- भूमिका पाख्रीन
इटहरी : अमेरिका र वेष्ट इन्डिजमा जारी टी-ट्वान्टी क्रिकेट विश्वकपबाट नेपाल समूह चरणबाट बाहिरियो । समूह चरणबाटै बाहिरीएपनि नेपालमा रहेको क्रिकेट क्रेजको भने अन्तर्राष्ट्रिय हिसाबमा चर्चाको विषय बन्यो । क्रिकेटका अन्तर्राष्ट्रिय हस्तीहरूले नेपाली क्रिकेट टोलीको खेल प्रशंसा समेत गर्न भ्याएका थिए ।
विश्व अर्थ राजनीतिमा कमजोर अवस्थामा भए पनि क्रिकेट विश्वकपले नेपालले 'खेल कूटनीति'को सुरुवात गर्न सक्ने प्रस्ट सन्देश समेत छोडेको छ । हुनत: खेलकुद यस्तो क्षेत्र हो, जसको माध्यमबाट विश्वसामु एउटा देशले आफ्नो परिचय फरक र भिन्न तरिकाले स्थापित गराउन सक्दछ । जसको एक अनुपम उदाहरण नेपाल बन्न सक्छ । जस्तो कि विश्व अल्ट्रा धावक मिरा राई । मिराको व्यक्तिगत सफलताले नेपालको परिचय अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुगेको छ । मिराको सफलता उनको मात्रै हैन यो त समग्र देशको गौरवको विषय पनि हो ।
विश्व माझ नेपाललाई चिनाउन खेलकुदले दिएको योगदानसँगै चर्चा हुन्छ । तर, नेपाल भित्रै भने राज्यले खेलकुद र खेलाडीमा पर्याप्त लगानी नगरेको गुनासो पनि उस्तै छ । जस्तो कि नेपालले टी-ट्वान्टी क्रिकेट विश्वकप खेल्दै गर्दा सामाजिक सञ्जालमा राज्यले क्रिकेटमा पर्याप्त लगानी नगरेको गुनासाहरू छरपस्ट पोखिएका थिए । नागरिक गुनासाहरू बढ्दै जाँदा राज्यले समेत खेल पूर्वाधार र खेलाडीमा लगानी बढाएको सङ्केत दिन थालेको छ । खेलकुद क्षेत्रमा राजनीतिक दलहरूले पछिल्लो समय दिएको चासोले समेत राज्यले खेलकुदको क्षेत्रमा चासो बढाएको छ ।
केही समय अगाडी सम्म सिंहदरबारले चासो दिए मात्र खेलकुदले लय पक्रिने स्थिति थियो । माथिल्लो नीति निर्माण गर्ने भएकाले प्रभावको हिसाबमा अहिले पनि सिंहदरबार अर्थात् सङ्घ सरकार खेलकुदको क्षेत्रमा प्रमुख हो । तर, पछिल्लो समय प्रदेश र स्थानीय तहहरुले समेत खेलकुदमा आफ्नो चासो प्रमुखताका साथ देखाएका छन् । तुलनात्मक रूपमा हेर्दा खेलकुदलाई बढी महत्त्व दिएको भए पनि पछिल्लो समय देश सङ्घीयतामा गएपछि केही आसा भने पलाएको अर्यालको धारणा छ । 'कुनै पनि खेलाडीले राम्रो ल्याउँदा सम्मान र पुरस्कार दिएसँगै प्रदेश सरकारले दीर्घकालीन रुपमा खेल्ने वातावरण बनाउन ध्यान दिए खेलकुद क्षेत्र अघि बढ्थ्यो' अर्यालले भने ।
अर्यालले भने जस्तै देश सङ्घीय संरचनामा गइसकेपछि खेलकुद क्षेत्रको विकासको धेरै जिम्मेवारी पनि प्रदेश सँगै स्थानीय तहमा हस्तान्तरण भइसकेको छ । नजिकको सरकारमा खेल र खेलकुद नीति आएपछि खेलाडी उत्पादन देखि समग्र खेलकुद क्षेत्रको विकासमा थप टेवा पुगेको छ । पछिल्लो समय प्रदेशको क्यालेन्डरमै समावेश गरी खेललाई प्राथमिकता दिँदा खेलाडीको मनोभाव भने उच्च रहेको अर्यालको बुझाइ छ । यद्यपि पनि प्रदेश वा स्थानीय तहले गोल्डकप भन्दा पनि लिग लाई प्राथमिकता दिएर एज ग्रुप अनुरूप खेल्ने वातावरण बनाउन सके खेलमा ठुलो सम्भावना रहेको अर्याल बताउछन् ।
प्रदेश खेलकुद बोर्ड : के काम गर्दैछ !
