धरान : वर्तमान मेयर हर्क साम्पाङले सस्तो लोकप्रियताका लागि एडिबिको खानेपानी परियोजनाको बारेमा निवर्तमान मेयर, उपमेयरलाई जानकारी मागेको पत्र सामाजिक सञ्जालमा प्रचारबाजी गरेको धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राईले आरोप लगाएका छन् ।
निवर्तमान मेयर राई र उपमेयर मञ्जु भण्डारीले शुक्रवार संयुक्त पत्रकार सम्मेलन गरी उक्त वैधानिक औचित्य नभएको पत्रको प्रचारले भ्रम फैलाउन सक्ने भएकाले आफूहरू जनताप्रति उत्तरदायी भएको हुँदा जनतालाई सम्बोधन गर्न पत्रकार सम्मेलन गरिएको बताए ।
पूर्व सांसद, पूर्व मेयर, उपमेयरहरू सहित पूर्व जनप्रतिनिधिको टोलीले मेयर साम्पाङलाई भेटगरी ज्ञापनपत्र मार्फत धरानको खानेपानी समस्या लगायत विकासका सवालहरू उठाएको बताउँदै पूर्व मेयर राईले भने ‘उहाँलाई सहयोग गर्न सकारात्मक भएर हामी गएका थियौँ, तर उहाँले नकारात्मक कुरा गर्दै पत्र काट्ने जस्तो अग्रजहरूप्रति अपमानजनक जवाफ दिनुभयो ।’
सामाजिक सञ्जालमा सस्तो लोकप्रियताका लागि सार्वजनिक ‘खपत’ गरिएको त्यस्तो पत्रको जवाफ दिनु कुनै औचित्य नभएको राईले बताए । एडिबिको खानेपानी परियोजना सुरु भए देखी अहिले सम्म भएको आर्थिक कारोबार, प्राविधिक रिपोर्टका सबै कागजातहरू अहिले मेयर हर्क साम्पाङ सँगै भएको उनले बताए ।
राईले भने ‘उपमहानगरपालिका र खानेपानी बोर्डको कागजात हामीले घरमा लिएर गएको जस्तो सोध्ने केटाकेटीपन देखियो ।’ पदमा हुँदा हामीले गरेको भूमिका सकियो, त्यसको कागजात मेयर साम्पाङले जति बेला हेर्दा पनि हुने बताउँदै उनको पदावधि सकिएपछि पनि ती कागजात त्यहीँ रहने उनको भनाई छ ।
राईले संस्थागत जिम्मेवारीमा पदमा रहँदा मात्र कार्यालयका कागजातहरू आफ्नो जिम्मा हुने पद सकिएपछि ती कागजात कार्यालयमै हुने कुरा मेयर साम्पाङले बुझ्नु पर्ने बताउँदै प्रश्न गरे ‘खानेपानी बोर्ड र उपमहानगरपालिका कार्यालयमा डकुमेन्ट नभएका कारण हामीलाई स्पष्ट पार्न लगाइएको हो ? हामीलाई प्रश्न सोध्न औचित्य थियो कि थिएन ? पत्रकार मित्रहरूले बोर्ड अध्यक्ष र मेयर साम्पाङलाई प्रश्न सोध्न आग्रह गर्दछु ।’
पूर्व मेयर राईले लिखित पत्राचार गरेर पूर्व जनप्रतिनिधिहरू तत्कालीन सरोकारको विषय खानेपानी, सामाजिक सद्भाव भड्किएका घटनाक्रमलाई तत्काल सच्याउन आग्रह गर्दै एकताबद्ध भई मेयर साम्पाङ कार्यकक्ष गएको बताउँदै भने ‘उहाँले सार्वजनिक महत्वका विषयलाई ग्रहण गरेनन् ।’
उनले भने ‘नगरप्रमुख जाति नै व्यस्त भए पनि आदरणीय व्यक्तित्वहरू आएको बेला कार्यकक्षबाट बाहिर आएर एक छिन टाइम लाग्ने भयो भन्न सक्नुपर्थ्यो ।’ समय लिएर जाँदा पनि समयमा भेट्न चाहेनन्, प्रस्तुति राम्रो भएन, भित्र पस्दा पनि सम्मान र सकारात्मक भाव नपाएको बताए ।
उनले धरानको खानेपानीको बारेमा आफूले उपनिर्वाचनमा निर्वाचित भएर मङ्सिरमा पदस्थापन भएको र पुसमा आयोजनाको समय सकिएको बताउँदै कार्यपालिका र नगरसभामा प्रतिपक्षी दलको निरन्तरको दबाबका कारण ठेकेदारलाई परीक्षण र आयोजना कार्यान्वयनका लागि संस्थानको कार्य क्षेत्र हस्तान्तरण गरिएको उल्लेख गरे ।
एडिवी आयोजना र खानेपानी संस्थान समायोजन भएपछि आफ्नो कार्यकाल सकिन लाग्दा करिब ७ करोड रुपैयाँ सञ्चित रहेको सार्वजनिक सुनवाइ गर्दे सार्वजनिक गरेको बताए । उनले प्रश्न गरे ‘तर हाल मेयर साम्पाङ बोर्ड अध्यक्ष भएपछि कुन विधि, प्रक्रियामा त्यो रकम खर्च गरे ?’
