इटहरी : सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सनातन धर्म विरोधीका गतिविधिको नियन्त्रण गर्नुपर्ने राष्ट्रिय सन्त सभा अन्तरगतको सनातन हिन्दु राष्ट्र अभियानले माग गरेको छ । बुधवार विज्ञप्ति प्रकाशित गर्दै अभियानले सनातन धर्मको रक्षा गर्नुपर्ने र धार्मिक सद्भाव कायम गर्न सरकार जिम्मेवार हुनुपर्ने बताएको हो ।

गो वंशको रक्षा गर्नुपर्ने, साधु सन्तको सुरक्षा हुनुपर्ने माग सहित मङ्गलवार पक्राउ परेका श्री निवासाचार्यलाई विना सर्त रिहाइ गर्नुपर्ने माग गरिएको छ । धार्मिक सद्भावका जनप्रदर्शनमा धरपकड गरिएको र सनातन धर्म विरुद्धको गतिविधि बढ्दै गएको प्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

सर्लाहीको मलङ्गवा र बाँकेको नेपालगन्जमा भएको आक्रमणको निन्दा गर्दै श्री निवासाचार्यलाई आफ्नै आश्रम चतराधामबाट पक्राउ गरेको घटनाको अभियानले भर्त्सना गरेको छ । पृथ्वी नारायण शाहको फोटोमा थुक्ने देखी गौहत्या गरी भिडियो सार्वजनिक गर्ने तथा मन्दिर, गुम्बा र चैत्यका क्षेत्रमा अतिक्रमण गर्ने जस्ता असामाजिक गतिविधि गर्नेलाई सरकारले संरक्षण गरेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा नेपाल सरकार सनातन धर्म विरोधी गतिविधिमा संलग्न हुँदै गएको बताइएको छ । सन्त सभाका संयोजक आचार्य नन्द किशोर भारद्वाज र सचिव पण्डित रामकृष्ण उपाध्याय सहित अन्य ४६ जना अभियन्ताले विज्ञप्ति प्रकाशित गरेका  हुन् ।

sanatan hindu rastra 1

sanatan hindu rastra 2