• अनुसा थापा

विश्वमा नेपाल जलस्रोतको दोस्रो धनी मुलुकको रूपमा परिचित छ । तर जलस्रोतकै दोस्रो धनी देशमा पानीको चरम हाहाकार छ । काठमाडौँ उपत्यकाभित्र होस् या बाहिर, पानी पाउन महाभारत छ । जनताले पेटभर पानी पिउन पाउँदैनन् । नुहाउनका लागि पानी पाउन निकै गाह्रो छ ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ रित्तो गाग्री लिएर पानीको गुहार गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न आए । त्यसले नै नेपालमा पानी कतिको छेलोखेलो छ ? भन्ने पुष्टि हुन्छ ।

नेपाल जलश्रोतको दोस्रो धनी देश भनिएको छ तर पिउनकै लागि पानी छैन । पानी माग्नेसँग प्रधानमन्त्रीले भेट्ने कुरा पनि भएन, भेट्न समय दिएन । प्रधानमन्त्री आफै भने दिनको ७० हजार रुपैयाँको पानी पिउँछन्, त्यो पनि विदेशी । जनता ढल मिसिएको पानी पिउन बाध्य भनेर कहिलेकाहीँ समाचारहरू प्रकाशित भइरहेको हुन्छ ।

एक गाग्री पानी लिनका लागि घण्टौँ हिँड्नुपर्ने बाध्यता अझै पनि छ । पिउनलाई समेत पानी छैन भने नुहाउन, सरसफाइ गर्न, खाना पकाउन, शौचालय जान, लुगा धुन कहाँबाट पानी ल्याउने ? देशका उच्च पदस्थहरू कहिले जनताको समस्या देख्दैनन्, देखेसुने पनि बुझ पचाउँछन् ।

जनताप्रति उनीहरू कहिले जिम्मेवार भएनन् । राज्यको ढुकुटी छँदै छ, स्वदेशी खाए नि विदेशी । सरकारले डाँडाकाँडामा प्लानिङ गर्न स्वीकृति दियो । त्यहाँ घर बनाउन नक्सा पास पनि गरिदियो । त्यहाँ अस्तव्यस्त बस्ती बनाइयो । मान्छे बसेका छन् तर पानी छैन । नक्सा पास दिएपछि पानी दिनुपर्छ कि पर्दैन ?

राजश्वचाहिँ लिने अनि पानीचाहिँ नदिने ? अस्तव्यस्त बस्तीका कारण ढुङ्गेधाराहरू हराउँदै गयो । कुवाहरू सङ्कटमा परेका छन् । पहिले पहिले आकाशबाट परेको पानी जमिनमा जान्थ्यो । त्यहीँ पानी कुवामा आउँथ्यो तर अहिले ढुङ्गेधारा र कुवा विस्थापन भएको छ । जमिन सबै कङ्क्रिट र कालोपत्रे बन्दा पानी जाने ठाउँ नै भएन ।

यता चुरे क्षेत्रमा डोजर चलाएर भताभुङ्ग बनाएको छ । चुरेबाट आउने पानी रोकिएको छ । जसका कारण मधेसमा व्यापक पानीको हाहाकार सिर्जना भएको छ । उनीहरूले पानी माग्दै केही समयअघि राजधानीको माइतीघर मण्डलामा प्रदर्शनसमेत गरेका थिए । पैदल हिँडेर मधेसबाट काठमाडौँ छिरेका उनीहरूको समस्याको सुनुवाइ सरकारले गरेन ।

उनीहरूले बाल्टिनसहित प्रदर्शन गरे । सरकारले आश्वासन दियो, पठायो । नेपालमा खोलानाला धेरै छन् तर बढ्दो जनसङ्ख्या र अव्यवस्थित बस्तीका कारण खोलानाला प्रदूषित हुँदै गएको छ । घरघरबाट निस्किएको ढल खोलानालामा लगेर मिसाइएको छ । जसका कारण त्यहाँको पानी प्रयोग गर्न अयोग्य भएको छ ।

काठमाडौँ उपत्यकाभित्र भएको बागमती, हनुमन्ते, मनोहरा खोलाको वरपर हिँड्नसमेत सकिँदैन । उपत्यकामा पानीको हाहाकार भएपछि मेलम्चीबाट पानी ल्याउनुपरेको छ, त्यो पनि बाह्रैमास आउँदैन । मेलम्चीको पानी अहिले पनि घरघरमा पुग्न सकेको छैन । कतै पुगेको छ, कतै छैन ।

सरकार पहिले गर्ने अनि पछि सोच्ने खालको भयो । योजना बनाएर दीर्घकालीन रूपमा गरिएको कामहरू कमै होलान् । घर बनाउन दियो, पानी छैन । पानी नभएको ठाउँमा नक्सा पास गर्न दिने हो ? मान्छे बसेपछि पानी चाहिन्छ भन्ने कुरा त सरकारलाई थाहा थियो होला । तर पनि बेवास्ता गरियो । 

घरघरमा धारा जोडिएको छ तर पानीको थोपा चुहिँदैन । जताततै घर बनेको छ, मान्छे बसेका छन् तर पानी छैन । ट्याङ्करको पानी किनेर कहिलेसम्म चल्छ ? एक ट्याङ्कर पानीको २५ सयदेखि पाँच हजार रुपैयाँसम्म पर्छ । एक जार पानीको ६० देखि ८० रुपैयाँसम्म पर्छ ।