राईले भने ‘तत्कालीन अभियन्ता हर्क साम्पाङका कारण खानेपानी संस्थान समायोजन र एडिबी परियोजनाको काम ढिलो हुन पुगेको हो ।’ एडिबीको काम समयमा काम हुन पाएन । हर्क साम्पाङ समूहले सम्पूर्ण कार्य रोके, साम्पाङले नै सतहको मुहान काटेको बताउँदै भने ‘तर पनि हामीले उहाँलाई सहजीकरण गरेर उन्मुक्ति दियौ, मुद्दा लगाएनौ ।’
राईले त्यस बेला खानेपानी संस्थानको पुरानो जीर्ण संरचना ईलोक्ट्रोमेकानिकल क्षेत्रको कुनै काम नभएको र पम्पहरू हप्ता हप्तामा बिग्रिएर पानी उत्पादन र वितरणमा समस्या देखिएको बताए । अहिले त्यसमा के-के सुधार भयो ? मेयर हर्क साम्पाङले जानकारी दिनु राम्रो हुने बताए ।
आयोजनाको छलफलको समयदेखि नै संस्थान समेत बोर्डमा हस्तान्तरण हुने चर्चाका कारण खानेपानी संस्थानले त्यति लामो समयदेखि मर्मत सम्भार, पुनः निर्माण र रेखदेखमा नजर अन्दाज गरिदिँदा संस्थानको त्यति पुरानो संरचना झनै जीर्ण अवस्थामा पुगेको बताए । संस्थानका पुराना कर्मचारी जो प्राविधिक फिल्डमा खट्ने, वितरण र उत्पादनसँग सम्बन्धित कर्मचारी बोर्डमा हस्तान्तरण नहुँदाका कारण पनि खानेपानी वितरण र उत्पादनमा समस्या देखिएको हो ।
योजना कार्यान्वयनको चरणमा आयोजनाको पक्षबाट मिहिन ढङ्गबाट अनुगमन निरीक्षण नहुँदा सामान्य समस्याहरूका कारण वितरणमा समस्या देखिएको थियो ।
पाइपहरू ब्लक हुने, पानीको प्रेसरमा समस्या, आवश्यक मात्रामा भल्वहरुको सही व्यवस्थापनमा समस्या देखिएको थियो । त्यति ठुलो आयोजना कार्यान्वयनका लागि बलियो सरकार/सर्वपक्षीय सहमति पहिलो आवश्यकताको रूपमा हुनुपर्थ्यो, जुन सुरुदेखि नै अनुकूल हुन सकेन ।
कर्मचारी कार्यकारी प्रमुख भएको बेला योजना कार्यान्वयन भएको थियो । सर्वपक्षीय संयन्त्रको अभावका कारण योजना कार्यान्वयनमा सहज करण हुन नसक्दा समस्या थपिँदै गएको थियो । नेपाल सरकार र दातृ निकायबिच सम्झौता भई कार्यान्वयनको चरणमा जाँदा समेत सरकारको तर्फबाट संस्थानसँग समन्वय भएन र संस्थानले स्वीकार नगर्नु नै योजना निर्माणमा समस्याको रूपमा रहेको थियो ।
आयोजना निर्माणको कार्यालय खानेपानी संस्थानमै रहेको भए वा संस्थान र आयोजनाको संयुक्त निर्माण संयन्त्र भएको भए थुप्रै समस्या सहज करण हुँदै जाने अवस्था रहन्थ्यो । आयोजना कार्यान्वयनको जिम्मेवारी नेपाल सरकार सहरी विकास मन्त्रालय मातहत खानेपानी विभाग मार्फत नभई सहरी विकास विभागबाट हुँदा खानेपानी उत्पादन र वितरणमा मात्र नभई अन्य सिभिल काममा धेरै बजेट खर्च हुँदा बजेटको आकार धेरै देखिएको थियो ।
त्यस्तो अवस्थामा विभागीय रूपमा जबाफदेही कार्यालय अग्रसर नहुँदा मुख्य काम र मुख्य क्षेत्रमा योजना केन्द्रित नहुँदा समस्या देखिएको थियो । फरक कार्यालय विभागबाट योजना अगाडी बढाउँदा स्वामित्व ग्रहण अवाश्यकताको केन्द्रिकरण र सञ्चालनमा प्रभाव देखिएको थियो ।
