इटहरी : झट्ट भनिहाल्दा गएको २०८० मा स्थानिय सरकार इटहरी उपमहानगरपालिकाले ‘केही गरेन’ भनिहाल्ने ठाउँ राखेन ।
सार्वजनिक शौचालय, अस्पताल सुधार, विद्यालय खाजा, घर नक्सा निःशुल्क, एउटै स्कुल ड्रेस, संस्थागत विद्यालयको नयाँ वर्गीकरण र शुल्क निर्धारण, पूर्वाधार विकासका केही नयाँ कामको सुरुआत औँलामा गन्न सकिने भएपनि दीर्घकालीन महत्वका रहे ।
यसलाई स्थानिय सरकारले नगरवासीमा आशा जगाएको वर्ष २०८० को कार्यसूचीमा राख्दा उपमहानगरपालिकाले नयाँ कामको सुरुवात गरेको मान्न सकिन्छ । इटहरीमा गर्नु पर्ने अझै बाँकी धेरै काम छन् ।
निर्वाचित भएको पहिलो वर्ष खासै कामको मेलो अगाडी बढ्न सकेको थिएन । इटहरीवासीमा उत्साह छाएन । हिजो मात्र गएको २०८० सालमा भने उपमहानगरपालिकाले देखाएको अग्रसरताले नगर बासीमा नयाँ आशा पलाएको छ ।
उपमहानगरले वर्षको अन्तिम महिनाबाट टेङ्ग्रा खोला सफाइ अभियान सुरु गर्यो । धेरैले खोला पैनी सफाइ होला र ? भन्दै अविश्वास गरेका थिए ।
अघिल्ला स्थानिय सरकारको तुलनामा नयाँ कामको आशामा इटहरीवासी थिए । उपमहानगरपालिकाले थालेको कार्यले पहिलेको तुलतामा अबको सूचकाङ्क माथि पुग्ने बदलावको सङ्केत नगरवासीले पाएका छन् ।
वर्षको सुरुवातमा कर वृद्धिको तीव्र विरोध भयो । तर कर समायोजन गरेपछि भने विवाद मत्थर भयो ।
सार्वजनिक शौचालय,अस्पताल सुधार, विद्यालय खाजा कार्यक्रम, निःशुल्क घर नक्सा, विद्यालयमा एउटै पोसाक, निजी विद्यालयको नयाँ वर्गीकरण र शुल्क निर्धारण, पूर्वाधार विकासका केही नयाँ काम यही वर्ष सुरु भए ।
मेयर उपमेयर, मेयर वडाध्यक्ष बिचको राजनीतिक कलह, आरोप प्रत्यारोप र आन्तरिक द्वन्द्वका बिच उपमहानगरपालिकाले सुरु गरेका कामको राम्रै चर्चा भयो । राजनीतिक उतारचढाव, एकले अर्कालाई असहयोग गरेको आरोपका बिच उपमहानगरपालिकाको गतिविधिले तीव्रता पाएको यो वर्ष सम्झन लायक रह्यो ।
यस हिसाबले भन्दा २०८० साल इटहरी उपमहानगरपालिकाको नयाँ कामको थालनीको वर्ष रह्यो भन्दा खासै अत्युक्ति नहोला ।
टेङ्ग्रा कोरिडोर
टेङ्ग्रा खोला सफाइ गर्न डोजर चल्यो । खोलाको क्षेत्राधिकार भित्र बनाइएका अवैध संरचना भत्काउन थालिएको छ ।
छानबिन समितिले ७४ वटा घर भत्काउनुपर्ने प्रतिवेदन दिएको थियो । प्रतिवेदनलाई पास गरेको उपमहानगरपालिकाले त्यसलाई कार्यान्वयनमा ल्यायो । शुक्रवार सम्म ७ किलोमिटर खोला सफा भएको छ ।
४ वटा नक्सा पास भएका सहित अन्य १४ वटा पक्की घर भत्काइयो । भत्काउनुपर्ने २७ घर, घरधनीले तत्काल भत्काउने स्वघोषणा गरी सहिछाप गरेका छन् । दुई सय भन्दा बढी टहराहरू भत्किएका छन् । घर भत्काउने क्रम जारी छ ।
उपमहानगरपालिकाले डुबानको समस्या दीर्घकालीन समाधान गर्न टेङ्ग्रा कोरिडोरको अवधारणा अघि सारेको छ । विश्व बैङ्कको सहयोगमा टेङ्ग्रा कोरिडोर निर्माण हुने उपमहानगरले जनाएको छ ।
तालतलैयाको मुहान देखी दक्षिणी सीमा क्षेत्र सम्म करिब ९ किलोमिटर लामो कोरिडोर निर्माण हुनेछ । कोरिडोर बनाउन साइड क्लियरेन्सको काम पनि अहिले हुँदै छ ।
