धरान : दशैं, तिहारको समयको कोशी प्रदेशमा कुल ८ हजार १३३ जनाको सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
चाडपर्वको बेला शान्ति सुरक्षा सहित दुर्घटना लगायतका अप्रिय घट्नामा सुरक्षित वातावरण कायम गर्न मद्दतका लागि प्रहरी जनशक्ति परिचालन गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
चाडपर्वमा सार्वजनिक सवारीका यात्रुको सुविधा र सुरक्षाप्रति सजग रही आइपर्ने समस्यालाई तत्काल सम्बोधन गर्न प्रदेशका १४ वटै जिल्लामा रहेका बसपार्क, बस स्टेण्ड, मुख्य राजमार्ग तथा सहायक मार्गका ७२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
सीमानाकाहरुमा पटकाजन्य विस्फोटक पदार्थ भित्रिन नदिन मुख्य नाका तथा शङ्कास्पद इलाकाहरूमा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले कडाइका साथ चेकजाँच गर्ने व्यवस्था गरिएको छ ।
भिडभाड हुने स्थान, चोक बजारहरूमा सिसिटिभीबाट निगरानी तथा आवश्यकता अनुसार ड्रोन क्यामेरा समेत परिचालन गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
बैङ्क तथा वित्तीय संस्था, सुनचाँदी कारोबार हुने एवं आर्थिक कारोबार हुने स्थानमा हुन सक्ने चोरी, लुटपाट, ठगी तथा अन्य आर्थिक अपराध नियन्त्रणमा विशेष निगरानी गरिएको छ ।
आपराधिक गतिविधि, झैझगडा, दुर्घटना तथा अन्य आकस्मिक घटनामा तत्काल प्रहरी उद्धार सेवा, सुरक्षा संवेदनशील क्षेत्र तथा सम्भावित जोखिमयुक्त स्थानमा शान्ति सुरक्षा कायम गर्न स्ट्राइकिङ सेवा परिचालन गरिने छ ।
सीमानाकामा चोरी–तस्करी नियन्त्रण गर्न चेकजाँच तथा निगरानीका साथै शान्ति सुरक्षा कायम राख्न, चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न मोबाइल गस्ती परिचालन गरिएको छ ।
धार्मिक, पर्यटकीय स्थलको सुरक्षा, दर्शनार्थी, पर्यटकको सुरक्षित आवागमन र भीडमा चोरी, अन्य आपराधिक गतिविधि नियन्त्रण गर्ने व्यवस्था गरिएको छ । सरकारी कार्यालय, महत्त्वपूर्ण प्रतिष्ठानको सार्वजनिक सम्पत्तिको संरक्षण, सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्ने व्यवस्था गरिएको छ ।
लामो दुरीका यात्रुहरूलाई यात्रु सहायता कक्षबाट आवश्यक सहयोग, सहजीकरण तथा सुरक्षा, गुनासो सुनुवाइ गर्न र ठगी तथा अन्य समस्याबाट जोगाउन प्रहरी परिचालन गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियम पालना, मापसे नियन्त्रण तथा अवैध गतिविधि रोकथाम गर्न ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङ सुरु गरिएको छ ।









































































