सुनसरी : सुनसरी मोरङ सिचाई आयोजना अन्तर्गत सितागञ्ज नहर शाखामा अनियमितता भएको भन्दै स्थानीय किसानहरू आन्दोलित भएका छन्।

संस्थाको गतिविधि पारदर्शी नभएको र उपभोक्ता समितिका कुनै पनि सदस्यहरूलाई जानकारी नदिई कोठे बैठकबाट अध्यक्षले समिति गठन गरेको भन्दै साढे ३ सय स्थानीय किसानहरूले आन्दोलन थालेका हुन ।
सुनसरीको गढी गाउँपालिका स्थित औराबनीमा विरोध कार्यक्रम आयोजना गर्दै स्थानीयहरूले २०५१ साल देखी एउटै व्यक्ति उपभोक्ता समितिको अध्यक्ष बनेर चरम अनियमितता गरेको आरोप लगाएका छन्।

गत असोज २७ गते सितागञ्ज नहर शाखाको कार्यालयमा तालाबन्दी गरेका आन्दोलनकारी स्थानीय किसानहरूले सुनसरी मोरङ सिचाई आयोजनाको कार्यालय र गढी गाउँपालिकामा ज्ञापन पत्र समेत बुझाएको बताएका छन्।

जल उपभोक्ता समितिको नाममा आएको लाखौँ रुपैयाँ समेत अध्यक्ष तपन कुमार दाशले अनियमितता गरेको उनीहरूको आरोप छ। यस्तै नहरको माटो जथाभाबी कटान गरेर बेचेको, २ सय ७२ वटा मेसिन मध्ये २ सय मेसिन गायब बनाएको, वृक्षारोपणको नाममा आएको ७४ लाख रुपैयाँ बजेट समेत अनियमितता गरेको आन्दोलित किसानहरूको दाबी छ।

किसानहरूले विभिन्न खेती लगाउने समयमा सिचाई सुविधा समेत नपाइने गरेको भन्दै तत्काल पारदर्शी किसिमले नयाँ समिति गठन हुनुपर्ने उनीहरूको माग छ। सुनसरीको इटहरी स्थित सुनसरी मोरङ सिचाई आयोजनाको मुख्य नहरदेखि दक्षिण तर्फ इटहरी, दुहबी, गढी र बर्जू गाउँपालिका सम्मको ४० हजार हेक्टर क्षेत्रमा सिचाई पुर्याउने उक्त नहर अध्यक्ष तपन कुमार दासको लापरबाहीले सङ्कटमा परेको समेत सङ्घर्ष समितिको दाबी छ।