विराटनगर : द्वन्द्वकालमा २२ वर्ष अघि राज्यद्वारा बेपत्ता भएकी मोरङ पथरीशनिश्चरे-५ की लक्ष्मी खतिवडाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । भदौ १७ गते दाहसंस्कार गरिएपछि ८३ वर्षीय बुबा जनकलाल खतिवडा काज किरियामा बसेका छन् ।

जनकलालले छोरी लक्ष्मीको मृत्युको न्यायिक घोषणा गर्न माग गर्दै २०८० साउन १४ मा मोरङ जिल्ला अदालतमा निवेदन दिए । अदालतले २०८० भदौ २५ गते तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेर बेपत्ता बनाएको दिनलाई आधार मानेर न्यायिक मृत्युको घोषणा गरिदिएको थियो ।

सोही आधारमा वडा कार्यालयमा मृत्यु दर्ता गरेर उनको दाहसंस्कार गरिएको लक्ष्मीका भाइ प्रेम खतिवडाले बताए ।

उनले भने ‘अदालतले बेपत्ता भएको मितिलाई आधार मानेर मृत्युको घोषणा गरिदियो ।’ त्यही अनुसार भदौ १७ गते अन्तिम संस्कारको मिति राखेर काजकिरिया गरिएको हो ।

लक्ष्मी खतिवडा २०५८ साल मङ्सिरमा माओवादी जनयुद्धमा पूर्ण कालिन कार्यकर्ता भएकी थिइन् । उनलाई २०५९ भदौ १७ गते सुनसरी खनारको नहर पूर्व सर्वसाधारणको घरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको थियो ।

दिदी पक्राउ परेको १५ दिनपछि खबर पाएको भाइ प्रेमले बताए । खोजीका लागि त्यहाँ पुग्दा पक्राउ परेको पुष्टि भयो । उनलाई खोज्न इटहरी ब्यारेक गएर बुझ्यौँ । कहाँ लगे भन्ने कुनै पत्ता नलागेको बताउँदै उनले इटहरीमा सेनाको ब्यारेककै कार्यक्षेत्र भएको स्थानबाट पक्राउ परेकोले त्यहीँबाट बेपत्ता बनाइएको हुनसक्ने बताए ।

दिदीको अवस्थाबारे बुझ्न जाँदा पक्राउ परेका आफन्तलाई पनि तत्कालीन शाही सेनाले निर्घात कुटपिट गर्ने थाहा पाएको उनले बताए । कहीँ नपाएपछि परिवारले माओवादीलाई नै बेपत्ताको अवस्था सार्वजनिक गर्न पहल गरिदिन माग गर्दै आएका थिए ।

उनले भने ‘सरकारमा पनि पार्टी गयो, दिदीको अवस्थाबारे पार्टीले नै खोजी गर्नुपर्छ भन्यौ, तर, कुनै पत्ता नलागेपछि बुबाले अदालतमा मृत्युको घोषणा गर्न माग गर्दै निवेदन दिनुभएको हो ।’

सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोग सम्बन्धी ऐन पनि जारी भइसकेको छ । ऐन जारी भएपछि उनको अवस्थाबारे केही जानकारी आउन सक्थ्यो । तर अदालती प्रक्रिया अगाडि नै सुरु भएको कारण मृत्युको न्यायिक घोषणापत्रको आधारमा काजकिरिया गरिएको उनले बताए ।

२०३६ साल पुस २२ गते भोजपुरको खार्तम्छा सानो दिङ्लामा जन्मिएकी लक्ष्मी परिवारसँगै २०४८ सालमा बौकाझोडामा बसाइँ सरी आएकी थिइन् । २०५१ सालमा साबिक हसन्दह-१ चिलाझारमा परिवार बसाई सरेका थिए ।

लक्ष्मी खतिवडा २०५८ साल मङ्सिरमा जनयुद्धमा हिँडेकी हुन् । उनका वृद्ध बुबा र आमा रत्नकुमारीका साथै पाँच दाजुभाइ र दुई जना दिदीबहिनी छन् । उनको अन्तिम संस्कार चिलाझार पथरीमै गरिएको हो ।

laxmi-khatiwada-2