इटहरी : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति (भिसी) ज्ञानेन्द्र गिरी कमिसनको खेलमा लागेको पाइएको छ । आर्थिक वर्ष २०७९/८० को असारे बजेट सिद्ध्याउन मातृशिशु भवन नबन्दै १० करोड बराबरका २० वटा भेन्टिलेटरमा खरिदमा अनियमितताको विषय बाहिर आएपछि गिरीको गलत नियत पत्ता लागेको हो ।

भिसी गिरीले इटहरीको एमबिएम सर्किजल एन्ड डेन्टल हाउस प्रालीका सञ्चालक सँग मिलेमतो गिरी चाखलाग्दो प्रकरण मच्चाए । एमबिएमले आफू अनुकूलको स्पेशिफिकेसन बनाएर सेटिङमा प्रतिष्ठानलाई भेन्टिलेटर हस्तान्तरण गरेको थियो ।  खरिद प्रक्रियामा एमबी मेडिटेक प्रालीले समेत बोलपत्र पेस गरे पनि दुवै कम्पनीको निर्देशक एकै व्यक्ती सन्दीप राउत हुन् । यसले भिसी गिरीको सेटीङलाई पर्दाफास गरेको छ ।

सिङ्गापुरको कम्पनी मेट्रोनिक्सको सिग्नेचर र छाप नै किर्ते गरेर एमबिएमका राउतले सामान खरिदको प्रक्रिया अगाडी बढाएको खुलेको छ । एमबिएम कुनै आधिकारिक विक्रेता पनि नभएको र टेन्डर हाल्न समेत सक्षम नभएको अवस्थामा भिसी गिरीको सेटीङमा सम्पूर्ण कागजात मिलाउने, खरिद गर्ने र भुक्तानी दिने काम सम्पन्न भएको हो ।

गिरीको मिलेमतोमा तत्कालीन लेखा प्रमुख मोहन राई, मेडिकल स्टोरका सञ्जीव कर्ण, खरिद शाखा प्रमुख सागर ताम्राकार, निर्देशक जगतनारायण प्रसाद, मूल्याङ्कन समिति संयोजक डा प्रमेन्द्र गुप्ता र इल्क्ट्रोमेड शाखा प्रमुख राहुल मिश्रले सेटिङ मिलाएर भेन्टिलेटर खरिद गरेका थिए । खरिद गरिएका भेन्टिलेटर चेक जाँच नगरी थन्काइएको छ । एकबर्ष सम्मको ग्यारेन्टी भएका उपकरणहरू कार्टुनबाट खोल्दै नखोली बिग्रने अवस्थामा पुगेका छन् ।

मातृशिशु भवनको लागि ९ करोड ८६ लाख ४९ हजार रुपैयाँमा २० वटा भेन्टिलेटर खरिद गरेका भिसी गिरीले उपकरणको गुणस्तर समेत जाँच गरेका छैनन् । भवनका लागि खरिद भएका भेन्टिलेटर थन्किएको विषयमा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनले पनि खरिद प्रक्रियामा अनियमितता देखाएको थियो ।

भेन्टिलेटर खरिदमा सेटिङ भएपछि २०८० साउन २४ गते ७ सदस्यीय छानबिन समिति गठन भयो । सो समितिले दुई साता लगाएर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा निर्माणाधीन भवनको लागि आवश्यक उपकरणहरू मध्ये उक्त भेन्टिलेटरहरू प्राथमिकतामा पर्ने कुनै आधार नदेखिएको प्रस्ट उल्लेख छ ।

रकमको विनियोजन गर्नुपर्ने अवस्था बारे पनि प्रश्न उठाइएको प्रतिवेदनमा खरिद गर्न लागिएको २० थान भेन्टिलेटरहरू निर्माणाधीन भवनमा जडान तथा सञ्चालन गर्न चाहिने पूर्वाधारहरूको विषयमा कुनै जानकारी नलिइएको उल्लेख छ । सार्वजनिक खरिद ऐन २०६३ विपरीत खरिद र भुक्तानी भएको प्रतिवेदनमा जनाइएको छ ।

प्रतिष्ठानमा भेन्टिलेटर २०७९ भदौ ३१ गते आइपुगे पछि मात्र अस्पताल निर्देशक जगत् नारायण प्रसादले मातृशिशु भवनको बारेमा जानकारी दिन इन्जीनियरलाइ निर्देशन दिए । उनको निर्देशन अनुसार २०७९ असोज ११ गते सिभिल इन्जिनियरिङ शाखाले भवन निर्माण सम्पन्न हुने २०७९ को चैत सम्म लाग्ने बताएको थियो । तर २०८१ साउन अन्त्य सम्म पनि भवन निर्माण सम्पन्न हुन सकेको छैन । हाल सोही विषयमा अख्तियारमा मुद्दा विचाराधीन अवस्थामा छ ।  

