धरान : धरान-१७ स्थित पञ्चकन्या माध्यमिक विद्यालयमा ४ काठे भवन निर्माणमा लाखौँ रुपैयाँ आर्थिक अनियमितता भएको अख्तियारमा उजुरी परेपछि अख्तियारको टोलीले अनुगमन गरेको छ ।

स्कुल भवन निर्माण सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट आर्थिक वर्ष २०७८/०७९ मा ३६ लाख रुपैयाँ निकासा भएको थियो । विद्यालयको ४ लाख रुपैयाँ सहित ४ कोठे भवनमा कुल ४० लाख खर्च देखाइएको छ ।

भवन निर्माणका ठेकेदारले भने ३२ लाख रुपैयाँ पनि नपाएको भन्दै भवन निर्माणमा आर्थिक अनियमितता भएको अख्तियारमा उजुरी परेको हो । उजुरीमा प्रधानाध्यापक खेम सुवेदीले ८ लाख रुपैयाँ अपचलन गरेको आरोप लगाइएको छ ।

उजुरी परेपछि अख्तियारको इटहरी कार्यालयले निर्माण कार्यको अनुगमन गरी पत्र समेत पठाएको हो । अख्तियार इटहरीका प्रवक्ता नरहरि घिमिरेले अख्तियार टोलीको स्थलगत अनुगमनको क्रममा मापदण्ड अनुसारका सामान प्रयोग नभएको र आर्थिक अनियमितता भेटिएको बताए ।

उनले भने ‘नाप जाँचमा डिफेक्ट भेटेका छौँ ।’ टोलीले अनुगमन गरेपछि भौतिक संरचनामा मापदण्ड काम पुरा गर्न समेत आग्रह गरेको बताइएको छ ।  

ठेकेदारले लापरबाही गरेको हो : प्रधानाध्यापक

विद्यालयका प्रधानाध्यापक खेम सुवेदीले भने ‘खासै त्यस्तो केही होइन कुरा सामान्य हो, चित्त नबुझ्नेले सूचना दिए होलान् ।’

उनले ठेकेदारको लापरबाहीका कारण समस्या आए तापनि हाल मापदण्ड अनुसार सामान समेत परिवर्तन गरिएको बताए । ४ कोठे भवनको ठेक्का धरान १३ स्थित गौरा कन्स्ट्रक्सन प्रालीका पूर्ण बहादुर राईलाई ३६ लाख रुपैयाँमा दिएको उनले बताए ।

उनले भने ‘हामीले धरान उपमहानगरपालिकाको शिक्षा शाखामा रिपोर्ट बुझाइसकेका छौँ ।’ निर्माण सम्पन्न गरेको कागजपत्र लिने तयारीमा रहेको प्रधानाध्यापकको भनाई छ ।

प्रधानाध्यापकले पैसा दिएका छैनन् : ठेकेदार  

गौरा कन्ट्रक्सनका पूर्ण बहादुर राईले प्रधानाध्यापक सुवेदीले ३६ लाखमा ठेक्का लगाएको कागज बनाए पनि आफूलाई ३२ लाखमा मात्र ठेक्का दिएको बताए । उनका अनुसार ३२ लाखमा काम गरे पनि विद्यालयले सम्पूर्ण रकम दिएको छैन ।

उनले भने ‘हेडसर (सुवेदी) ले ४० लाख रुपैयाँ बराबरको बिल भरपाई मागेका थिए ।’ तर उनले ३६ लाखको मात्रको बिल दिएको बताए । ४ कोठे सुविधा सम्पन्न र भूकम्प प्रतिरोधात्मक भवनका बनाउनका लागि पर्याप्त रकम नभए पनि मापदण्ड अनुसारको सम्पूर्ण पूर्वाधार तयार गरेको ठेकेदार राईले दाबी गरे ।

थप रकम दिने आश्वासन दिएकाले थप निर्माण कार्य समेत सम्पन्न गरिएको बताए । तर प्रधानाध्यापक सुवेदीले नै समितिको आँखा छलेर रकम अपचलन गरेको ठेकेदारले आरोप लगाएका छन् ।

ठेकेदार राईले भने ‘प्रअ सुवेदीले थप रकम दिन्छु भनेर काम लगाए तर हाल सम्म पैसा दिएका छैनन् ।’ उनले ठेक्कामा उल्लेख नभएको टायल र पानी ट्याङ्की समेत निर्माण गरेको बताए ।

उनका अनुसार समितिले पैसा खोज्दा कहिले प्राविधिक, कहिले कहाँ पैसा दिएको भन्दै पैसा नै दिएका छैनन् । विद्यालय व्यवस्थापन समितिले दिएको समयमा निर्माण सम्पन्न गरी २०८० चैत्र अन्तिममा नै स्कुललाई भवन जिम्मा लगाइएको हो ।

व्यवस्थापन समितिलाई जानकारी छैन : अध्यक्ष

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवास बर्देवाले भवन पहिला बनिसकेकाले त्यो विषयमा आफूलाई जानकारी नभएको बताए । उनले भने ‘भवन निर्माणको अनुगमन अख्तियारको टोली आएसँगै पत्र समेत आएको हो ।’

उनका अनुसार निर्माण कार्य र लेनदेनको आर्थिक विषयमा प्रधानाध्यापक सुवेदी नै बढी जानकार भएको बताए । स्कुलको आर्थिक गतिविधि र निर्माण २०७८/०७९ मा भए पनि २०८१ को सुरुवातमा निर्माण सम्पन्न भएको अध्यक्षको भनाई छ ।

प्राविधिक मूल्याङ्कन बराबरको रकम मात्र स्कुलले पाउने  

धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्रबिक्रम बेघा सहितको शिक्षा शाखाका टोली आज सोमबार विद्यालय भवनको अनुगमन गर्न पुगेको थियो । बेघाले उपमहानगरपालिका मार्फत दिइनै सङ्घीय बजेट प्राविधिक मुल्याङकन बाहेक सबै रकम विद्यालयले फिर्ता गर्नुपर्ने सुझाव दिएको बताए ।

उनले भने ‘संरचना बनाउँदा प्राविधिक मूल्याङ्कनबाट जति रकम भेटाउँछ त्यति मात्र रकम विद्यालयले पाउँछ अन्य रकम विद्यालयले फिर्ता दिनु पर्छ ।’

स्कुल भवन निर्माण गर्न खिला कुमारी राई संयोजक रहेको ५ सदस्यीय समिति गठन गरिएको थियो ।