- बासुदेव बराल
साउन शिवजीको प्रिय महिना । हुन त भगवानको आराधना गर्न सबै महिना, सबै बार र सबै समय उत्तिकै उपयुक्त हुन्छन् । तथापि साउनमा गरिने आराधनाले शिवजी छिट्टै खुसी हुने मान्यता छ । त्यसमा पनि सोमबार भोलेनाथलाई अत्यन्त प्रिय बार । साउनको सोमबार गरिने आराधनाले शिवजी चाँडै प्रसन्न हुन्छन् ।
नेपाल भगवान् भोलेनाथको प्रिय भूमि । हिमालयकी पुत्री पार्वतीसँग विवाह गरेका शिवजीलाई हिमालय नै प्यारो लागेर यतै निवास गर्न थालेका हुन् । यसकारण पनि हिमालको देश नेपालभूमि शिवजीको प्रिय क्षेत्र हो । त्यसमध्ये पनि पशुपति क्षेत्र, हलेसी क्षेत्र र पिण्डेश्वर क्षेत्र शिवजीको निवास क्षेत्र भएकाले आराधनाका लागि उत्तम क्षेत्र मानिन्छन् ।
पूर्वको धरानमा रहेको श्रीपिण्डेश्वर बाबाधाम शिव आराधनाका लागि प्रसिद्ध क्षेत्र हो यसको महत्त्व स्कन्ध पुराण, रुद्राक्षारण्य महात्म्य र शिव पुराणमा वर्णित छ ।
परापूर्वकालमा त्रिपुरासुर भनिने राक्षसले देवता, ऋषिगण र मनुष्यलाई दुःख दिएपश्चात् शिवजीले देवताहरूको आग्रहलाई आत्मसात् गर्दै उसको वध गर्नुभयो । दश हजार वर्षसम्म चलेको त्यो युद्धमा भगवान् रुद्रावतार शिवले त्रिपुरासुरको वध पश्चात् शीतशैल भनिने विजयपुर क्षेत्रमा आएर विश्राम गर्नु भयो । त्राणहर्ता शिवजीको सबैले स्तुति गान गाए । कृतज्ञता ज्ञापन गरे । भोलेनाथ कसैको सानो प्रार्थनामा पनि खुसी हुने भएकाले वहाँ देवताको स्तुतिले अति प्रसन्न हुनु भयो । त्रिपुरासुरको बधको खुसीमा महादेवसहित सारा देवता खुसीले हाँस्न थाले । हाँस्दा हाँस्दै रुद्रावतार शिवजीका आँखाबाट हर्षका चार थोपा पृथ्वीमा खसे । कालान्तरमा ती आँसु अङ्कुरित भए, पालुवा लागे । बिस्तारै रुखमा परिणत भए र रुद्राक्षका रूपमा फल फल्न थाले । रुद्रको अश्रु (आँसु) बाट रुद्राक्षको उत्पत्ति भयो ।
संसारमा सबैभन्दा पहिले यही क्षेत्रमा रुद्राक्षको उत्पत्ति भएको र यहाँबाट कोशौं कोश सम्म रुद्राक्षको जङ्गल फैलन थाल्यो । रुद्राक्षको अरण्य (जङ्गल) भएका कारण पुराणहरूमा यो क्षेत्रलाई रुद्राक्षारण्य भनेर चिनिन थालियो । रुद्राक्षारण्यको केन्द्रबिन्दु यही विजयपुर क्षेत्र मानियो । त्यसैले पनि यो क्षेत्र देवता, मानव, ऋषिमुनी सबैका लागि पवित्र पुण्यभूमि बन्यो ।
देवता र दानव सधैँका वैरी । वैर अन्त्य गर्ने उद्देश्यले समुन्द्र मन्थन गर्ने र त्यसबाट निस्किएका वस्तु बाँड्ने र सबैले अमृत पिउने सहमति गरे । समुद्र मन्थनबाट हलाहल विष, विभिन्न रत्न, हात्ती, घोडा, लक्ष्मी आदि उत्पन्न भए । हलाहल विष शिवजीले पान गरेर घाँटीमा धारण गर्नु भयो । हात्ती देवराज इन्द्रले पाए । लक्ष्मी नारायणले प्राप्त गर्नु भयो । अन्य कुराहरू देवता र दानवहरूमा बाँडिए । तत्पश्चात् अमृतको घडा लिएर धनवन्तरी उत्पन्न भए । अमृत खान देवता र असुरहरूबिच खोसाखोस भयो । देवता र दानवहरूले अमृत खोसाखोस नगर्ने र बाँडेर खाने सहमति गरे । खानका लागि अमृत छानियो । माथिको ‘तर” र पिँधमा रहेको शेष भागलाई सबै देवता मिलेर शिवजीको रूपमा स्थापना गर्न पवित्र भूमि खोजी गरे । रुद्राक्षको जङ्गल सबैभन्दा पवित्र र शिवजीकालागि प्रिय स्थान पनि ठानेर यो भूमिलाई उपयुक्त ठाने । देवताहरूले रुद्राक्षारण्यको केन्द्र भागमा पर्ने हालको धरान विजयपुर क्षेत्रमा अमृतको त्यो तर र शेष भागको पिण्डको आकारमा शिवजीको स्थापना गरे । जसलाई पिण्डेश्वर नामकरण गरियो । यो पिण्डेश्वर मन्दिर नै शिव आराधनाको केन्द्र बनिरहेको छ ।
