• अनुसा थापा

नेता, सरकारी कर्मचारी र व्यापारीहरूले भ्रष्टाचार, गैर कानुनी रूपमा आर्जित र राजस्व छलेको रकम विदेशी बैङ्कहरूमा जम्मा गरेको बताइन्छ । अहिले मारवालिहरूले यहाँ आम्दानी गरेको रकम धमाधम आफ्नो देश लगिरहेका छन् । अध्ययनको नाममा मासिक अर्बौँ रकम विदेशिने गरेको छ ।

उच्च शिक्षा हासिल गर्न अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत विकसित मुलुक जाने क्रममा एकै जनाले शुरुमै १५ देखि ४५ लाख रुपैयाँसम्म लैजाने गरेका छन् । नेता, सरकारी कर्मचारी र व्यापारी मात्र होइन, आम सर्वसाधारणले पनि विदेशीलाई धनी बनाउने काम गरिरहेका छन् । नेता, कर्मचारी र व्यापारीहरूले त आफ्नो कालोधन लुकाउन विदेशमा पैसा राखे ।

तर, अहिले आम नागरिकले समेत गैर कानुनी रूपमा कमाएको रकम विदेशमा जम्मा गरेको सुनिन्छ । यसरी कमाएकै पैसाले अधिकांशले आफ्ना छोराछोरीलाई पढाउने नाममा लाखौँ खर्चिएर विकसित मुलुक पठाएका छन् । नेपाल दिन प्रति दिन धरायसी बन्दै गएको छ । देशको अर्थतन्त्र कङ्गाल बनिसक्यो ।

देशको अर्थतन्त्र मात्र होइन, दक्ष युवा जनशक्ति पनि विदेश पलायन हुँदा मुलुक अर्को सङ्कटमा परेको छ । अहिले देशसँग न पुँजी छ न जनशक्ति नै । देशका दक्ष जनशक्ति विदेश पलायन भए भने देश बेच्ने दलालहरू सिंहदरबारमा बसेका छन् । घरजग्गा, गाडी, सेयर दलाल र मानव तस्करहरू भने बाहिर बसेका छन् ।

अब देशमा दलालबाहेक कोही बाँकी छैनन् । सिंहदरबारमा बसेकाहरूसँग देश विकास कसरी गर्ने ? भनेर न योजना छ न पुँजी नै । त्यस कारण अब यिनीहरूसँग झोकिनुबाहेक अन्य विकल्प छैन । बाहिर बस्ने दलालीहरू त ठग्न नपाएर बैचन भएका छन् । हिजो ठगेरै करोडौँ कमाएका यिनीहरू अहिले देशमा युवाहरू नभएपछि ठग्न नपाएर टेन्सनमा छन् ।

कतिपयलाई त ठग्न नपाएर गुजारा चलाउनै मुस्किल परेको छ । गोजीमै हजारौँ बोकेर हिँड्ने ती दलालहरूसँग अहिले जाँड खाने पैसा समेत हुँदैन । ‘दलाल’ भन्नासाथ आफ्नो स्वार्थका निम्ति अरूलाई फसाउने वा डुबाउनेलाई बुझिन्छ । पछिल्लो समय हरेक क्षेत्रमा दलालीहरूको बिगबिगी छ । वैदेशिक रोजगारीदेखि मुलुकमै जागिर दिलाइदिने आश्वासनमा दलालहरूबाट सोझासाझा जनता ठगेका छन् ।

तर, रोचक कुरा त के छ भने यहाँ सरकारी कर्मचारी, नेता र सरकारमा बसेकाहरू नै दलाल भए । दलालीहरूले गर्नेभन्दा पनि नराम्रो काम उनीहरूले गरेका छन् । यस कारण उनीहरूले दलाल भन्दा पनि केही फरक पर्दैन । दलालहरूले आफ्नो फाइदाका निम्ति लाखौँ असुलेर सिधासाधा जनतालाई एक देश पठाउने नाममा अर्को देश पठाएर शोषण गराए ।

