धरान : नेपालमा परिवर्तनका लागि भएको पटक पटकको जनआन्दोलनको पृष्ठभूमि पटक पटक भएको विद्रोहका घट्नाले महत्त्वपूर्ण भूमिका खेलेको छ ।
काँग्रेस, कम्युनिष्ट पार्टी सम्बद्ध रहेको ती विद्रोह र त्यसका पात्रहरूको इतिहास बेला बला चर्चामा आउँछ तर बिर्सिने गरिएको छ । पूर्वका त्यस्तो विद्रोहका एक क्रान्तिकारी शहिद हुन रत्नकुमार बान्तवा ।
कम्युनिष्ट पार्टी सम्बद्ध बान्तावाले नेपालमा व्यवस्था परिवर्तनका लागि पहिलो पटक सुरुङ युद्ध गरेको इतिहास स्थापित गर्दै हालै ‘नेपालमा सुरुङ युद्ध’ नामक पुस्तक प्रकाशित भएको छ ।
जसकुमार राई र अर्जुन उप्रेतीले तयार गरेको पुस्तक बारे आज शुक्रवार आयोजित वार्तामा राजनीतिक अगुवाद्वय ताजुब लिम्बु र सुनिता किराँती सीले रत्नकुमार बान्तावाको राजनीतिक योगदानको समीक्षा गरे ।
कम्युनिष्ट पार्टीमा आबद्ध भएतापनि उनले क्रान्तिका लागि सुरु गरेको ‘सुरुङ युद्ध’ नितान्त छुट्टै कदम थियो भन्नेमा समीक्षकद्वयले समान धारणा व्यक्त गरे । तथापि उनले गरेको सुरुङ युद्ध क्रान्तिका लागि रणनीतिक महत्वको स्वीकार गर्दै माओवादी सेनाको एक ‘रत्नकुमार बिग्रेड’ उनको सम्मानमा स्थापना गरिएको सुनिता किराँतीले बताइन् ।
ताजुब लिम्बुले रत्नकुमार बान्तवाको क्रान्तिकारी धारले परिवर्तनकारी नेपाली राजनीतिक आन्दोलनका लागि ठुलो योगदान पुर्याएपनि एकाले सत्तामा पुगेपछि उचित सम्मान र मुल्यांन नगरेको बताए । पुस्तकमा उल्लेखित यातना र दुःख खेप्नु परेको उनको परिवारले राहत सम्म नपाएको बताए ।
पुस्तकका सहलेखक अर्जुन उप्रेतीले रत्नकुमारको विद्रोहले २०३६ सालमा जनमत सङ्ग्रह घोषणाको पृष्ठभूमिमा भूमिका खेलेको दाबी गरे । उनले भने ‘रत्नकुमार बान्तावाले गरेको विद्रोह, सङ्घर्ष र सङ्गठन नेपालको कम्युनिष्ट पार्टीका कार्यकर्ताका लागि अनुकरणीय छ ।’
रत्नकुमार राईका नजिकका नातेदार पुराना वामपन्थी नेता बम देवानले एउटा पुस्तकले रत्नकुमार बान्तावाको विस्तृत जीवनी पुरा नहुने बताउँदै आफूले पुस्तकमा लेखेको मन्तव्य पनि सम्पादनमा परेको गुनासो सुनाए ।
पुस्तक वार्ताको सहजीकरण जनकऋषि राईले गरेका थिए । पुस्तकको औपचारिक विमोचन भोली शनिवार इटहरीमा हुँदैछ । पुस्तक अनुसन्धानात्मक इतिहासको रूपमा तयार गरिएको छ । पुस्तक ३ वर्ष अघि पुरा भए पनि प्रकाशनका विविध कारण हालै मात्र प्रकाशित भएको हो ।