- निनाम लोवात्ती
नेपाल सरकारले गएको वर्ष सन् २०२४ को १२ महिनामा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरूको सङ्ख्या कम्तीमा पनि १३ लाख १५ हजार पुर्याउने लक्ष्य लिएको थियो । तर, विविध कारणले गर्दा सो लक्ष्य पुरा हुन सकेन ।
गत: असोज ११ र १२ मा दुई दिनसम्म लगातार आएको अबिरल बाढी पहिरोको अवरोधले पर्यटन प्रभावित भयो । भदौ ७ गते तनहुँ ऐना पहरामा भएको भारतीय पर्यटक बस दुर्घटना अनि साउन ९ गते सौर्य एयरलाइन्सको हवाई जहाज दुर्घटना तथा साउन २३ गतेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाले पर्यटन प्रभावित भयो ।

तर, सन् २०२४ को १२ महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको सङ्ख्या भने ११ लाख ४७ हजार ५६७ जना पुगेको थियो । विगतको तुलनामा उक्त सङ्ख्यालाई ठुलो उपलब्धि मान्नुपर्ने हुन्छ । सन् २०१९ को डिसेम्बर अन्तिममा उत्तरी छिमेकी देश चीनबाट फैलेको विश्वव्यापी कोरोना महामारीपछि नेपाली पर्यटनले ठुलै छलाङ मारेको हो ।
सन् २०२४ को १२ महिनामा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको तथ्याङ्क यस्तो छ :
१. जनवरी महिनामा ७९ हजार १०० जना, २. फेब्रुअरी महिनामा ९४ हजार ४२६ जना,
३. मार्चमा १ लाख २८ हजार १६७ जना, ४. अप्रिल महिनामा १ लाख ११ हजार ३७६ जना,
५. मे महिनामा ९० हजार २११ जना, ६. जुन महिनामा ७६ हजार ७३६ जना,
७. जुलाईमा ६४ हजार ५९९ जना, ८. अगस्टमा ७२ हजार ७१९ जना,
९. सेप्टेम्बरमा ९६ हजार ३०५ जना, १०. अक्टोबरमा १ लाख २४ हजार ३९३ जना,
११. नोभेम्बर महिना १ लाख १४ हजार ५०१ जना र १२. डिसेम्बर महिनामा ९२ हजार ३४ हजार जना ।
उक्त तथ्याङ्क हेर्दा सन् २०२४ को १२ महिनामा जम्मा ११ लाख ४७ हजार ५६७ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गर्न आए । साथै नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको हालसम्मको वार्षिक आगमन तथ्याङ्कले अहिलेसम्म जम्मा चार वर्ष मात्रै १० लाख नाघेको देखिन्छ ।
आजभोलि नेपालमा मात्रै नभएर विश्वका प्रायः सबै देशमा पर्यटकीय गतिविधि बढेको अवस्था छ, पर्यटकीय गतिविधिहरू चलायमान रहेको छ । त्यस आधारमा सन् २०२५ मा सन् २०१९ को स्थितिमा पुग्ने अनुमान गरिएको छ, विश्व पर्यटन उद्योग ।
यता हाम्रो देश नेपालको पर्यटन र समग्र पर्यटन उद्योगको कुरो गर्दा चाहिँ हाम्रो देश नेपाल ‘मास टुरिस्ट’को प्रमुख गन्तव्यका रूपमा विकसित हुँदै गइरहेको देखिन्छ । हाम्रो देश ‘मास टुरिस्ट’को गन्तव्य हुनका लागि भने नेपाल सरकारले तत्काल अन्तर्राष्ट्रिय हवाई उडान थप्न तथा अन्तर्राष्ट्रिय हवाई उडानको व्यवस्थापन गर्न जरुरी छ ।
अन्तर्राष्ट्रिय हवाई उडान थप्न सके अहिले नै साढे १७ लाखदेखि १८ लाखसम्म विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आउन सक्ने देखिन्छ । तर, हाम्रो देशमा तत्काल त्यो सम्भावना देखिँदैन । जे भए तापनि सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको ‘कोभिड-१९’ विश्वव्यापी रूपमा महामारीको अत्यन्तै नराम्रो असर पर्यटनमा परेको थियो ।
त्यसैको परिणाम स्वरूप सन् २०२० र सन २०२१ विश्वभरि धेरै कम सङ्ख्यामा मात्रै पर्यटकहरू भ्रमणमा निस्किएका थिए । तर सन् २०२२ मा भने विश्व पर्यटनले गति लिन थाल्यो । यसरी सन् २०१९ को डिसेम्बर अन्तिममा चीनबाट सुरु भएको ‘कोभिड-१९’ ले विश्वभरिका मानिसहरूले एक-अर्को देशमा आफूले चाहे यात्रा गर्न पाएनन् ।
फलतः सन् २०२०, सन् २०२१ र सन् २०२२ मा विश्वव्यापी पर्यटन उद्योगले ठुलो क्षति व्यहोर्नु पर्यो । नेपाली पर्यटन क्षेत्रमा त्यसले पारेको प्रभाव कल्पनातीत रह्यो । त्यसैले नेपाली पर्यटनले पनि ठुलो परिमाणमा क्षति व्यहोर्नु पर्यो, तीन वर्षे कोरोना महामारी कालमा ।
सन् २०१९ को डिसेम्बर अन्तिमताका ‘कोभिड-१९’ महामारीका रूपमा फैलन सुरु भएपछि, त्यसले विश्व अर्थतन्त्रलाई नै ‘डाँवाडोल स्थिति’मा पुर्याएको थियो । जुन कुरो विश्वका कुनै पनि सरकार प्रमुख, राज्य प्रमुख र भाइरल रोग विज्ञहरूले त्यो स्तरमा आर्थिक सङ्कट आउने र विश्वभरि सन्नाटा छाउने स्थिति निर्माण हुने सायदै सोचेका थिए होलान् ?