सरकारले पनि आफ्नो फाइदाका निम्ति जनतालाई भेडाबाख्रा झैँ विदेशीलाई बेच्यो । अनि के फरक भयो त सरकारमा बसेका र दलालीहरूबिच ? अहिले देशमा न युवा छन् न पुँजी । अहिले जनता देशभित्रै लगानी गर्न चाहँदैनन् । बरु लाखदेखि करोडौँसम्म खर्चिएर आफ्ना छोराछोरीलाई अध्ययनको नाममा विदेश पठाउन तयार हुन्छन् ।

त्यही पैसाले यहाँ व्यापार व्यवसाय गर्न भने उनीहरू डराउँछन् । यसको कारण सरकार पनि हो । सरकारले देशभित्रै युवालाई काम गर्ने वातावरणको सिर्जना गरिदिएन । उल्टै कोही कसैले केही काम गर्न थालेमा सरकारी कर्मचारीले घुस मात्र मागिरहने प्रवृत्तिले युवाहरूले विदेश नै जान रमाए । प्रशासकीय क्षेत्रमा सरकारले सुधार गर्न नसक्दा देशका दक्ष जनशक्तिहरू विदेशिए ।

अहिले अधिकांशले त्यताकै ग्रिन कार्ड वा पीआर लिएका छन् । हिजो करोडौँ खर्चिएर अमेरिका, अस्ट्रेलिया होमिएका उनीहरूले त्यता पुगेपछि एक सुको पठाएका छैनन् । उल्टै यहाँ भएको पुर्ख्यौली सम्पत्ति र आमाबुबा पनि उतै लगेका छन् । यसले मुलुकमा अर्थतन्त्र दिन प्रति दिन नाजुक अवस्थामा पुगिरहेको छ । अहिले रेमिट्यान्सबाट देशको अर्थतन्त्र धानिरहेको छ ।

तर, त्यो रेमिट्यान्स विकसित देश पलायन भएकाहरूले पठाएका होइनन्, खाडीमा रगतपसिना बगाइरहेकाले पठाएका हुन् । रात नभनी काम गरी खाडीबाट उनीहरूले आफ्ना घरपरिवारका लागि पठाएको रेमिट्यान्समा सरकारमा बसेकाहरूलाई मोज भएको छ । रेमिट्यान्सको सही सदुपयोग गर्नुको साटो दुरुपयोग गर्ने क्रम बढ्दो छ ।

हुन त यहाँ दुःखको कमाइको कदर कसले चाहिँ गर्छ र ? वैशाखमा मकै रोप्ने चलन छ । मकै एक दाना रोपिन्छ । तर, असारमा त्यही एक दानाबाट तीन घोगा मकै फल्छ । त्यसमा हजारौँ दाना हुन्छ । मकैसँगै ढोड र घाँस पनि फाइदा हुन्छ । अहिले पढ्ने नाममा युवासँगै खर्बौँ रकम विदेशिरहँदा मुलुकलाई भने केही फाइदा पुगिरहेको छैन ।

उल्टै हानि भइरहेको अवस्था छ । किनकि विकसित मुलुक गएकाहरू न फर्किन्छन् न उनीहरूले पैसा नै पठाउँछन् । त्यस कारण उनीहरूमा गरिएको लगानी देशका लागि बालुवामा पानी बराबर भन्दा पनि केही फरक नपर्ला । यता, नेता, सरकारी कर्मचारी र व्यापारीहरूले पनि विदेशमा राखेको रकम फिर्ता आउनेजस्तो देखिँदैन ।