सङ्घीयता कार्यान्वयन भएसँगै नीति बनाएरै प्रदेश र स्थानीय तहले खेलकुदका गतिविधि बढाएका छन् । स्थानीय तहहरू भन्दा प्रदेशले विशेष संघठन संरचना बनाएर खेलकुदको गतिविधि अघि बढाएको छ । कोशीको खेलकुद गतिविधि बढाउन सरकारले बनाएको संरचना हो 'प्रदेश खेलकुद विकास बोर्ड' । प्रदेश खेलकुद विकास बोर्ड स्थापना देखिनै कोशीमा खेल क्षेत्रको विकासमा आफ्नो 'इफोर्ट' लगाइरहेको देखिन्छ ।
बोर्डको नेतृत्वमा प्रदेशले 'एक पालिका एक खेल मैदान' अवधारणामा काम गरिरहेको छ । खेल पूर्वाधारमा बोर्डको पहलले कोशी प्रदेशका खेलाडीमा उत्साह थपेको छ । प्रदेश सरकारले लिएका नीतिहरूले प्रदेशका सबै जिल्ला र पालिकामा पूर्वाधारहरू धमाधम निर्माण हुन थालेपछि खेलाडी थप उत्साहित भएका हुन् । जिल्लाहरूमा तथा स्थानीय तहमै खेलकुदका संरचना बन्दा खेलाडीलाई ठुलो राहत मिलेको छ । पूर्व राष्ट्रिय फुटबल खेलाडी पुनम थापा आफ्नो पालामा खेलको संरचना नहुँदा ट्रेनिङका लागि अभाव रहेको सुनाउँदै हाल खेलकुदका संरचना बन्दा खेलाडीलाई धेरै सहज भएको बताउछिन् ।
पछिल्लो समय सरकारले लिएको 'एक पालिका एक खेल मैदान' को नीतिले प्रत्येक स्थानीय तहमा खेलाडी उत्पादन हुने मात्रै हैन, खेल क्षेत्रमा पनि सम्भावना छ भन्ने सन्देश दिएको छ । विगतमा खेल क्षेत्रमा लागेर भविष्य निर्माण हुँदैन भन्ने धारणा अब खेल क्षेत्रमा पनि अब्बल भएर आफूलाई साबित गर्न सके केही गर्न सकिन्छ भन्ने अवधारणा विकास भएको पाइन्छ । कोशी प्रदेशका कतिपय पालिकाले स्तरीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको पाइन्छ । तर, भौगोलिक विकटता र खेलकुद प्रतिको सम्भावनालाई बुझ्न नसक्दा अझै पनि केही पालिकाहरूले खेलकुदको विकासमा कम चासो दिएको गुनासो भने उस्तै छ ।
कोशी प्रदेश खेलकुद विकास बोर्ड गठन भएपश्चात् खेलकुदका गतिविधि बढेको छ नै, खेल क्षेत्रमा सम्भावना खोज्दै गरेका अनुहारमा पनि थप हौसला मिलेको छ । कोशी प्रदेशमा समग्र खेलकुदको विकासको क्षेत्रमा तीन आर्थिक वर्षमा ५४ करोड ८१ लाख २ हजार ५ सय रुपैयाँ खर्च भएको छ । यस मध्ये पूर्वाधार विकासका लागि मात्रै २७ करोड ८५ लाख रुपैयाँ खर्च भएको छ । यसै गरी खेलकुद कार्यक्रमको क्षेत्रमा बोर्डले आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्म २६ करोड ६१ लाख ८२ हजार ५ सय रुपैयाँ खर्च गरेको छ । जसमध्ये आर्थिक वर्ष २०७९/८० मा सबै भन्दा बढी १४ करोड ५९ लाख बढी खर्च भएको छ ।
