पृष्ठभूमिः

कोभिड-19 को महामारीले सिङ्गै विश्व आक्रान्त छ । चीनको बुहान सहरबाट सन २०१९ डिसेम्बरमा पहिलोपटक देखा परेको कोरोना भाइरसले हालसम्मको यो ५ महिनाको अबधिमा संसारभरीका २१५ देश तथा क्षेत्रहरुका ५६ लाखभन्दा बढी मानिसलाई संक्रमित गरेको र त्यसबाट ३ लाख ५० हजारभन्दा बढीले ज्यान गुमाई सकेको भयावह अवस्था छ । नेपालमा पनि यो भाइरसको असर दिनानुदिन बढीरहेको छ ।

गत २०७६ चैत्र ११ गते थालिएको लकडाउन यद्यपि सही समयमा नेपाल सरकारले सुरु गरेर यसको संक्रमणबाट नेपालीहरुलाई जोगाउने भरमग्दुर प्रयत्न गर्दा गर्दै पनि जनस्तरबाट भएका असावधानी र दक्षिण तर्फको खुल्ला बोर्डरका कारणले नेपालमा संक्रमितको संख्या ७७२ पुगिसकेको छ ।

भारतमा औसत दैनिक ४ हजारका दरले नयाँ संक्रमित थपिंदै छन् । तमाम नेपाली जो भारतमा काम गर्न जान्छन् उनीहरु घर फर्किने कोशिष गरिरहेका छन् । कति त लुकीछिपि नेपाल प्रवेश पनि गरिसकेका छन् भने कति अझै सीमा पारी नेपालपस्ने प्रतीक्षामा छन् ।

सामाजिक दुरी कडाईका साथ कायम गर्न सकेमा¸ कोरोना एक व्यक्तिबाट अर्कोमा सर्ने संभावना एकदमै न्यून हुन्छ । इटाली¸ फ्रान्स¸ अमेरिका र बेलायत जस्ता देशले समय मै सामाजिक दुरीको पालना नगरेकाले त्यहाँ कोरोनाको व्यापक असर परेको हामीलाई पाठको रुपमा ज्ञान प्राप्त भएको छ । त्यसैले लक डाउन सामाजिक दुरी कायम गर्न र संक्रमणबाट जोगिन अचुक उपाय हो भनेर विश्व स्वास्थ्य संगठनले समेत सिफारिस गरेको छ ।
विश्व स्वास्थ्य संगठनले काठमाण्डु लगायत नेपाललाई रेड जोनमा राखेको छ । अर्थात कोरोनाको उच्च जोखिम क्षेत्र भनेर सचेत गराएको छ । अहिले नेपालमा हामीले आफ्नो ज्यानको सुरक्षा आफ्नै चेतनाले गर्ने बेला आएको छ । जसका लागि सचेतनाका केही यस्ता टिप्सहरु पालना गर्नु जरुरी हुन्छः

- समाजिक दुरीको पालना गर्ने
- बिना काम घरबाट बाहिर ननिस्किने
- हात पटक पटक साबुन लाएर २० सेकेण्डसम्म मिचेर धुने
- मास्क अनिवार्य लगाउने/ पञ्जा लगाउने
- कुनैपनि सामान छोइयो भने स्यानिटाइजरको प्रयोग गर्ने वा हात धुने
- मादक पदार्थ/ धूमपान/ सुर्तीजन्य बस्तु सेवन नगर्ने
- शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउने खानेकुरा खाने
- क्याल्सियम युक्त खाना र भिटामिन बी¸ सी¸ र डी खाने
- यात्रा भेटघाट जमघट तथा उत्सवहरु अस्वीकार गर्ने
- पैसाको लेनदेन नगदमा भरसक नगर्ने - विद्युतीय माध्यम प्रयोग गर्ने
- हात नमिलाउने/ अङ्कमाल नगर्ने
- सार्वजनिक सवारी साधनको प्रयोग नगर्ने
- ज्वरो आयो रुघा लाग्यो टाउको दुख्यो भने स्वास्थ्य संस्थाको सल्लाह बमोजिम गर्ने¸ आदि ।