किनकि उनीहरूले त्यो गैरकानुनी रूपमा आर्जन गरेको रकम हो । यदि विदेशमा त्यो रकम गैरकानुनी वा अवैध पुष्टि भएमा सोही देशले राष्ट्रियकरण गर्न सक्छ । यसले यहाँ भने त्यो रकम फिर्ता आउने सम्भावना निकै कम छ । सरकारले युवामा सबैभन्दा बढी लगानी गर्नुपर्ने थियो । सरकारले लगानी त गर्‍यो तर उनीहरूलाई विदेश पठाउन ।

सरकार आफैँले विभिन्न देशबाट श्रम सम्झौता गरेर देशका जवान युवाहरूलाई विदेश पलायन हुन बाध्य बनायो । अहिले १८ वर्षदेखि ४० वर्ष नकटेका मानिसहरू विदेशमा छन् ।

विदेशको विकास निर्माण गर्नमा उनीहरू व्यस्त छन् । अनि हाम्रो देश चाहिँ कहाँ पुग्यो ? अहिले सरकारले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्दा समेत युवाहरू विदेशिनै चाहन्छन् ।

विदेशबाट फर्किएकाहरू पनि बारम्बार विदेश नै जान्छन् । विदेशबाट सिकेको सीप उनीहरू यहाँ खर्च गरिरहेका छैनन् । किनकि उनीहरूलाई यहाँ सीपको कदर नहुने तर विदेशमा हुने भनेर स्पष्ट थाहा भइसकेको छ । सरकारले बेलैमा ध्यान नदिँदा अहिले देशमा न युवा रहे न पुँजी नै । अर्थतन्त्र दिन प्रति दिन सुस्त बन्दै गइरहेको छ ।

विदेशमा कमाएको होस् या स्वदेशमै जागिर, व्यापार व्यवसाय गरेर कमाएको पैसा मानिसहरूले घरजग्गा, गाडी र सेयरमा लगानी गरे । कुनै उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुको साटो दलालीको लहैलहैमा यस क्षेत्रमा लगानी गरियो । अहिले घरजग्गा, गाडी र सेयरमा व्यापक मन्दी आउँदा यस क्षेत्रमा गरिएको लगानी पनि फ्रिज भएको छ ।

एकातिर धितोको मूल्य दिनानुदिन घट्दै गएको छ अर्कोतिर बैङ्क, वित्तीय संस्थाको साँवा ब्याज बढिरहेको छ । यसले मानिसलाई आत्महत्यासम्मको अवस्थामा पुर्‍याएको छ । पैसा जति चलायमान हुन्छ, त्यति नै राज्यलाई फाइदा हुन्छ । अर्थतन्त्र चलायमान हुन्छ । बजार लयमा आउँछ । तर, अहिले त सबै क्षेत्रमा गरिएको लगानी फ्रिज भएको छ ।

जसका कारण राज्य घाटामा गइरहेको छ भने अर्थतन्त्र धरायसी बनिरहेको अवस्था छ । यता, सरकारमा बसेका मन्त्रीहरू भने अर्थतन्त्र लयमा फर्किएको दाबी गर्छन् । कोमामा रहेको अर्थतन्त्रलाई आईसीयुमा ल्याएको दाबी मन्त्रीहरू गर्छन् । अनि बजार मन्दीमा छ । व्यापार व्यवसाय ठप्प छ । राजस्व उठ्न छोडेको छ । यस्तो अवस्थामा कसरी अर्थतन्त्रमा सुधार आयो, सरकार ? सरकार झुट्टा कुरा गरेर जनतालाई अलमल्याइरहेको छ ।

अर्थविद्हरू पनि सबै दलको झोले छन् । उनीहरू अर्थतन्त्रबारे यथार्थ बताउँदैनन् । पार्टीले जे भन्यो, त्यही भन्छन् । तर, अब भ्रामक कुरा गर्ने होइन, सुधारतर्फ लाग्ने हो । किनकि अर्थतन्त्र साँच्चिकै समस्यामा छ । यदि समयमै विचार नगरे मुलुक ध्वस्त हुन सक्छ ।