त्यसैगरी पुरस्कार सम्मान तर्फ बोर्डले २०७८/७९ देखि २०८०/८१ सम्म १ करोड ३४ लाख खर्च गरेको छ । बोर्डले आर्थिक वर्ष २०७९/८० मा नवौँ राष्ट्रिय खेलका पदक विजेतालाई समेत सम्मान गरेको छ भने आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार विकास तर्फ स्थानीय तहहरूमा वित्तीय हस्तान्तरण मार्फत १ सय १७ योजनाका लागि १६ करोड २८ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । पुरस्कार सम्मान तर्फ आर्थिक वर्ष २०७९/८० मा १ करोड ६ लाख खर्च गरेको बोर्डले आर्थिक वर्ष २०८०/८१ माने १३ लाख रुपैयाँ मात्र खर्च गरेको छ । यस वर्ष प्रदेश खेलकुद विकास बोर्डमा आउने अनुदान रकम घटेकाले पुरस्कार सम्मान तर्फको बजेट पनि घटेको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य रितेश श्रेष्ठले बताए । कोशी प्रदेश खेलकुद विकास बोर्डले नवौँ राष्ट्रिय खेलकुदका ८२ जना, १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका ३९ जना, अन्तर्राष्ट्रिय पदक विजेता १४ जना खेलाडीलाई सम्मान गरिसकेको छ । बोर्डले प्रदेशबाट प्रतिनिधित्व गरेको खेलाडीले पाएको पदकका आधारमा हौसला स्वरूप सम्मान गर्दै आएको बोर्डका सदस्य रितेश श्रेष्ठको भनाइ छ ।
आर्थिक वर्ष २०७९/८० मा प्रदेश खेलकुद विकास बोर्डलाई १६ करोड २४ लाख ३७ हजार उपलब्ध गराइएकोमा बोर्डले १५ करोड ९५ लाख ३७ हजार खर्च गरेको छ । त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा बोर्डले आम्दानी गरेको ८ करोड ७६ लाख ९० हजार मध्ये वैशाख मसान्तसम्म ५ करोड २९ लाख रुपैयाँ खर्च भएको छ । बोर्डले आर्थिक वर्ष २०८०/८१ मा ३१ वटा कार्यक्रम सञ्चालन गरेको तथ्याङ्क छ ।
सम्मान कै क्रममा बोर्डले पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा कोशी प्रदेशबाट सहभागी भई पदक प्राप्त गर्ने १ सय ४५ जना खेलाडीलाई सम्मान गरेको छ । गल्फतर्फ ९ जना, तेक्वान्दोतर्फ ११ जना, फेन्सिङतर्फ १२ जना, पौडीतर्फ ७ जना, कराँते तर्फ १३ जना, ब्याडमिन्टनतर्फ ९ जना, टेबल टेनिस तर्फ ७ जना, सफ्ट टेनिस तर्फ १३ जना, शारीरिक सुगठनतर्फ २ जना, आइटिएफ तेक्वान्दो तर्फ १० जना, आर्चरी तर्फ ४ जना, कुस्ती तर्फ ७ जना, सेपाकताक्रो तर्फ ८ जना, फुल कन्ट्याक्ट कराँते तर्फ १ जना, जुडो तर्फ ९ जना, उसु तर्फ ५ जना, बक्सिङ तर्फ ७ जना, प्याराग्लाइडिङ तर्फ ७ जना, बुद्धिचाल तर्फ ३ जनालाई सम्मान गरेको छ ।
नवौँ राष्ट्रिय खेलकुदमा कोशी प्रदेशले १० स्वर्ण, २३ रजत र ५० कास्य पदक गरी कुल ८३ पदक जितेको थियो । विभागीय टोलीको दबदबा रहेको नवौँ खेलकुदमा आर्मीले सर्वाधिक स्वर्ण जित्दै प्रथम स्थान ओगट्दा सशस्त्र दोस्रो र पुलिस तेस्रो स्थानमा रहेको थियो । पदक तालिकामा कोशी प्रदेश भने छैटौँ स्थानमा रहेको थियो । पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नतिजालाई सुखद मान्नु पर्ने कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत पर्शुरामले बताए । छोटो तयारीका बिच खेलाडीले गरेको मेहनतको प्रशंसा गर्दै सदस्य सचिव कृष्ण बस्नेत पर्शुरामले भने 'यही वर्ष मंसिरमा कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अझै राम्रो नतिजा ल्याउने प्रयास गरिरहेका छौँ' सदस्य सचिव बस्नेतले भने “आगामी दिनमा समेत सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयको शिक्षासँगै मैदानको सीपले सबैलाई सफल बनाउनेमा प्रदेश सरकार ढुक्क रहेको छ ।'