तत्पश्चात् समुद्र मन्थनबाट धुलो मैलो भएका देवताहरूले सप्तकोसीमा स्नान गरे र पिण्डेश्वरमा सप्तकोशीको जल अर्पण गरेर शिवजीको आराधना गरे । जुन परम्परा अझैसम्म निरन्तर कायमै छ । यसलाई अचेल बोलबम मेलाका नाममा सञ्चालन गरिन्छ ।
दक्ष प्रजापतिको टाउको काटेर उनको शरीरमा भगवान् शिवले बोकाको टाउको जोडिदिनु भयो । दक्ष प्रजापतिले भगवान्को प्रार्थना गरे । बोकाको मुख लगाएका उनले बमबम मात्र भन्न सके । त्यो बम पनि भगवान्लाई प्यारो लाग्यो । त्यही बेलादेखी संस्कृत उच्चारण गर्नसमेत नआउने देखी विद्वान् समेतले भगवान् शिवलाई बमबम भनेर पुकार्न थाले । यसरी भगवानको धाम जाँदा बम बोल्दै जाऊ भन्ने शब्दको छोटो रूप बोलबम, बोलबम हुन थाल्यो । देवताका पालादेखि चलिरहेको परम्परा हाल साउनमा र त्यसमा पनि सोमबारका दिन अझ बढी भेला भएर बोलबम भन्दै जल अर्पण गर्ने गरिन्छ । यसलाई नै बोलबम मेलाका रूपमा लिइन्छ ।
यहाँबाट २० किलोमिटर पश्चिममा रहेको प्राचीन हरिद्वार चतराधाममा अवस्थित सप्तकोशी नदीको जल लिएर गेरुवस्त्रधारी भक्तजनहरू श्रीपिण्डेश्वरमा बोलबम भन्दै आउँछन् र अर्पण गर्छन् । प्रत्येक वर्ष यसरी गेरुवस्त्रधारी भक्तहरूको सङ्ख्या थामिनसक्नु हुन्छ । साउनका सोमबारका लागि लाखौँ श्रद्धालुहरू आइतबार साँझ देखी नै लामबद्ध भएका हुन्छन् । उनीहरू भगवान् शिवको सबैभन्दा सहज र सादा नाम बोलबम उच्चारण गर्दै जल अर्पण गर्छन् ।
भक्तजनहरू सप्तकोशीको जलसँगै शिवजीको प्रिय वस्तुहरू बेलपाती, धतुरोको फूल, रुद्राक्षको माला पनि श्रीपिण्डेश्वरमा चढाउँछन् । रुद्राक्षारण्यका प्रधान देवता श्रीपिण्डेश्वर महादेव भएकाले यहाँ रुद्राक्ष अर्पण सबैभन्दा महत्त्वपूर्ण हो । यहाँ चढाएको रुद्राक्षको माला प्रसादका रूपमा घर लिएर जानु पर्दछ । भनिन्छ यहाँ अर्पण गरेको र स्पर्श गराएको रुद्राक्ष सदैव जीवन्त रहने र अति प्रभावकारी फल दिने हुन्छ ।
श्रीपिण्डेश्वर मन्दिर परिसरमा गणेश, पार्वती, अष्टभूजा देवीका मन्दिर पनि छन् । यहाँ प्राचिनकालका मूर्तिहरू पनि रहेका छन् । यहाँ एउटा सरोवर छ । यसलाई सरस्वती सरोवर भनिन्छ । जसलाई सरस्वती आफैले उत्पन्न गराएकी हुन् भनेर स्कन्ध पुराणको हिमाद्रि खण्डमा वर्णन गरिएको छ । पहाडको टुप्पोमा पोखरी र नजिकै इनार हुनुले यो क्षेत्रलाई प्राकृतिक हिसाबले पनि महत्त्वपूर्ण बनाएको छ ।
मन्दिरको परिसरमा भीमसेन थापा र जङ्गबहादुर राणाले चढाएका पुराना तर ठुला दुई घण्टहरू पनि छन् । यहाँ आएका भक्तजनहरूले विजयपुर शिखरमा रहेका दन्तकाली, बुढासुब्बा, बालम्बा लगायत देवदेवीको मन्दिरहरूको दर्शन छुटाउनु भने हुँदैन । बालाम्बा श्रीपिण्डेश्वरकी अर्धाङ्गिनी हुन् । उनको मन्दिर विजयपुर चोक उत्तरपट्टी रहेको छ ।
श्रीपिण्डेश्वरमा भोली सोमबारदेखि अर्को सोमबारसम्म हरेक साँझ भव्य आरतीको आयोजना हुँदैछ। सरस्वती सरोवरमा हुने आरती भव्य र चित्ताकर्षक हुने गर्दछ । श्रीपिण्डेश्वर आउने भक्तजनले भगवान् शिवलाई समर्पित सो आरतीमा सहभागी हुन छुटाउनु हुँदैन ।