धरान : लिम्बु विद्यार्थी मञ्च स्थापना भएको २५औँ वर्षमा पुगेको अवसरमा आयोजित लिम्बु विद्यार्थीहरूको अन्तर्राष्ट्रिय महासम्मेलन धरानमा मङ्गलवार देखी सुरु भएको छ ।

चुम्लुङ हिम धरान-१५ मा एक समारोहका बिच प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुले उद्घाटन गरे । प्रदेश १ को नामकरणको प्रस्ताव हुँदा तत्कालीन सांसद जवेगुले फरक मत राख्दै ‘लिम्बुवान, किरात’ नाम प्रस्ताव गरेका थिए ।

उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका मन्त्री जवेगुले अहिले पनि आफू उक्त अडानमा कायम रहेको बताउँदै पछिल्लो समय आन्दोलनकारी र प्रदेश सरकार बिच वार्ता चलिरहेकोले सकारात्मक निष्कर्ष निस्कने विश्वास व्यक्त गरे ।

उनले लिम्बु विद्यार्थी मञ्चको मातृभाषामा व्यवहारिक शिक्षाको माग संविधानले दिएको अधिकारको माग भएको बताउँदै आन्दोलनलाई सकारात्मक अभियानको रूपमा अघि बढाउन अन्तर्राष्ट्रिय सम्मेलनले परिणाममुखी निष्कर्ष निकाल्ने आशा व्यक्त गरे ।

उद्घाटन समारोहमा मञ्चका अध्यक्ष नितेश सिंगकले महासम्मेलनले भाषा, लिपि, धर्म, संस्कार, राजनीति र शिक्षा लगायतका विषयमा गम्भीर छलफल गरी आउँदो दशकका लागि मार्गचित्र स्पष्ट गर्ने बताए ।

५ दिन सम्म चल्ने महासम्मेलनमा दर्जन बढी कार्यपत्रहरूमा छलफल, टिप्पणी भई निष्कर्षको रूपमा लिम्बुवान विजयपुर घोषणापत्र जारी गरिने कार्यक्रम छ । महासम्मेलनमा नेपालको १६ जिल्लाका साथै सिक्किम, दार्जिलिङ, आसाम लगायत विदेशबाट लिम्बु भाषा संस्कृतिका अध्येता, विद्वानहरू सहित विद्यार्थीहरू सहभागी छन् ।

उद्घाटन समारोहमा प्रदेश प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सिक्किम युनिभर्सिटीको प्राध्यापक बल मुरिङला, चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेन, लालीगुराँस नगरपालिका प्रमुख अर्जुनबाबु माबुहाङ, पूर्व प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, लिम्बु विद्यार्थी मञ्चका संस्थापक अध्यक्ष नरेन्द्र केरुङ लगायतले शुभकामना मन्तव्य प्रकट गरे ।

कार्यक्रम सञ्चालन महासचिव प्रदीप नयोङहाङले गरे ।

मातृभाषा लिम्बु भाषा, लिपिमा शिक्षाको अधिकारका लागि स्थापना भएको मञ्चको अभियानले पछिल्लो समय विद्यालयहरू अनौपचारिक मातृभाषा पठन पाठन हुन थालेको छ ।

पाँचथरमा जिल्ला शिक्षाको सहकार्यमा लिम्बु भाषा, लिपीको प्लस टू परीक्षा बोर्ड समेत सञ्चालनमा छ ।

मञ्चले संविधानमा प्रत्याभूत तथा शिक्षा ऐन, नियमावलीमा व्यवस्था भएका मातृभाषा शिक्षाको अधिकारीलाई कार्यान्वयन गर्न स्थानिय तहमा पहलका साथै राज्यलाई दबाबमूलक कार्यक्रमहरू पनि गर्दै आएको छ ।

‘मातृभाषामा व्यवहारिक शिक्षा हाम्रो अभियान, सङ्घीय गणतन्त्रमा स्वायत्त लिम्बुवान’ नारा सहित स्थापना भएको मञ्च पछिल्लो समय कोशी नाम खारेज पुनः नामकरणको आन्दोलनमा पनि सक्रिय रहँदै आएको छ ।

limbu-student-2limbu-student-dharan