लगातारको लक डाउनः
सरकारले २०७६ चैत्र ११ देखि पटक पटक समय बढाउँदै लकडाउन गर्दै आई रहेको छ । यस्तो बन्दाबन्दीको ६३ औं दिन आइपुग्दा कोरोनाको समस्या कम हुनुको सट्टा अझै बढ्दो अवस्थामा छ । यसको अर्थ हो संक्रमण बढ्ने समय अझै धेरै बाँकी छ नेपालमा । त्यसोभए यो बन्दाबन्दी अझै कतिदिन होला त ? सबैको मनमा एउटा जिज्ञासा छ । कहिलेसम्ममा औषधी पत्ता लाग्ला त कोरोनाको ? के त्यति बेलासम्म यस्तै बन्दाबन्दी लकडाउन खेपिरहनुपर्ने हो त ? त्यसको उत्तर शायद कसैसंग छैन ।

शक्तिशाली भनिएका मुलुक पनि कोरोनाको कठघरामा निरीह सावित भइरहेका छन् भने हाम्रो मुलुकको के कुरा भयो र ? लकडाउनले सबैभन्दा ठूलो मार श्रमजीवी वर्गमा परेको छ । दैनिक ज्यालादारीमा काम गर्नेदेखि सबै मजदुर तथा श्रमिकहरु यसको चपेटामा परेका छन् । निम्न मध्यमवर्ग र मध्यमवर्ग क्रमशः चपेटाको दोस्रो पिसाईमा छन् ।

साना उद्योगी तथा व्यापारी त्यसपछिको मारपर्ने वर्ग हुन् । ठूला उद्योग कारखाना तथा व्यापारहरुका पनि आफ्नै खाले समस्या छन् जो यस लकडाउनबाट पीडित बनेका छन् ।

सुनसरी उद्योग वाणिज्य संघ धरान¸ यस क्षेत्रका उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व गर्ने साझा संस्था हो । लकडाउनले मारमा परेका उद्योगी तथा व्यवसायीहरुलाई कसरी उनीहरुको धरासायी भएको व्यापार व्यवसायलाई भरथेग गर्न सकिन्छ र श्रमजीवी वर्गको अधिकतम हित हुनेगरी¸ अब हुनसक्ने संभावित लकडाउनको मोडालिटी कसतो हुनुपर्छ भन्नेबारे छलफल गरी एउटा सहज प्रस्ताव तयार गरिएको हो ।

Rajenda-sharman-next

लकडाउनको मोडालिटीः

पहिलो बुझ्नुपर्ने कुरा के हुन्छ भने लकडाउन¸ मानिसको जीवनरक्षाका लागि अपनाइएको उपाय हो । जीवनरक्षाका काम गर्दैगर्दा जीवन धान्न नै कठीन हुनेगरी कुनै पनि उपाय मानिसले थेग्न सक्तैन । तसर्थ निम्न केही आधारहरु तयार गरेर लक डाउनलाई सहज बनाउने तर्फ लाग्दै जानुपर्छ ।

१. क्षेत्रगत अवधारणाः कोरोनाको प्रभाव/ जोखिम धरानका सबै स्थानमा एकै प्रकारका छैनन् । तसर्थ ठाउँ वा वडा वा क्षेत्र छुट्याएर त्यस क्षेत्रको वस्तुगत अवस्थाका आधारमा जोन छुट्याएर व्यवहार गरिनु उपयुक्त हुन्छ । धरानको हकमा क्षेत्र वर्गीकरण गर्दा कालो/ रातो/ पँहेलो/ हरियो क्षेत्र छुट्याइनु पर्छ ।
कालो क्षेत्रः कोरोनाबाट मृत्यु भएको वडा .... छैन
रातो क्षेत्रः कोरोना संक्रमितहरु रहेको वा उच्च जोखिम भएको वडा .... BPKIHS प्रवेश गर्ने सडकसंग जोडिएका
धरान प्रवेश गर्ने दक्षिण र पश्चिमका सडकसंग जोडिएका वडा
पँहेलो क्षेत्रः संभावित संक्रमणको जोखिम मध्यम रहेको वडा .... BPKIHS जाने सडकसंग जोडिएका
धरान प्रवेश गर्ने पूर्व र उत्तरका सडकसंग जोडिएका वडा
हरियो क्षेत्रः संक्रमणको जोखिम कम भएको वडा .... कालो¸ रातो र पँहेलो बाहेक अरु वडा

