धरान : इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नवराज मल्ल १३ महिना १५ दिन कार्यकाल पछि सरुवा भई आज बिहीबार प्रहरी प्रधान कार्यालय रवाना भएका छन् ।

बढ्दो सहरीकरण सँगै अपराध नियन्त्रण र शान्ति सुरक्षाको चुनौती बढेको धरानमा उनको कार्यकालमा कुल ५९८ वटा मुद्दा दर्ता भए । त्यस मध्ये ४३४ मुद्दा किनारा लगाउन उनी सफल भए । अनुसन्धानका क्रममा रहेका १६४ कारबाहीको क्रममा छन् ।

राजनीतिक, सांस्कृतिक, धार्मिक, सामाजिक सद्भाव कायम गर्न प्रहरीले खेल्ने भूमिकाको सूचकाङ्कका सङ्ख्या उनको कार्यकालमा उच्च रह्यो । प्रस्थान गर्न अघि डिएसपी मल्लले पत्रकारहरूसँग भने ‘सबै क्षेत्रबाट प्राप्त सहकार्यले धरानको कार्यकाल सन्तोषजनक रहेको अनुभव गरेको छु ।’

तथ्याङ्कको आधारमा उनको कार्यकालमा इलाका प्रहरीमा दर्ता भएका ६ वटा कर्तव्य ज्यान मुद्दा ६ वटै किनारा लागेको छ । घट्नामा १ पुरुष ५ महिला मृत्यु भएका थियो । संलग्न १४ पुरुष पक्राउ गरिएको छ ।

ज्यान मार्ने उद्योग ३३ मुद्दा दर्ता भएकोमा ३२ फर्छ्यौट भएको छ । उक्त मुद्दामा संलग्न ६२ पुरुष ३ महिला पक्राउ परेका छन् । एउटा मुद्दा फर्छ्यौट हुन बाकी छ । २४ पुरुष फरार सुचीमा छन् ।

जबरजस्ती करणीका २० वटा मुद्दा दर्ता भएकोमा १८ मुद्दा फर्छ्यौट भएको छ । मुद्दामा संलग्न १९ पुरुष १ महिला पक्राउ परेका छन् । २ मुद्दा बाँकी छन् भने ३ पुरुष फरार सुचीमा छ ।

चोरीमा ५६ वटा मुद्दा दर्ता भएकामा ५२ फर्छ्यौट भएको छ । मुद्दामा संलग्न ९० पुरुष ५ महिला पक्राउ गरी आवयक कारबाही भएको छ । ४ वटा मुद्दा बाँकी छन् भने ८ पुरुष फरार छन् ।

लागुऔषधमा ६८ वटा मुद्दा दर्ता भई ५२ फर्छ्यौट भएको छ । १०५ पुरुष ८ महिला पक्राउ गरी कानुनी कारबाहीको भएको छ । १४ वटा मुद्दा बाकी छ भने ६ पुरुष फरारको सुचीमा छन् । लागुऔषध सहित १ ट्रक ४ भारतीय स्कारपियो, १ भारतीय टाटा सुमो, १ भारतीय कार, १ एम्बुलेन्स, ८ मोटरसाइकल, १ ट्याम्पो, ३ स्कुटर पक्राउ गरिएको छ ।

अभद्र व्यवहारमा सबैभन्दा बढी १६८ वटा मुद्दा दर्ता भई १५९ फर्छ्यौट भएको छ । मुद्दामा संलग्न २२२ जना पुरुष १२ महिला पक्राउ गरी आवयक कारबाहीमा भएको छ । ९ वटा मुद्दा बाकी रहेको छ भने ३५ जना पुरुष ६ महिला फरार सुचीमा रहेका छन् ।

बालबालिकाको उद्धार कार्यमा पनि डिएसपी मल्लको कार्यकाल उल्लेखनीय रह्यो । धरान-१५ ज्ञानचच्चु मार्गका बेपत्ता बालकको प्रहरीले उद्धार गरी आफन्तलाई जिम्मा लगाएका थियो ।

