धरान : कोभिड–१९ को त्रासमा बस्नुभन्दा अवसर खोजिनु पर्ने धरानका पर्यटन व्यवसायीहरूले बताएका छन् ।

सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबार सुनसरी उद्योग वाणिज्य संघकोे सभा हलमा आयोजित धरानको पर्यटन प्रवर्द्धनको सम्बन्धमा होटेल व्यवसायीहरुसंग छलफल कार्यक्रममा सो कुरा बताइएको हो ।

कार्यक्रममा धरानका पर्यटन व्यवसायी वासुदेव बरालले “ कोभिड–१९ को त्रासमा बस्नुभन्दा अब अवसर खोज्नुपर्ने भएको छ, त्यसको लागि धरान उपमहानगरपालिकाले व्यवसायीहरूको आत्मविश्वास बढाउने कार्यहरू गर्नुपर्दछ भने ।” बरालले “पहिले उपमहानगरपालिकालाई राहत उपलब्ध गराएको थियो, अब हामी व्यवसायीलाई अनुदान उपलब्ध गराउनु पर्दछ, त्यसको लागि ५० प्रतिशत घर भाडा छुट दिनलाई घरवालालाई त्यो रकम बराबर बहाल कर छुट दिनुपर्दछ ।

त्यसै गरी धरान डोभ होटलका सञ्चालक विशाल राईले धरान उपमहानगरपालिकाले दन्तकाली, बुढासुब्बा र पिण्डेश्वर मात्र होइन, अरू पर्यटकीय स्थलहरू समेत प्रवर्द्धन गर्नुपर्ने बताए । राईले दन्तकाली, बुढासुब्बा र पिण्डेश्वर बाहेक विष्णुपादुका लुकेको अवस्थामा छ यसको पनि प्रवर्द्धन गर्नुपर्दछ भने ।

सुनसरी उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य विष्णु बरालका अनुसार कार्यक्रममा होटेल एसोसिएसन अफ धरानका अध्यक्ष सरोज भट्टराई, होटेल गजुरका रञ्जना झा, एक्स्ट्रीम धरानका रामप्रसाद राई, होटेल सन्ध्या ईनका प्रोप्राइटर रविन गौतम, धरान उपमहानगरपालिकाका पर्यटन समितिका संयोजक किशोर थुलुङले आ–आफ्नो धारणा राखेका थिए भने सुनसरी उद्योग वाणिज्य सङ्घका सल्लाहका कृष्ण शाहले समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।

सो कार्यक्रममा धरान उपमहानगरपालिकाका नगरप्रमुख तिलक राईले धरानको बजारलाई महँगो भन्ने भ्रामक कुरालाई व्यवसायीले चिर्नुपर्ने बताए । राईले “हाम्रो सहर महँगो छ भन्ने सुनिन्छ, त्यसो हुँदा पर्यटन प्रवर्द्धन हुन सक्दैन, व्यवसायीहरूले त्यस तर्फ पनि ध्यान दिनुका साथै बोली, व्यवहार र वातावरण पनि पर्यटन मैत्री हुनुपर्छ ।” त्यसै गरी मेयर राईले “कोभिड–१९ को सम्बन्धमा पर्यटन व्यवसायीहरूको माग के कति बजेटमा समेट्न सकिन्छ, त्यस सम्बन्धमा सुनसरी उद्योग वाणिज्य सङ्घको पहलमा पुनः छलफल गरिने बताए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारीले कोभिडको त्रास सँगै व्यवसायीले जीवन जिउने कला सिक्नुपर्ने बताइन् । भण्डारीले “अब व्यवसायीले कोरोनाको त्रासमा व्यवसायी बाच्नु भन्दा जीवन जिउने कला सिक्नु पर्दछ । व्यवसायी इमानदार र लचिलो भए भने धरानको व्यवसाय सहज बनाउन उपमहानगरपालिकाले कार्यविधि बनाउने छ ।

कार्यक्रम सङ्घका महासचिव राजेश अग्रवालले सञ्चालन गरेका थिए भने सुनसरी उद्योग वाणिज्य सङ्घको पर्यटन समितिका संयोजक एलिना मगरले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले धरानले अन्य स्थानको समेत प्रवर्द्धन गर्नुपर्ने बताए । सापकोटाले “पर्यटकका आकर्षणका लागि भएका मन्दिर भन्दा अन्यत्र, जस्तै शुलिकोट, साँगुरी गढीलाई ऐतिहासिक स्थलको रूपमा परिचित गर्नुपर्ने तथा पञ्चकन्या मन्दिरको जङ्गललाई मिनी जुको रूपमा विकास गर्नुपर्ने बताए । त्यसै गरी सापकोटाले “विष्णुपादुकामा केवलकार र औद्योगिक ग्राम स्थापनाको लागि समेत सुनसरी उद्योग वाणिज्य सङ्घले आवश्यक पहल गरिरहेको बताए ।

कार्यक्रममा करिब ५० जना होटेल व्यवसायीहरू, धरान उपमहानगरपालिकाका पर्यटन समितिका संयोजक किशोर थुलुङको पनि उपस्थिति रहेको थियो ।

Ubasangh-2