- अनुसा थापा
हरेक प्राणीलाई पानी र अक्सिजन चाहिन्छ । पानी र अक्सिजन बिना कुनै पनि प्राणी बाँच्न सक्दैन । अक्सिजनका लागि वृक्षारोपण गर्नुपर्छ । तर, पछिल्लो समय वन नै फडानी गरेर बस्ती बसाउन थालिएको छ । प्रकृति प्रति कोही पनि जिम्मेवार छैन । काठमाडौँ उपत्यका मात्रै नभई बाहिरी जिल्ला पनि घरैघरको सहर बनिसकेको छ ।
भौतिक पूर्वाधारको विकास गर्दा प्रकृतिको संरक्षण गर्नुपर्छ भन्ने कुरा सबैले बिर्सिएका छन् । उपत्यका बिजोग अवस्थामा छ । जता हेर्यो घरैघर र गाडी । रुखविरुवा देखिन छोडिसकेको छ । धुँवाधुलोको मुस्लो फ्याँकेर गाडी गुडिरहेका हुन्छन् । जसले गर्दा आम सर्वसाधारणलाई श्वासप्रश्वास गर्न पनि समस्या परेको छ ।
सरकारले २० वर्ष पुगेका गाडी विस्थापित गर्ने नीति लिएको छ । विडम्बना, कार्यान्वयन भएको छैन । ईट्टाभट्टाले दिएको सास्तीको कुरा गरिसक्नु छैन । ईट्टाभट्टाबाट व्यापक प्रदूषण भइरहेको छ । सर्वसाधारण स्वस्थ हावा लिनबाट समेत वञ्चित भएका छन् । क्रसर उद्योगले पनि व्यापक वातावरण प्रदूषण गरिरहेको छ ।
खोला, नदीनालाबाट गिट्टीवालुवा निकाल्दा पानी नै फोहोर बनेको छ । यता, पानीमा बस्ने जीवहरू पनि मासिँदै गएका छन् । नदीनाला, खोलाको पानी फोहोर भएपछि मान्छेले के पिउने ? पशुपक्षीले कहाँ गएर आफ्नो तिर्खा मेट्ने ? वातावरणसँग नराम्रो खेलबाँड गरिएको छ ।
ढुङ्गा, माटो निकाल्दा वनजंगल नै सखाप भएको छ । रुखहरू मासेर ढुङ्गा, माटो निकालिएको छ । जसले गर्दा चराचुरुङ्गी, जीवजन्तुहरूको वासस्थान मासिएको छ । यता, बर्खामा बाढी, पहिरोको जोखिम पनि उत्तिकै बढेको छ । खेतीयोग्य जमिनलाई खण्डीकरण गरेर, प्लटिङ गरेर घर बनाइएको छ ।
अन्न फल्ने जमिन त कङ्क्रिट बनिहाल्यो, साथै, छेउछाउमा भएका रुखविरुवा पनि मासियो । काठमाडौँ उपत्यका कङ्क्रिटको सहर बनेको छ । पानी पर्यो भने पूरै सहर जलमग्न बन्छ, किन ? किन कि जमिन सबै ढलान गरिएको छ, पानी जाओस् कहाँ ? पहिलेपहिले पानी जमिनले सोस्थ्यो ।
ढलानले त पानी सोस्दैन । यसले गर्दा ढुंगेधारा, कुवाको अस्तित्व पनि सङ्कटमा परेको छ । आकाशबाट परेको पानी ढुंगेधाराबाट आउँथ्यो । बाटो हिँड्नेले ढुंगेधाराबाट पानी पिउँथे । अब अहिले त मिनिरल वाटरको जमाना आयो । ढुंगेधाराको कसले चासो गर्ने ? पानी पर्यो भने सिँधै घरको छतमा झर्छ अनि बाटोमा ।
बर्खामा डुबान, हिउँदमा धुलैधुलो । पानीको हाहाकार पछिल्लो समय व्यापक देखिएको छ । पानीको समस्या पूर्ति गर्नका लागि जमिनमा बोर्डिङ गर्ने क्रम बढेको छ । जमिनभित्र पानी नै गएको छैन, बोर्डिङ गरेर के फाइदा ? भोलि जमिन नै भासिन सक्छ भन्ने कसैले सोचेका छैनन् ।
जहाँ मन लाग्यो, त्यही बोर्डिङ गरिन्छ । घर कस्तो ठाउँमा बनाउने ? कति जग्गामा कति तलाको घर बनाउने ? कुनै मापदण्ड छैन । घर बनाउन पाए पुग्यो । माटो नै चेकजाँच नगरीकन घर ठड्याइएको छ । कमसल माटोमा भौतिक संरचना निर्माण भइरहेका छन् । भनिन्छ नि, ‘दशा बाजा बनाएर आउँदैन ।’
भूकम्प लगायतका प्राकृतिक विपद् जति बेलापनि आउन सक्छ । त्यो घर त ढल्छ नै, छेउछाउमा भएका घरलाई समेत क्षति गर्छ । चार दशक अघि उपत्यकाभित्र प्रशस्तै ढुंगेधारा, चौतारा, पार्टीपौवाहरू देखिन्थ्यो । बाँसघारी पनि प्रशस्तै हुन्थ्यो । ठूल्ठूला रुखहरू थिए । अहिले ढुंगेधारा, पार्टीपौवा, चौतारा एकताकाको कथाजस्तै भएको छ ।
भद्रकालीबाट सिंहदरबार आउने बाटोमा हेर्नुपर्छ, सिमेन्टको गमला बनाएर रुख रोपिएको छ । पुलमाथि सिमेन्टको गमला बनाएको छ । बिरुवा पनि थोरै मात्र गिँडाएको हुन्छ । मान्छेले तान्यो भने फुत्त निस्किन्छ । पानी हालेको हाल्यै हुन्छ तर बिरुवा बढ्दैन । पालिकाहरूले हामीले काम गरेका छौँ है भनेर देखाउन खोजेको स्पष्ट छ ।