त्यसैगरी बोर्डले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९/८० मा कोशी प्रदेशबाट सहभागी भई विभिन्न विधामा पदक विजेता ३९ जनालाई सम्मान गरेको छ । कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमबाट ३२ वटा खेल पूर्वाधारका योजनाहरू छनौट भएका छन् । त्यसैगरि खेल पूर्वाधार योजना २०८०/८१ मार्फत वित्तीय हस्तान्तरणतर्फ १ सय २७ स्थानीय तहहरूमा कार्यक्रमहरू लागू भएका छन् ।
कोशी प्रदेश सरकारले २०७८ असोज २४ गते खेलकुद विकास बोर्ड गठन गरेको थियो । खेलकुद विकास बोर्डको गठन भएपछि कोशी प्रदेशको खेल क्षेत्र चलायमान बन्दै गएको छ । बोर्डको गठनपछि खेल र खेलाडीमा प्रोत्साहन र सम्मानको वातावरणसँगै खेलकुद गतिविधि सक्रिय बन्दै गएको हो । हुन त विगतमा कोशी प्रदेशमा खेलकुदका गतिविधि नभएका भने होइनन्, तर पछिल्लो प्रादेशिक संरचनामा बोर्डले नै खेलकुद विकास गतिविधिमा सक्रियता देखाउन थालेपछि खेलकुदको कार्यक्रम चलायमान हुँदै आएको हो ।
खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै प्रदेश सरकारले रात्रिकालीन खेलकुद कार्यक्रम गर्न विराटनगरको सहिद रङ्गशालामा फ्लड लाइट जडान गरिसकेको छ । लाइट जडान भएपश्चात् विराटनगरमा विगत केही वर्षयता रात्रिकालीन खेलकुदका प्रतियोगिता हुन थालेका छन् । त्यसो त विराटनगरको सहिद मैदानमा विराट गोल्ड कपका अतिरिक्त अन्य प्रतियोगिता पनि हुने गरेका छन् । रात्रिकालीन खेल गतिविधिले खेलकुद क्षेत्रमा स्थानीयको आकर्षण अझ बढेको पाइन्छ । यस क्षेत्रका खेलाडी तथा खेलप्रेमी दर्शक उत्साहित मात्रै बनेका छैनन् मैदान आसपास व्यापार व्यवसाय समेत फस्टाएको छ । खेलकुद पूर्वाधार विकासले खेलाडीहरूलाई सहज तुल्याएको बताउँदै प्रदेश सरकारले खेल पूर्वाधारमा गरेको लगानीको प्रतिफल खेलकुद र खेलाडीका लागि फाइदाजनक हुने सरोकारवालाहरूको भनाइ छ ।
विराटनगरस्थित सहिद मैदानमा स्थायी फ्लड लाइटमा फुटबलका खेलाडी मात्रै होइन, अन्य खेलका खेलाडीलाई पनि उत्तिकै सहज भएको छ । त्यसो त प्रदेश सरकारले इटहरी, धरान, झापालगायतका रङ्गशालामा पनि फ्लड लाइट केही जडान गरेको छ भने बाँकी रहेको स्थानमा यसै वर्ष जडान पूरा गर्ने बोर्डले जनाएको छ । बोर्डले स्थानीय तहहरूमा रङ्गशाला निर्माण, मर्मत, घेराबेरा लगायतको काम समेत गर्दै आएको छ, जसबाट दैनिक विभिन्न खेलका अभ्यास गर्नका साथै प्रतियोगिता गर्न सहज भएको स्थानीय खेलाडीको बुझाइ छ ।
सीमित स्रोतमा धेरै कामको बाध्यता !