योजनाको नामकरणमा समेत प्रभाव देखिएको एकीकृत सहरी विकास तथा खानेपानी आयोजना सहरी विकासको योजना भएको कारणबाट सहरी विकासलाई प्राथमिकतामा राखिएको, खानेपानी विभागबाट गरिएको भए खानेपानी नै मुख्य योजना हुन्थ्यो ।
आयोजना कार्यान्वयनको समयमा आवश्यक विशेषज्ञता कन्सल्ट्यान्टको तर्फबाट पूर्ण रूपमा निगरानी अनुगमन र सुझावको पाटोमा आवश्यक तदारुकतामा कमी महसुस भएको थियो । त्यसलाई नियन्त्रण गर्ने आयोजना प्रमुख वा कार्यालयको तर्फबाट क्षमता राख्न नसकिएको अवस्था थियो ।
प्राविधिक रूपमा अत्यन्तै जटिल योजना र कामको प्रकृतिका कारण पनि खानेपानी समस्या समस्याकै रूपमा रहको थियो । साबिकको मुहानमा समस्या आउँदै जानुका साथै मुहानको स्रोत प्रत्येक वर्ष सुक्दै गइरहेको अवस्था थियो भने बिग्रेका पम्पहरू तुरुन्तै बनाउने ईलोक्ट्रोमेकानिकल वर्कसपहरू नहुँदा पानी उत्पादनमा समस्या भइरहेको थियो । डिपिआर र कन्सल्ट्यान्ट एउटै कम्पनी हुँदा समेत योजना कार्यान्वयनमा प्रगति नदेखिनुको प्रमुख कारण भएको उनले बताए ।
सात वटा वेल मध्ये ४ वटा वेल तीनकुने सेउती क्षेत्रमा रहेको उक्त बेलहरूले उत्पादन गर्ने पानी पिण्डेश्वर सिस्टम र सुन्नीमा सिस्टममा प्रतिशतको आधारमा पानी झार्नु पर्नेमा सुन्नीमा सिस्टममा प्रतिशतको आधारमा शून्य रहेको र डिपिआर अनुसार सेन्ट्रल बुस्टरमा निर्माण गरिएको ५ वटा बुस्टरमध्ये ४ वटा बुस्टरले ४ वटा पम्पले उत्पादन गरेको पानी वितरणको लागि पिण्डेश्वर सिस्टम र सुन्नीमा सिस्टममा पठाउनुपर्नेमा ४ वटा बुस्टरले खपत गर्ने पठाउनुपर्ने पानी उत्पादन नहुँदा लामो समयसम्म ४ वटा बुस्टर सञ्चालन गर्न सकिएको थिएन ।
विज्ञको रिपोर्ट, प्राविधिकको सुझाव अनुसार पछि थपिएका आयोजनाबाहिरका दुई वटा वेल पुनः परीक्षण गरी सञ्चालन गरिएको थियो । उक्त वेल सञ्चालन गरिए पछि मात्रै ४ वटा बुस्टरले क्षमता अनुसार पिण्डेश्वर सिस्टम र सुन्नीमा सिस्टममा प्रतिशतको आधारमा पानी पठाउन सकिएको थियो ।
सरकारसँगको निरन्तरको छलफल र सम्पर्क र पत्राचारको आधारमा एकीकृत खानेपानी आयोजना साबिक पञ्चकन्या गाविस हालको वडाहरू ४, ५, ६ र साबिक विष्णुपादुका हालको वडा नं २० पटनाली समेतलाई आपूर्ति हुने गरी अध्ययनको लागि केही ठुला सहरसँगै धरान उपमहानगरपालिका समेतको छनौट भएको थियो ।
निवर्तमान मेयर राईले भने ‘नगर बासीहरूको तर्फबाट समेत यो आयोजनामा अपनत्व हुने गरी समानुपातिक वितरण उपभोगका लागि एक अर्कामा सहयोगको भावना जरुरी भइसकेको छ ।’ पुरानो र नयाँ पाइप लाइन व्यवस्थापन, इन्टरकनेक्सनमा समस्या त्यस बेलै थियो ।
उनका अनुसार कतै पानी आउने, कतै नआउने दुई घर पर आउने अर्कोकोमा नआउने परिस्थिति त्यस बेला पनि थियो । यस्तो परिस्थितिलाई सामान्यीकरण गर्न खानेपानीका कर्मचारी प्राविधिकहरूलाई स्वतन्त्र पूर्वक काम गर्न दिनुपर्ने थियो तर मेयर साम्पाङको एकतन्त्रीय शासनका कारण त्यसो नभएको निर्वतमान राईले बताए ।