार्टीलाई योगदान दिएको बताइन् ।
कोसी प्रदेशका सामाजिक विकास मन्त्री माओवादी नेता राजेन्द्र कार्की टेकनाथलाई भेट्न नोबेल अस्पतालमा पुगेका थिए । उनले टेकनाथको उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘उहाँको परिवारले पार्टीका लागि धेरै गर्नु भएको हो । मुलुकको व्यवस्था परिवर्तनमा उहाँजस्तै योद्धाहरूको महत्त्वपूर्ण योगदान छ ।’
टेकनाथले मन्त्री कार्की र केही कार्यकर्ता बाहेक आफूलाई भेट्न अस्पतालमा अरू कोही नआएको गुनासो पोखे । कार्कीले भने स्वयं अस्पताल आएर सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए । उनले भने, ‘पार्टीले मलाई मात्रै हैन, मजस्ता धेरै जनालाई हेरेन । युद्धमा लड्दा कैयौँ घाइते भए, अंगभंग भए । कतिपयको शरीरबाट बमका छर्रा र गोली निकालिएको छैन । अहिले पनि उनीहरूको दैनिकी निक्कै पीडादायी छ ।’
टेकनाथ र उनकी पत्नी पार्वताको भूमिगत जीवन कहानी निक्कै रोचक छ । टेकनाथ माओवादी सशस्त्र सङ्घर्षलाई साथ दिँदै २०५७ साल पुस १६ गतेदेखि भूमिगत भएका थिए । एरिया सदस्य, जिल्ला सदस्य हुँदै तत्कालीन मेची-कोसी ब्युरो सचिवसम्म भए । अहिले पनि आफू माओवादीमै आबद्ध रहेको उनी बताउँछन् । तर, पार्टी र सरकारले पूरै बेवास्ता गरिरहेको गुनासो उनको छ ।
युद्धरत माओवादीले त्यतिबेला सङ्खुवासभा, भोजपुर, धनकुटा र तेह्रथुम गरी ४ जिल्लालाई समेटेर एउटा जिल्ला बनाएको थियो । दोलखाबाट २०७९ को चुनावमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका गङ्गा कार्की ‘विश्व’ त्यसको जिल्ला सेक्रेटरी थिए । हालका सङ्घीय सांसद गंगाले त्यतिबेला जिल्ला सेक्रेटरीको भूमिका निर्वाह गरिरहँदा टेकनाथ भने धनकुटा एरियाको सदस्यको जिम्मेवारीसहित भूमिगत भएका हुन् ।
टेकनाथले आफू २०५८ सालदेखि माओवादी लडाकुको भूमिकामा रहेको बताए । २०६० भदौ १९ गते पक्राउ परेर २०६३ माघ १६ गतेसम्म मोरङ कारागारमा राखिएको उनले बताए । कारागार मुक्त भएपछि पुनः सेनाबाट पक्राउ परे । उनले भने, ‘५ महिनासम्म सेनाले आँखामा पट्टी बाँधेर राख्यो । त्यही यातनाका कारण मेरो स्वास्थ्यमा समस्या भएको हो ।’
उनीभन्दा अघि पत्नी (श्रीमती) पार्वता माओवादीमा लागेर भूमिगत भएकी थिइन् । माओवादीको तत्कालीन जनमुक्ति सेनामा आबद्ध पार्वता २०५७ जेठदेखि भूमिगत भएकी हुन् । टेकनाथका अनुसार पार्वतालाई प्रहरीले २०५७ चैत २७ गते सङ्खुवासभाको चिचिला स्थित कुवापानीबाट पक्राउ गरी मातृका यादव, नारायण दाहाललगायतको टोलीसँगै हनुमानढोकामा लगेर राखेको थियो । पक्राउ परेको १ महिना १९ दिनपछि उनी रिहा भएको टेकनाथ बताउँछन् ।
‘हामी दुवै जना (पति-पत्नी’ नै जनमुक्ति सेनामा आबद्ध थियौँ । श्रीमतीको भूमिगत नाम कल्पना हो’, टेकनाथले भने, ‘सङ्खुवासभामा पहिलो पटक पक्राउ पर्ने माओवादी उनै हुन् । पार्वता माओवादीको प्लाटुन कमान्डर थिइन् ।’ उनका अनुसार पार्टीको एउटा सङ्गठनात्मक अवस्थासम्म पुग्न जनमुक्ति सेनामा भर्ना हुनुपर्ने र हतियार बोक्नुपर्ने हुन्थ्यो । टेकनाथ भन्छन्, ‘अहिले पनि पार्टीमा आबद्ध छु । संगठक भएर पार्टीकै काममा सक्रिय छु । माओवादी शान्ति प्रक्रियामा आएपछि जनमुक्ति सेना र संगठकको विभाजन भयो । क्यान्टोनमेन्टमा नजानेलाई सेना भनिएन । सुरुमा जनमुक्ति सेना भएर युद्ध लडेपनि पछि पार्टीको संगठकका रूपमा सक्रिय भएँ ।’