खेलकुद बोर्डका सदस्यसचिव बस्नेतले भने सीमित स्रोतका बाबजुद खेलकुदको क्षेत्रमा काम गरी रहेको बताउँछन् । सीमित कर्मचारी र प्रशिक्षकबाट खेलाडीहरूसँग काम गरिरहेको बस्नेतले बताए । 'थोरै जनशक्तिले काम गर्नु पर्ने अवस्था छ । प्रशिक्षक र खेल संरचना पर्याप्त नहुँदा सोचअनुरूपको सफलता पाउन सकिएको छैन' बस्नेतले भने 'त्यस कारण पछिल्लो समय प्रदेश सरकारले पहाडी जिल्लामा केही खेलका संरचना तयार गरिसकेको छ भने अन्य ठाउँमा निर्माणाधीन अवस्था छ ।’
प्रदेश सरकारले लिएको 'एक पालिका एक खेल मैदान' को अवधारणा अनुसार पालिकाहरूमा नयाँ संरचना बनाउने र भएका संरचनालाई स्तरोन्नतिको काम धमाधम भइरहेको छ । बन्दै गरेका भौतिक संरचनाहरू पनि निर्माणमा सुस्तता आउँदा खेलाडीलाई खेल प्रदर्शन गर्नका साथै नियमित प्रशिक्षण गर्न भने समस्या रहेको पाइन्छ । विगतमा फुटबल भलिबलमा मात्रै संरचना बने पनि पछिल्लो समय कतिपय खेलका संरचना बन्न नसकेको पाइन्छ ।
इन्डोर गेमका लागि आवश्यक कभर्ड हलको व्यवस्था नहुँदा खेलाडीले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न चुकेका छन् । प्रदेशमा विभिन्न खेलका लागि आवश्यक भौतिक संरचना जति हुनुपर्ने हो त्यो पर्याप्त हुन सकेको छैन । त्यसका अतिरिक्त खेलका लागि नियमित प्रशिक्षण, प्रतियोगिता हुनुअघि बन्द प्रशिक्षण लगायत खेल र खेलाडीले पाउने सुविधा कम हुँदा पनि खेलकुदको क्षेत्रमा सोचे अनुरूप अगाडि बढ्न नसकेको सरोकारवाला बताउँछन् ।
त्यसो त कोशी प्रदेश खेलकुद विकास बोर्डमा कर्मचारीको अभाव रहेको छ । कार्यालय सञ्चालन गर्न कर्मचारी अभाव हुँदा पनि दैनिक काम कारबाहीमा समस्या हुने गरेको छ । बोर्डको मात्र नभएर खेलाडीहरूका समस्या पनि धेरै रहेका छन् । उपचार नपाएर खेल जीवनबाट बाहिरिनु, खेलमा भविष्य नदेखेर विदेश पलायन हुनु, सोचे अनुरूप खेल क्षेत्रमा आर्थिक स्रोत नहुनुले पनि कतिपय खेलाडी बिच मै खेल क्षेत्र छाड्ने गरेका छन् । यसरी खेलाडी पलायन रोक्न सरकारको नीति नहुँदा पनि खेल क्षेत्रमा समस्या बढ्दै गएको पाइन्छ । कोशी प्रदेशमा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतका ९२ जना प्रशिक्षक र कर्मचारीहरू छन् । जसमार्फत बोर्डले दक्ष खेलाडी र प्रशिक्षक उत्पादन गर्ने कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । जुन पर्याप्त भने होइन । यद्यपि बोर्ड र परिषदबीच तालमेल नहुँदा कहिलेकाहीँ समस्या निम्तिने समेत गरेको छ ।