बिरुवा रोपेपछि त हुर्किनुपर्यो । एउटा रोप्यो, मर्छ फेरि अर्को रोप्छ । यही क्रम चलिरहेको छ । जनताले तिरेको कर बिरुवा रोप्ने नाममा सखाप पार्ने काम मात्र भइरहेको छ । आज रोपेको बिरुवा केही दिनमा मरिहाल्छ, फेरि अर्को रोप्यो । कि रोप्दै नरोप्नु कि राम्रोसँग रोप्नु र हेरचाह गर्नु ।
काठमाडौँ महानगरपालिकाले केही महिना अघि बिजुली बजारको पुलमा गमला राख्यो । त्यहाँ पुलको बिरुवा रोपिएको थियो । अहिले ती फूलहरू सुकेर गएका छन् । कतिपयले चुँडेरै सकाइदिए । त्यहाँ पनि जनताले तिरेको कर खेर गयो । गमलामा रोप्नुको साटो जमिनमा रोपिदिएको भए हुने थियो ।
सडकको बिचमा रुखविरुवा रोपिएको छ । तर, ती पनि मरिसकेका छन् । सडकको छेउछाउ स्थानीय पालिकाले फलामको बस्ने कुर्सी बनाएका छन् । भद्रकालीमा काठको बनाइएको छ । ती काठका कुर्सी पानीले कुहिसकेका छन् । यता, फलाममा खिया लागेको छ । कि ढुङ्गा छापेर बस्नुपर्थ्यो कि सिमेन्टको ।
नत्र माथिबाट पानी छेक्ने खालको बनाउनुपर्थ्यो । यद्यपि, त्यसो गरिएन । त्यो बिग्रियो, अर्को हाल्छन्, फेरि भ्रष्टाचार । जनताले तिरेको कर ‘बालुवामा पानी’ भएको छ । सरकारले विकास कस्तो हुनुपर्छ भन्ने नै बुझेन । एकचोटिमा हुने काम पटकपटक गर्नुपरेको छ । पैसा भने खर्च भएको भयै छ ।
काठमाडौँमा खुला ठाउँ कतै छैन । कतै गएर बस्छुभन्दा खुला ठाउँ छैन । जसले गर्दा वृद्धवृद्धालाई सास्ती भएको छ । दिनभरि कोठामा निसास्सिएर बस्न त सकिँदैन । हिजो दिउँसो १२ बजेतिरको कुरा हो, बागबजारबाट रत्नपार्क जानेतर्फ आकाशे पुलमा एउटा वृद्ध उभिरहेका थिए ।
कोठामा बस्दाबस्दै वाक्कदिक्क भएर बाहिर निस्किएका उनलाई पुलमाथि व्यापार गर्नेहरूले बस्न पनि दिएनन् । हामीलाई व्यापार गर्नुपर्ने छ, तपाई गइहाल्नुस् भन्दै उनलाई व्यापारीहरूले हप्काइरहेका थिए । सिन्धुपाल्चोक घर बताउने ती वृद्ध त्यसपछि घरतिर लागे । आकाशे पुल व्यापार गर्ने ठाउँ होइन ।
तर, कसैले टेर पुच्छर मानेका होइनन् । नगर प्रहरीको ध्यान आकाशे पुलमाथि जाँदैन । जसका कारण आम सर्वसाधारण मर्कामा परेका छन् । आकाशे पुलहरू साह्रै फोहोर छन् । पुलहरू सफा गर्नुपर्यो, रंगरोगन गर्नुपर्यो । काठमाडौँ उपत्यका फोहोरी सहर बनेको छ । जता हेर्यो फोहोरको थुप्रो ।
गुट्खाको खोल सडकभरी छरिएको हुन्छ । डस्टबिन कतै छैन । खाने, सडकमा खोल फाल्ने क्रम जारी नै छ । यसमा सरोकारवाला निकायको ध्यान जान जरुरी छ । तारैतारको सहर बनेको छ काठमाडौँ । साँघुरा सडक, सवारीको चाप । सडकहरू सफासुग्घर बनाउनुपर्यो । तीन तिरैबाट घर च्यापेर बनाइएको छ ।
अनि रुखचाहिँ कहाँ रोप्ने ? एउटा नीति त हुनुपर्थ्यो । बाटो बनाऊ, घर बनाऊ सरकारको पोलेसी यतिमै सीमित छ । शहरलाई कसरी सफासुग्घर र सुन्दर बनाउने भन्ने सोच सरकारसँग छैन । केही समय अघिसम्म ठूल्ठूला बर पिपलको रुख देखिन्थ्यो । अहिले पिपलको रुख देखिनै छोडिसकेको छ ।
सरकारले त आम सर्वसाधारणलाई रुख रोप भनेर सिकाउनुपर्ने होइन र ? ससाना होइन, ठूलाठूला हुने रुख लगाउनुपर्यो । आज रोपेर भोलि उख्लिने रुखको बिरुवा के काम ? पहिलेपहिले घर ढुंगामाटोको हुन्थ्यो । त्यस्ता घरमा चराचुरुङ्गी बस्ने ठाउँ राखिन्थ्यो । भँगेरा, गौँथली आएर बस्थे ।
अहिले सबै ढलानको घर छ । त्यहाँ चरा बस्ने ठाउँ हुँदैन । पछिल्लो समय भँगेरा देखिनै छोडिसकेको छ । चराचुरुङ्गीहरू विस्थापित हुँदै गए । जङ्गलहरू मासिँदा जीवजन्तुको घर नै मासियो ।