अर्को पनि सेटीङ

BPKIHS-NOTICEमातृशिशु भवनकै लागि आवश्यक बेड तथा भौतिक पूर्वाधार खरिदमा उनले बोलपत्र आह्वान गरेका छन् । २०८१ साउन १० गते आह्वान भएको विद्युतीय बोलपत्र अनुसार ३ करोड ५० लाख रुपैयाँ सुरक्षण धरौटी माग गरिएको छ । उक्त रकमका आधारमा दुई अर्ब हाराहारीको सामान खरिद गर्न लागिएको जानकारी प्राप्त भएको छ । अस्पताल र कार्यालयको लागि फर्निचर, उपकरण र त्यसको दोस्रो चरणमा डेकोरेसनको लागि एकमुष्ट बोलपत्र आह्वान गरिएको हो ।

बोलपत्र अनुसार कुनै पनि सप्लायर्स सँगको सेटीङमा जस्तो देखिएको छ । फर्निचर र उपकरणको लागि एउटै कम्पनीले काम गर्ने अवस्था बिरलै पाइन्छ । त्यसमा पनि भिसी गिरीले चलाखीपूर्ण रूपमा डेकोरेसनको जिम्मा पाउने गरी बोलपत्र आह्वान गरेका छन् । प्रतिष्ठानका रजिस्ट्रार डाक्टर सूर्य प्रसाद सङ्ग्रौला आफूलाई यस विषयमा जानकारी नभएको बताउँछन् । खरिदको विषयमा यस बिचमा कुनै निर्णय नभएको उनले बताए । रजिस्ट्रार र रेक्टरलाई नै थाहा नदिई भिसी गिरी र डाइरेक्टर जगतनारायण प्रसादले मिलेमतोमा खरिद प्रक्रिया अगाडी बढाइएका हुन ।

त्यतीमात्र हैन प्रतिष्ठानको विधान विपरीत खरिदको काम भइरहेको छ । कार्यकारी समितिबाट निर्णय गरेर श्रोत सुनिश्चित भएपछि मात्र आवश्यकताको आधारमा खरिद गर्नुपर्ने नियम विपरीत भिसी र डाइरेक्टरले मनोमानी हिसाबमा काम गरेका हुन् ।

एक कार्यकारी समितिका सदस्यका अनुसार प्रतिष्ठानले समयमा तलब खुवाउन सक्ने अवस्था नभएको बेला अनावश्यक खरिद गरिरहेको छ । २५ गते भुक्तानी गर्नुपर्ने तलब समेत नदिएर चिकित्सक र कर्मचारी माथि अन्याय भइरहेको उनले बताए । जताततै खरिद भइरहेको बताउँदै उनले भिसी र डाइरेक्टरले भ्रष्टाचारको अखडा बनाएको आरोप लगाए ।

अख्तियारमा उजुरी

अस्पताल उपकरण र फर्निचरको खरिद प्रक्रियामा रहेको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । चिकित्सक, शिक्षक र कर्मचारीले दिएको निवेदनमा दुई अर्ब भन्दा बढीको गैर कानुनी टेन्डर रद्द गर्न माग गरिएको छ । भिसीको मनोमानी र गैर कानुनी गतिविधिले प्रतिष्ठान ध्वस्त भएको उल्लेख गरिएको निवेदनमा साउन १० गते आह्वान भएको बोलपत्रमा भ्रष्टाचार भएको बताइएको छ ।

रजिस्ट्रार र कार्यकारी समितिलाई जानकारी नदिई श्रोत सुनिश्चित नभएको विवादित मातृशिशु भवनको लागि उपकरण खरिद गर्न लागिएको निवेदनमा उल्लेख छ । सी-००७१५३ दर्ता नम्बर रहेको निवेदन साउन २२ गते दर्ता भएको हो ।

सोही निवेदनमा असार २८ गते प्रकाशित कर्मचारी बढुवाको सूचनामा पनि आर्थिक चलखेल भएको र आफ्ना मान्छे मात्र भर्ती गरेको आरोप छ । बढुवाको प्रक्रिया नेपाल मेडिकल काउन्सिल, मेडिकल एजुकेसन कमिसन र प्रतिष्ठानको ऐन विपरीत भएको निवेदनमा उल्लेख गरिएको छ । जसमा विषय अख्तियारले अनुसन्धान गरिरहेको छ । 

BP-VC-ujuri