एथ्लेटिक्स खेललाई स्कुल तथा क्लब स्तरमा अनिवार्य गराउने र खेलकुदको माध्यमबाट स्थानीय तथा प्रादेशिक सम्बन्धलाई सुदृढ बनाउने बोर्डको लक्ष्य रहेको सदस्य सचिव बस्नेत बताउनु हुन्छ । विद्यालयस्तरबाटै युवाहरूलाई खेलकुदमा संलग्न गराई खेलकुद क्षेत्रलाई चलायमान बनाउने बोर्डको योजना रहेको छ । खेल क्षेत्रको समग्र विकास र खेलकुदलाई चलायमान बनाउन बोर्डले क्लब तथा विद्यालयहरूलाई आवश्यकता अनुरूप खेलकुदका सामग्रीसमेत वितरण गर्ने गरेको छ ।
समग्र खेलकुदको विकासका लागि प्रदेशभरका सबै विद्यालय तथा क्याम्पसहरूमा खेल प्रशिक्षक नियुक्ति गर्नसमेत बोर्डले पहल गरिरहेको छ । जसका कारण हरेक खेल क्षेत्रका व्यक्तित्वहरूलाई रोजगारीको समेत अवसर मिल्नेछ । त्यसो त बोर्ड अन्तर्राष्ट्रिय स्तरको खेल मैदान निर्माण गर्ने तयारीमा समेत जुटेको छ । अन्तर्राष्ट्रिय स्तरको खेल मैदान निर्माण गर्न सके खेलकुदलाई पर्यटनसँग जोडेर कोशी प्रदेशलाई समृद्ध बनाउन सकिने बोर्डको बुझाइ छ ।
बोर्डले खेल क्षेत्रलाई उकास्नका लागि निरन्तर काम गर्दै आएको छ । बोर्डले गरिरहेको काममा तीन तहको सरकारले समन्वय गरेर निजी क्षेत्रलाई पनि खेलकुदमा लगानी गर्ने वातावरण बनाउनु सक्नु पर्ने स्थिति सृजना भएको छ । त्यसका लागि खेलाडी उत्पादन हुने विद्यालयदेखि विश्वविद्यालयसम्म खेलकुदलाई प्राथमिकता राख्न आवश्यक छ ।
पछिल्लो समय कोशी प्रदेशमा फुटबल, भलिबल, क्रिकेट कराँते तेक्वान्दो टेबल टेनिस लगायत विभिन्न खेलका प्रतियोगिता नियमित आयोजना हुन थालेका छन् । पौडी, कराँते, तेक्वान्दोमा कोशी प्रदेशले सम्भावना पनि देखाएको छ । नियमित रूपमा प्रतियोगिता आयोजना हुँदा खेलाडीहरूले नियमित रूपमा आफ्नो प्रतिभा निखार्ने मौका त पाएका छन् नै खेलकुदमा संलग्न खेलाडी‚ प्रशिक्षकले आफ्नो प्रदेशका लागि मेडल समेत भित्राउन सफल बनेका छन् ।
समय-समयमा यसरी जिल्लाहरूमा खेलकुद प्रतियोगिता हुन थालेसँगै युवाहरूमा खेलप्रति आकर्षण बढ्दै गएको छ । खेल क्षेत्रको माध्यमबाट युवाहरूलाई कुलतमा फस्नबाट बचाउन सकिन्छ भने एक अनुशासित र जिम्मेवार नागरिक बनाउन समेत खेल क्षेत्रले मदत पुर्याउछ । पछिल्लो समय सेल्फ डिफेन्सले महिलाहरूमा थप आत्मबल बढाएको प्रस्ट छ । यद्यपि कोशीका १४ वटै जिल्लाका सबै स्थानीय तहमा सेल्फ डिफेन्सका कक्षा प्रत्येक घरका छोरीलाई दिन आवश्यक देखिन्छ । विश्वसामु नेपाललाई खेलकुद क्षेत्रको माध्यमबाट चिनाउन खेलाडीले खेलेर गौरवका साथ बाँच्न सक्ने आधार निर्माण गर्न भने आवश्यक छ ।