धरान-१२ अमान बजारमा पानी ट्याङ्कीमा डुबेका २ वर्षको बालक लाजरस राईलाई उद्धार गर्दे सम्बन्धित सरोकारवालासँग लबिङ गरी उपचारमा सहयोग पुराइएको थियो ।

अदालतबाट फैसला भई जेल सजाय, दण्ड जरिवाना तोकिएका तर फरार रहेकोले कार्यान्वयन नभएको ६७ जना फरार प्रतिवादी पक्राउ गरिएको छ । उनीहरूबाट तोकिएको ४३ लाख ५० हजार ९८३ जरिवाना असुल उपर गर्न इलाका प्रहरी धरानले योगदान पुराएको छ ।

राजश्वमा योगदानको सूचकाङ्क पनि डिएसपी मल्लको कार्यकालमा उल्लेखनीय रह्यो । अलग कारबाहीमा इलाका प्रहरीले कुल २ करोड २१ लाख २२ हजार ५८३ राजश्व सङ्कलन योगदान पुरायो ।

राजश्व तथा भन्सार छलीका सामान सहिद बरामद भएका समानहरूमा भिसीटिएस नभई राजश्व बुझाएको सामानहरूबाट १ करोड ७७ लाख ७१ हजार ६ सय राजश्व दाखिला गराएको छ ।

प्रहरीद्वारा बरामद समानहरू चाँदीबाट ३०२३०, किराना सामाग्रीबाट ६,७४,६४० ,सामाग्री ढुवानी गर्ने सवारी साधनबाट १ करोड २७ लाख ८ हजार, लत्ता कपडाबाट ४ लाख ८१ हजार ४ सय, मदिरा तथा सुर्तीजन्यबाट ४८ हजार ५ सय राजश्व सङ्कलनमा योगदान पुराएको छ ।

यस्तै सवारीका पार्टसहरूबाट २ लाख, निर्माण सामाग्रीबाट ९ लाख ७०हजार ४३०, रिचार्जकार्डबाट २५ लाख ५० हजार र अन्य सामाग्रीहरूबाट १ लाख ८ हजार ४ सय राजश्व दाखिला भएको छ  ।

राजश्व छली गरी सामान सहित सवारी साधन २ टिपर, ३ ट्रक,३ ट्र्याक्टर २ पिकअप,१ मारुती भ्यान, १ मोटरसाइकल, १ स्कुटर सहित १३ मानिस पक्राउ गरी भिसीटिएस ल्याउन लगाई छोडिदिएका उदाहरण डिएसपी मल्लले दिए ।

सहरीकरण बढे पनि अपराध नियन्त्रण कार्यका लागि धरानमा आवश्यक पूर्वाधार अनुरु निर्माणाधीन हिरासत भवन हस्तान्तरण हुन नसकेकोमा भने डिएसपी मल्लले गुनासो रहेको छ । यसको पूर्णताका लागि स्थानीय सरकार धरान उपमहानगरपालिको ध्यान जान जरुरी भएको जाँदा जाँदै उनले जोड दिएका छन् ।

इलाका प्रहरी कार्यालयमा अभाव खडकिएको कम्प्युटर र प्रिन्टरको मितेरी डेभलमेन्ट बैङ्कबाट उपलब्ध भएको छ । थुनुवाहरूलाई शुद्ध खानेपानी खुवाउन होटेल एसोसिएसन धरानले हिरासत कक्ष बाहिर फिल्टर सहितको ट्याङ्की जडान गरिदिएको छ ।

डिएसपी मल्लको कार्यकालमा धरानका ६ वटा विद्यालयमा फ्यान क्लब गठन भएका छन् । प्रहरीलाई अनुशासन र दैनिक कार्यप्रति एकाग्रता अभिवृद्धिमा मद्दत गर्न ७ दिने योग प्राणायाम र ऊर्जा ध्यान शिविर अभ्यास समेत डिएसपी मल्लले गराएका थिए ।

DSP Bidai