धरान : इटहरी-१९ मा रहेको शहीद स्मृति आवासीय विद्यालयमा सोमबार स्थानीयवासी सहित अनेरास्ववियू सुनसरीले लगाएको ताला अनेरास्ववियू सुनसरीले नखोल्ने बताएको छ ।

अनेरास्ववियू सुनसरीका अध्यक्ष रोशन रेग्मीले भने ‘ विद्यालयलाई पार्टीगत गुटको राजनीति गर्दै लगेको र विद्यार्थीको भविष्यमाथि खेलबाड गरेकाले तालाबन्दी गरिएको हो ।

विद्यालयमा अनियमितता भएको छ, सबै आर्थिक गतिविधि सत्य तथ्य सार्वजनिक गर्नुपर्छ, हामीले सूचनाको हक प्रयोग गरेर फेहरिस्त माग गरेका छौँ । आय व्यायको विवरण नदिए सम्म ताला खुल्दैन । ”

विद्यालयमा अनियमितता भएको भन्दै स्थानीयवासीले केही हप्ता अघि सङ्घर्ष समिति बनाएर छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको कार्यालय, स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी समेत गरेका थिए । विद्यार्थीहरू नाराबाजी गर्दै विद्यालय परिसरमा पटक पटक आन्दोलनमा उत्रिएका थिए ।

अघिल्लो साता इटहरी उपमहानगरपालिकाको शिक्षा शाखाले विद्यालयमा भएको कुरा सोही ठाउँमा मिलाउन भन्दै विद्यालय व्यवस्थापन समिति, स्थानीयवासी र सरोकारवाला निकायलाई निर्देशन दिएको थियो ।

उपमहानगरपालिकाले निर्देशन दिए पनि हालसम्म समस्याको र्निक्यौंल ननिस्किँदा आन्दोलन उत्कर्षमा पुगेको छ ।