एक बोतल मिनिरल वाटरको २० देखि ३० रुपैयाँ पर्छ । पैसा हुनेले त किनेर खाला, नहुनेले के गर्ने ? खाने पानी नभएकै देशलाई कुन आधारमा जलस्रोतको धनी देश भन्ने ? अब कृषि प्रधान देश र जलस्रोतको धनी देशको नारा फेर्न आवश्यक भइसकेको छ । यी नाराका कारण नेपाल विश्वमै हाँसोको पात्र बनेको छ ।

कृषि प्रधान देश भनेको छ, छिमेकीले खाद्य पठाएनन् भने भोकभोकै मर्नुपर्छ । जलस्रोतको धनी देश भनेको छ, पिउने पानी नै छैन । विश्वमा आफूलाई रमिता बनाउनुभन्दा सरकार आफैँ सचेत भएको राम्रो । नेतृत्वसँग भिजन नहुँदा अनकन्टार बनेको गाउँघरको खोलानालामा बगेको पानी त्यतिकै खेर गएको छ ।

धाराको पानीहरू बगिरहेको छ । सहर र जिल्लाको सदरमुकाममा चाहिँ पानीको थोपा पनि छैन । यो अवस्थामा पुर्याउने को हो ? सरकार होइन ? भिजन नभएको नेता हुँदा देश यस्तो बनेको होइन ? नेतासँग भिजन हुन्छ, नेताले आफ्ना जनताको हितको बारेमा सोच्छ तर, नेपालका नेताहरू ठ्याक्कै विपरीत भए ।

आफू मोजमस्ती गर्न पाउँदैमा उनीहरू मक्ख छन् । गाउँघर रित्तिनुमा नेताहरूको ठुलो हात छ । गाउँमै रोजगारी सिर्जना गरिदिएको भए आज गाउँमा बाँदर र बँदेलको राज हुँदैनथ्यो । आफ्नो गाउँठाउँमा बसेर जनता रमाउन पाउँथे । अहिले झार उम्रिएका जमिनहरूमा अन्नबाली हुन्थ्यो । सहर र सदरमुकाममा अव्यवस्थित बस्ती हुँदैनथ्यो । सहरमा दुई गाग्री पानी थाप्नका लागि राति एक बजे उठ्नुपर्ने बाध्यता छ । हप्तामा एक दिन पानी आउँछ, त्यही दुई गाग्रीले भए पनि चित्त बुझाउनुपर्छ ।

उपत्यकाभित्र ६३४ वटा ढुङ्गेधारा थियो, सयौँको सङ्ख्यामा कुवा थियो ,सबै मासियो । अहिले कतै ढुङ्गेधारा र कुवा देखिँदैनन् । यिनीहरू अब इतिहास बनिसके । सरकारले संरक्षणमा चासो नदेखाउँदा भावी पुस्ताले ढुङ्गेधारा र कुवा देख्न नपाउने भए । कर लिनेका लागि सरकारले गरेको अव्यवस्थित भौतिक पूर्वाधार निर्माणले भविष्यमा झन् धेरै क्षति पुर्याउने निश्चय नै छ ।

अहिले पानी सुनजस्तै भइसकेको छ । पहिले पहिले बुढापाकाले भन्थे 'पानी दियो भने धर्म हुन्छ ।’ घरमा आएको मान्छेलाई अरू केही दिन नसकेपनि पानी दिनु भनिन्थ्यो तर पानीको हाहाकारले होला, कसैले पानी नै दिन्नन् । बाटोमा हिँड्दा या कतै जाँदा तिर्खा लाग्यो भने मिनिरल वाटर किन्नुपर्छ । पैसा भएन भने तिर्खा खपेर हिँड्नुपर्छ ।

होटेलहरूमा पछिल्लो समय पानी पनि राख्न छोडिएको छ, बोतलको पानी किन्नैपर्छ । खोलानाला फोहोर भयो भने पानीको हाहाकार हुन्छ भन्ने कुरा कहिले नेतृत्वकर्ताले सोचेनन् । आफ्ना कार्यकर्तालाई खोलाको छेउछाउ राखे । सुकुम्वासीको नाममा हुकुम्वासी ले खोलानाला कब्जा गरे । उनीहरूले खोलानाला फोहोर पारे । खोलानाला पुरै कालो छ । मान्छेले त के, गाईवस्तु र पशुपंक्षीले समेत त्यो पानी पिउन सक्दैनन् ।

नेपालीमा एउटा चर्चित उखान छ ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्काको पनि भत्काउँछ ।’ ओली, प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाललगायतका नेताहरू देशको लागि ‘बाँदर’ नै भए । नेपाल खोक्रो भइसकेको छ । जनता आफूलाई नेपाली भन्छन् । तर, हरेक कुरा अन्य देशबाट आयात गर्नुपर्छ । केही वर्षपछि पानी पनि आयात गर्नुपर्ने हुन सक्ला । त्यसैले अब हामी नेपाली भनेर गर्व नगर्दा पनि हुन्छ । गर्व गर्नलाई आफू आत्मनिर्भर हुनु पर्दैन र ?