२. उमेरगत अवधारणाः कोभिड-19 बाट मृत्युहुने संसारका अरु देशका मानिसको उमेरबाट के पत्ता लागेको छ भने यो भाइरसबाट ७० वर्ष भन्दा माथिका मानिसहरु बढी प्रभावित हुने रहेछन् । त्यसैले उमेरलाई ३ समूहमा विभाजन गरेर लक डाउनको सहजता उमेर अनुसार प्रयोग गर्न पाउने व्यवस्था गरिनु पर्छ ।
७० वर्ष माथिका सबैलाई लक डाउन
१३ वर्ष मुनिका बालबालिकालाई लक डाउन
१४ देखि ६९ वर्षसम्मकालाई श्रम/ काम गर्ने अनुमति सहितको सहजता प्रदान

३. रोगी वा बिरामी सम्बन्धी अवधारणाः कोभिडले पुराना रोगीहरुलाई उनीहरुको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले बढी असर गर्छ र ज्यान जाने जोखिम हुन्छ । त्यसैले निम्न रोग भएकाहरुलाई लक डाउन मै राख्नु उपयुक्त हुन्छः
मुटुरोगी¸ मृगौलारोगी¸ स्वासप्रस्वासका बिरामी¸ दमका बिरामी¸ बाथका बिरामी¸ चिनीरोगका बिरामी¸ क्यान्सरका बिरामी¸ प्रसूती अवस्थाका महिला तथा अन्य दीर्घरोगी

४. आर्थिक गतिविधि अवधारणाः लक डाउनले रोजीरोटी मात्र होइन अर्थतन्त्र पनि स्थिरबाट अवन्नति तर्फ ओह्रालो लाग्दै छ । यसमा थोरै भएपनि गति दिनका लागि निम्मानुसारका आर्थिक कृयाकलापलाई धरानको ४ किल्ला भित्र सञ्चालन गर्न अनुमति दिनुपर्ने देखिन्छ :-
क. ३ जनाभन्दा कम कामदार भएका पसल सबै
ख. १० जनाभन्दा कम कामदार भएका निर्माण तथा मिल/ उद्योग सबै
ग. वित्तीय संस्थाहरु सबै
घ. स्थानीय साना तथा हल्का सवारी साधन नियन्त्रित संख्यामा पास दिएर र यात्रुसंख्या तोकेर
ङ. मोटर साइकल जोर बिजोरमा एक यात्री मात्र

५. अस्थायी चेक पोष्ट तथा ढाटको स्थापना र प्रवेशमा कडाईः
धरान प्रवेश गर्ने सबै नाकाहरुमा चेक पोष्ट तथा ढाटहरुको व्यवस्था गरिनुपर्छ । प्रत्येक चेकपोष्टमा आउने तथा जाने सवारी साधन तथा यात्रा गर्ने व्यक्तिको लगत अनिवार्य राख्ने व्यवस्था गर्नुपर्छ । अत्यावश्यक सेवा तथा पास बाहेकलाई प्रवेश निषेध गरिनुपर्छ । ढाटमा प्रवेश गर्नेको थर्मल स्क्यानको प्रबन्ध गर्नुपर्छ ।
चेक पोष्टहरुः
पूर्वतर्फ - चोक्टी पानबारी
पश्चिमतर्फ - सर्दूको पुल
उत्तरतर्फ - बेस क्याम्प
दक्षिणतर्फ - सेउती पुल
पाञ्चायन मार्ग - हरियाली पार्क

६. स्वास्थ्यसेवी चिकीत्सकसंग परामर्शः
धरानमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना उपचार केन्द्रका रुपमा सरकारले घोषणा गरेकाले त्यस रोगको उपचारमा संलग्न विशेषज्ञ चिकीत्सकको सल्लाह र सुझाव लक डाउनलाई सहज बनाउने कामका लागि पनि अति नै महत्वपूर्ण हुने भएकाले चिकीत्सकको सल्लाह परामर्श पछि मात्र लक डाउन सहज बनाउने कदम अघि बढाउनु पर्दछ ।