त्यो वेला के सम्म भयो भने, कोभिड-१९ फैलन सुरु भएपछि विश्वको समग्र अर्थतन्त्र र अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको पर्यटन उद्योगमा ८८/९० प्रतिशतदेखि ९४/९६ प्रतिशत सम्म ह्रास आएको अवस्थामा पुगेको थियो ।
यसरी कोभिड-१९ ले बिस्तारै बिस्तारै विश्वव्यापी महामारीको रूप लिएपछि तत्कालै विभिन्न देशका सरकार प्रमुखहरूले एक देशबाट अर्को देशमा जाने यात्रुहरूलाई हवाईजहाज, रेल, बस, कार, जिप आदिको यात्रामा प्रतिबन्ध लगाउन थाले । जसले गर्दा हवाई यातायात, रेल, बस, कार, जिप व्यवसायी र होटल व्यवसायीहरूले नराम्रोसँग मार खानु पर्यो । हेर्दा हेर्दै विश्व नै एक किसिमले सुनसान शमशान-मसान घाट बन्न पुग्यो ।
त्यो वेलाका केही देशका उग्र राष्ट्रवादी नेता तथा सरकार प्रमुखहरूले भने ‘नोभेल कोरोनाभाइरस’ (पछि कोभिड-१९ नाम दिइएको) लाई ‘यो केही पनि होइन, सामान्य भाईरस हो यो चाँडै हट्छ’ भनी ‘अन्डरस्टमेट’ गरिरहेका थिए, खिल्ली उडाई रहेका थिए ।
कोरोना भाइरस तत्काल हटेर जानुको सट्टा झनै फैलँदै गएर विश्वव्यापी रूपमा महामारीको रूप लिएको थियो । कोरोना महामारीका सम्बन्धमा तथ्याङ्क हेर्दा लगभग ७० लाख १० हजार ७६६ जनाले कोभिडकै कारण जीवन गुमाएको देखिन्छ । त्यस्तै ७० करोड ४७ लाख ५३ हजार भन्दा मानिसहरू कोरोना महामारीको प्रकोपमा परेका थिए ।
सन् २०१९ को डिसेम्बर अन्तिममा सुरु भएको कोरोना महामारीले विश्वव्यापी रूपमा फैलिएपछि, त्यसले विश्व पर्यटन क्षेत्रमा खरबौँ डलरको क्षति भयो भने, मूल्य तोक्नै नसकिने मानव पुँजीको पनि ठुलो क्षति हुन पुग्यो ।
त्यति मात्रै होइन, त्यो वेला विश्वभरि एक किसिमको मुद्रा शान्तिको स्थिति पैदा भएको थियो । फलतः विश्व पर्यटन जगतमा सोच्दै नसोचेको स्तरमा ‘डाउन-फल’ भयो । त्यसो भए तापनि सन् २०२२-०२३ देखि चाहिँ विश्व पर्यटन क्षेत्रमा ‘अप-राईज’ सुरु भएको हो ।
सन् २०२३ मा ९१५ मिलियन पर्यटकहरू विश्व भ्रमण गर्न निक्ले । त्यस्तै गरेर सन् २०२२ चाहिँ ९ सय मिलियन अर्थात् ९० करोड पर्यटकहरू विश्व भ्रमण गर्न निक्लेका थिए । त्यस अघि सन् २०२१ मा केवल ६६७ दशमलव ७३ मिलियन पर्यटकले विश्व भ्रमण गरेका थिए ।
अझ सन् २०२० मा ४१५ मिलियन पर्यटकले मात्रै विश्व भ्रमण गरेका थिए । त्यसरी तथ्याङ्क हेर्दा सन् २०१९ मा चाहिँ १ दशमलव ५ बिलियन अर्थात् १ अर्ब ५ करोड पर्यटकहरू विश्व भ्रमण गर्न निक्लेका थिए । यो सङ्ख्या नै हालसम्म विश्व भ्रमण गर्न निक्लेका पर्यटकको अहिलेसम्मको धेरै सङ्ख्या हो ।