धरान : इलाका प्रहरी कार्यालय धरानको नेतृत्व सम्हाले सँगै प्रहरी नायब उपरीक्षक नवराज मल्लले धरानको पुराना आपराधिक घट्नाका फायलहरू खोल्न थालेका छन् । साथै धरानको प्रमुख समस्या रहँदै आएको लागुऔषध नियन्त्रणमा उनी केन्द्रित भएका छन्।

डिएसपी मल्लले नेतृत्व लिएको चार महिनाको तथ्याङ्कले त्यसको पुष्टि गरेको हो । उक्त अवधिमा धरानका विभिन्न स्थानहरूबाट लागुऔषध कारोबारी र अवैध हातहतियार सहितका आपराधिक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय धरानमा आर्थिक वर्ष २०७७/०७८ मा ३७८ वटा मुद्दा दर्ता भएका थिए । त्यस मध्ये ५७ वटा मुद्दा लागुऔषधका थिए । २०७८/०७९ मा ५११ वटा मुद्दा दर्ता भएका थिए । त्यस मध्ये ५५ वटा मुद्दा लागुऔषधका थिए । 

धरानमा लागुऔषध दुर्व्यसनको समस्या चुनौतीको रूपमा देखिएको डिएसपी मल्ल बताउँछन् । अहिले लागुऔषध दुर्व्यसन र कारोबारका अपराधलाई नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी प्रभावकारी भएको बताउँदै उनले भने ‘विद्यालय र टोल समुदायमा सचेतना मूलक क्रियाकलाप कामबाट प्रहरीलाई ठ्रलो सहयोग पुगेको छ ।’

लागुऔषध दुर्व्यसनमा फसेकाहरूको साथबाट हातहतियार पनि फेला पर्ने गरेको तथ्याङ्कले देखाएको छ । पछिल्लो एक सातामा प्रहरीले धरानको विभिन्न स्थानबाट तीन थान पेस्तोल सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले धरान वडा १७ डाँडा घोपाका ३ जना युवालाई २ थान हातहतियार पेस्तोल सहित गत वैशाख ३१ गते आइतबार पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा डाँडा घोपाका २९ वर्षीय हुकमेन जिमी, उनका भाइ पर्ने २४ वर्षीय दीपक जिमी र धरान–१५ का २४ वर्षीय रोहित राई रहेका थिए ।

त्यसैगरी जेठ ५ गते धरान ८ मा रहेको जनता ग्यारेज भित्र लुकाइ राखेको पेस्तोल सहित धरान-१० मयुरपथ बस्ने ३५ वर्षीय राजेश लिम्बु र धरान-५ देउराली बस्ने २५ वर्षीय कुमार भण्डारीलाई पक्राउ गरेको थियो ।

लागुऔषध कारोबारमा संलग्न व्यक्तिले अन्य अपराधका घटनाहरू समेत गराउने, लागु औषध ओसारपसार सँगै अवैध हातहतियार ओसार पसार हुने आशङ्का सही साबित भएका उनको भनाई छ । उनका अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटि समूह र इलाका प्रहरी धरानबाट खटिएको प्रहरी टोलीले अपराधमा संलग्नलाई पक्राउ गर्न सफल भएको हो ।

सोही अवधिमा धरान प्रहरीले १६ वर्षपछि धर्मशालामा जबरजस्ती करणी हत्या प्रकरणका फरार आरोपीहरू पक्राउ गरेको छ । १६ वर्ष अघि २०६४ मङ्सिर २३ गते धरान-१२ महेन्द्र पथ स्थित बलभद्रेश्वर धर्मशालाको कोठा नं.२१८ मा २५ वर्षीय ललिता राईको शव फेला परेको थियो ।

उनको मुख तथा योनीबाट रगत निस्किएको र शव दुर्गन्धित अवस्थामा भेटिएको थियो । तर तत्कालीन समयमा घटनामा संलग्नको पहिचान हुन नसक्दा किटानी जाहेरी परेको थिएन । 

घटना भएको १६ वर्ष पछि प्रहरीले धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं.१ धाप बस्ने ५६ वर्षीय चन्द्र बहादुर राई र ४४ वर्षीय कल्पन राईलाई उनीहरूको घरबाटै पक्राउ गरेको छ ।

डिएसपी मल्लले अनुसन्धान पूरा नभएका पुराना अपराधका घटनाको फायल खोलेर पुनः अनुसन्धान गर्दै मृतकका आफन्तसँग निरन्तर समन्वय गरी १६ वर्षपछि शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको बताए । 

उनले भने ‘हामी नेपाल प्रहरी, तत्काल घटित अपराधको अभियुक्त, फरार रहेका प्रतिवादी र अनुसन्धान नटुङ्गिएका पुराना अपराध कसुरका प्रतिवादीहरूको निरन्तर खोजीमा रहेका हुन्छौँ ।’ सोही अनुसार १६ वर्ष पुरानो जबरजस्ती करणी र कर्तव्य ज्यान अपराध कसुरका अभियुक्तहरूलाई इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान, खोजी र पक्राउ गर्न सफल भएको डिएसपी मल्लले बताए ।