७. सुरक्षाका सबै उपायहरुको अवलम्बनः
पूर्व सावधानीका लागि लक डाउन सहज गर्ने भनिएका सबै क्षेत्रः पसल¸ उद्योग¸ व्यापार¸ यातायातका साधन¸ कार्यालय¸ निर्माण स्थल एवम् चेक पोष्टमा समेत सुरक्षा सम्बन्धी सबै पूर्वाधारहरु अनिवार्य पूरा गराएर मात्र लक डाउनलाई सहज बनाइनु उपयुक्त हुन्छ ।

८. धरान बजारमा पर्याप्त मास्क¸ पञ्जा¸ स्यानिटाइजर र आवश्यक स्थानमा पिपिइ समेतको उपलब्धताको प्रत्याभूति हुनु जरुरी छ ।

९. अनुगमन तथा नियन्त्रण समितिको व्यवस्थाः
सरकारले घोषणा गरेको लक डाउन पालना भए नभएको हेर्ने निकाय जिल्ला प्रशासन कार्यालय हो । सो कार्यालयसंग समन्वय गरेर परीक्षणका रुपमा धरानले यसतो लक डारउन सहजता अवलम्बन गर्नु पर्दछ । उक्त कुराको निगरानी गर्ने एक शक्तिशाली अनुगमन तथा नियन्त्रण समिति जसले लक डाउनको सहज परिधिको उलंघन गर्दछ त्यसलाई तत्काल जरिवाना/ सजाएँ समेत गर्नसक्ने हैसियतको अनुगमन तथा नियन्त्रण समिति निर्माण गर्नु पर्दछ । उपर्युक्त समितिमा निम्म प्रतिनिधि रहनु उपयुक्त हुन्छः-
क) धरान उपमहानगरपालिकाका प्रमुख / उप प्रमुख --- २
ख) जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि --- १
ग) सुरक्षा निकायका प्रतिनिधि - जनपद /सशस्त्र --- २
घ) सुनसरी उ.वा.संघका अध्यक्ष १/ पदाधिकारी १ --- २
ङ) पत्रकार महासंघ प्रतिनिधि --- १
च) नेपाल बार एशोसिएसन सुनसरी प्रतिनिधि --- १
छ) चिकीत्सक --- १
ज) नागरिक समाज प्रतिनिधि --- १
झ) मजदुर संगठन प्रतिनिधि --- २
ञ) समाजसेवी महिला प्रतिनिधि --- १
ट) राजनीतिक दलका प्रतिनिधि --- ३

१०. बजार सहज बनाउने समयः
बजारमा २ प्रकारका बस्तुहरु क्रय विक्रय हुन्छन् - नाशवान प्रकृतिका र टिकाउ । नाशवान प्रकृतिका सामानहरुका लागि बिहान ५ बजेदेखि ८ बजेसम्मको समय उपयुक्त हुन्छ भने टिकाउ प्रकृतिका सामानको बिक्री वितरणका लागि दिउँसो ११ बजेदेखि ४ बजेसम्मको समय उपयुक्त हुन्छ । होटल¸ रेष्टोरेण्ट¸ बार तथा अन्य भीडभाड जम्मा हुने प्रकृतिका व्यवसायका सम्बन्धमा अहिले नै हतार गरेर खोल्नु जोखिमपूर्ण हुने भएकाले उपयुक्त समयको प्रतीक्षा गरिदिन ती व्यवसायका व्यवसायी तथा त्यस्ता व्यवसायमा कामगर्ने मजदूरहरुसंग विनम्रतापूर्वक अनुरोध गरौं । 

११ . सरोकारवाला निकायहरुः
नेपालको संघीय सरकार
प्रदेश १ सरकार
धरान उपमहानगरपालिका
जिल्ला प्रशासन कार्यालय सुनसरी
इलाका प्रहरी कार्यालय धरान
सशस्त्र प्रहरी गण धरान
सैनिक ब्यारेक फुस्रे
नेपाल उ.वा.महासंघ काठमाण्डौ
यो केवल प्रस्ताव हो, छलफलका लागि । आर्थिक गतिविधिले गति लिनु जरूरी छ । सहजता आवश्यक छ ।

(सुनसरी उ वा संघमा भएको छलफलबाट प्रस्तावित)