इटहरी : नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा कोशी प्रदेशले बलियो उपस्थिति देखाएको छ । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा सर्वसम्मत चयन भए भने महामन्त्रीमा डिला सङ्ग्रौला विजयी भइन् । शर्माकै लागि तयार पारिएको वरिष्ठ उपसभापतिमा उनी बाहेक कसैले मनोनयन दर्ता नगराएपछि सर्वसम्मत घोषणा गरिएको हो ।
महिला तर्फको महामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना)लाई पराजित गर्दै डिलाले पहिलो महिला महामन्त्री बन्ने इतिहास बनाइन् । खुल्ला महामन्त्रीमा कोशी प्रदेशको मोरङबाटै गुरुराज घिमिरे र सुनिल शर्माले उम्मेदवारी दिएपनि दुवै जना पराजित भए । दुई पदमा ८ जनाको प्रतिस्पर्धा हुँदा शर्मा तेस्रो र घिमिरे पाँचौँ भए ।
महामन्त्रीमा बहाल रहेका घिमिरे सोही पदमा दोहोर्याउन खोजे पनि प्रतिनिधिले प्रदीप पौडेल र उदय शमशेर राणालाई छनौट गरे । घिमिरेलाई रोक्न लागिपरेका शर्मा भने उनको पराजयले सफल देखिएका छन् । झिनो मतान्तरले पराजित भएका शर्मा नै महामन्त्री बन्ने भन्दा पनि रोक्ने अभियानमा रहेको काँग्रेस वृत्तमा चर्चा छ । मोरङबाटै प्रतिनिधित्व गर्ने शर्मा, सङ्ग्रौला र घिमिरे मध्ये सङ्ग्रौला मात्र विजयी भइन् ।
यसअघि नेपाली काँग्रेसमा मोरङले सधैँ प्रभावशाली उपस्थिति देखाउने गरेको थियो । १४ औँ महाधिवेशनमा प्रदेश सभापतिमा घिमिरे पराजित बनेका थिए भने केन्द्रीय सभापतिमा डाक्टर शेखर कोइराला र महामन्त्रीमा डाक्टर मिनेन्द्र रिजाल पराजित भए ।
अर्कातर्फ सहमहामन्त्रीमा कोशी प्रदेशको ओखलढुङ्गाका रामहरि खतिवडा विजय नजिक पुगेका छन् । कोशी बाटै प्रतिस्पर्धा गरेका प्रभावशाली नेताहरू राजीव ढुङ्गाना र अमृत अर्याल भने निक्कै पछाडि परेका छन् । कोशी प्रदेशमा सभापति गगन थापाको निकट मानिएका अर्याललाई प्रतिनिधिले भने पत्याएनन् । यसअघि कोशी प्रदेश संसदीय दलको नेतामा समेत अर्यालले जम्मा २ मत पाएर पराजित भएका थिए ।
समावेशी उपसभापतिमा उम्मेदवारी दिएकी सिता गुरुङ पराजित भएकी छन् । तेह्रथुमबाट २०७९ को प्रतिनिधिसभा निर्वाचनमा विजयी गुरुङ उपसभापतिमा भारी मतान्तरले पराजित भइन् । समावेशी उपसभापतिमा विनोद चौधरी विजयी भएका छन् ।
कोशी प्रदेशमा वरिष्ठ उपसभापति बलियो देखिएको बेला अन्य प्रभावशाली नेताहरू भने छुटेका छन् । सभापति गगन थापाले सबैलाई समेटेर लैजाने प्रतिबद्धता जनाए पनि धेरै प्रभावशाली नेताहरू कोही अधिवेशनमा पराजित भए भने केहीले निर्वाचनमा भाग नै लिएनन्।उपसभापतिमा मनोनयन दर्ता गराए पनि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिए । ज्ञानेन्द्र बहादुर कार्की समेत उपसभापतिमा आकाङ्क्षा राखिरहेका थिए ज्ञानेन्द्र बहादुर कार्कीले सभापति थापाकै आग्रहमा उम्मेदवारी दिएनन् ।
शेरबहादुर देउवा निकट रहेर काम गरेका मीन विश्वकर्मा सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारीमा थिए । उनलाई समेत थापाले उचित स्थान दिने बताएपछि उम्मेदवारी नदिएको बताइएको छ । त्यस्तै पूर्व सहमहामन्त्री तथा काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले समेत उम्मेदवारी दिएनन् । उपसभापतिमा भिड्ने तयारीमा रहेका उनी संसदीय मोर्चा सम्हाल्ने भन्दै पछि हटेका थिए ।









































































