धरान : चार दिन अघि धरान-१२ छाता चौक नजिक रहेको अमान बजारमा लापरबाही पूर्वक राखिएको अण्डर ग्राउण्ड पानी ट्याङ्कीमा डुबेका बालकको अवस्था थोरै सुधार भए पनि चिकित्सकहरूले गम्भीरै मान्नु पर्ने बताएका छन् ।

धरान-१७ का २ वर्षीय बालक लाजस थुलुङ राई गत सोमबार पानी ट्याङ्कीमा डुबेका थिए । आमा आराधना राई अमान बजारमा लाग्ने सोमवारे हटिया सस्तो बजारमा किनमेल गर्न आएका बेला बालक साथै आएका थिए । आमा किनमेल गरेको अवस्थामा बालक ट्याङ्कीमा डुबेका थिए ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लाका अनुसार बालकलाई सकुशल उद्धार गरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्ष आइसियुमा भर्ना गरिएको हो ।

उनका अनुसार अहिले पनि आइसियुमा उपचार चलिरहेको छ । बालकको अवस्थामा सुधार भए तापनि चिकित्सकहरूले गम्भीर नै मान्न पर्ने बताएका छन् ।

उक्त घटना त्यहाँ रहेको अन्डरग्राउन्ड पानी ट्याङ्कीको मुख मक्किएको प्लाइउडले छोपेर राखिएको कारण भएको हो । बालक हटियाको रमिता हेर्दै त्यहाँ पुग्दा मक्किएको प्लाइउड फाटेर बालक ट्याङ्की भित्र डुबेको डिएसपी मल्लले बताए ।

हटिया समेत लाग्ने सार्वजनिक ठाउँमा जमिनको सतहसँगै अन्डरग्राउन्ड पानी ट्याङ्कीको मुख लापरबाही पूर्वक छोपेर राखिनु अमान बजारका सञ्चालकको जिम्मेवारी भएको डिएसपी मल्लको भनाई छ । यस्ता लापरबाहीबाट अप्रिय घट्न हुनसक्ने भएकोले स्थानीय सरकार उपमहानगरपालिकाले अनुगमन गर्न जरुरी भएको डिएसपी मल्लको भनाई छ ।

घाइते बालकका आमा बुवा बिपी प्रतिष्ठान अगाडी ठेलामा खानेकुरा बेच्छन् । उनीहरूको आर्थिक अवस्था निकै कमजोर भएकोले उपचार खर्च व्यहोर्न नसक्ने अवस्थामा रहेको बालकको फुपू सुष्मा मगरले बताइन् ।

उनले भनिन् ‘हामीले न्याय पाएका छैनौ अमान बजारका मालिकले २० हजार रकम भन्दा अरू दिएको छैन ।’ बालक निकै सिरियस अवस्थामा रहेकोले बालकको उपचार कसरी गर्ने र बचाउने भन्ने चिन्ता भएको उनले बताइन् ।