पानी बग्ने खोलाको भागलाई ३५ फिट, त्यसको दायाँ बायाँ २०/२० फिट कोरिडोरका लागि सफा गरिँदै छ ।
खोला सफाइ र साइड क्लियरेन्सको काम सकिएपछि विश्व बैङ्कको प्राविधिक टोलीले कोरिडोर क्षेत्रको निरीक्षण गर्ने प्रशासन महाशाखाका प्रमुख सञ्जीव खड्काले बताए ।
टेङ्ग्रा खोलामा भएको कामले अन्य खोला पैनीमा सफाइको दबाब बढेको छ । डुबान रोक्न सबै खोला पैनी सफा गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
अस्पतालमा सुधार :
घर देखी घाट सम्म सुविधा दिने भन्दै निःशुल्क एम्बुलेन्सको सुविधा निःशुल्क शववहनको सेवा यही वर्षबाट सुरु गरिएको छ ।
इटहरी अस्पतालमा ओपिडी सेवा लिने बिरामीको चाप बढेको छ । एमबिबिएस डाक्टरहरू नियमित बस्न थालेसँगै बिरामीको चाप बढेको हो । अस्पतालमा अहिले दैनिक रूपमा हाड जोर्नी, महिला तथा स्त्री रोग विशेषज्ञ र बाल रोग विशेषज्ञले बिरामीको उपचार गर्ने इटहरी अस्पतालका मे।सु गुन्जन त्रितालले जानकारी दिए ।
परीक्षणका लागि आउने बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएको छ । विशेष गरी रगत, एक्स रे, भिडियो एक्स रे, ई सिजी गर्ने बिरामीहरूको सङ्ख्या बढेको छ । योसँगै नियमित रूपमा सुगर जाँच, भिटामिन डी,थाईराईड टेस्ट गर्न बिरामी अस्पताल पुग्छन् ।
विद्यालय पोसाक एउटै
विद्यालय खाजा कार्यक्रम र एकै किसिमको पोसाकले २०८० मा सर्वाधिक चर्चा पायो । सङ्घीय सरकारले दिने अनुदानमा उपमहानगरले रकम थप गरी कक्षा ६ सम्मकै विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सुरु गर्यो ।
बटुकोमा आधा केरा र स्याउको फोटो देशभर भाइरल भयो । तीव्र विरोध आए पनि अहिले भने व्यवस्थित रहेको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख द्रोण दाहालले बताएका छन् । आगामी शैक्षिक सत्रबाट अझै व्यवस्थित हुने भएको छ ।
शिक्षामा उपमहानगरपालिकाले नयाँ प्रयोग गर्दै सामुदायिक तथा निजी विद्यालयमा एउटै पोसाक लगाउनुपर्ने नियम लागु ग¥यो । यो नियमको चर्को विरोध भयो । अझै भइरहेकै छ । यो विवाद अदालत सम्म पुग्यो ।
प्याब्सनले उपमहानगरका विरुद्ध मुद्दा दायर गर्यो । सर्वोच्चले अन्तरिम आदेश दिनु नपर्ने भने पछि उपमहानगर निर्णय कार्यान्वयन गराउन लागी परेको छ । अदालतको आदेश पछि सबै विद्यालयलाई आगामी शैक्षिक सत्रबाट एउटै पोसाक लगाउन परिपत्र गरिसकेको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।
उपमहानगरपालिकाले निजी विद्यालयको नयाँ वर्गीकरण गर्ने र सोही आधारमा शुल्क निर्धारण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको शिक्षा युवा तथा खेलकुद महाशाखाका तीर्थ गौतमले बताएका छन् ।
अभिभावकबाट माथिल्लो श्रेणीको शुल्क लिए पनि सुविधा भने तल्लो श्रेणी बराबरको दिने गरेको आरोप निजी विद्यालयलाई लाग्ने गरेको छ ।
त्यसलाई वर्गीकरणले निराकरण गर्दै शैक्षिक गुणस्तर सुधारका उपमहानगरपालिकाद्वारा जारी २७ बुँदे सङ्कल्प पत्रले सुधार गर्न सक्छ ।
निःशुल्क घर नक्सा
इटहरीले ०८० सालबाट घर नक्सा बनाउन अनलाइन सिस्टम सुरु ग¥यो । ईविपीएस सिस्टमले घर नक्सा शाखाको भिड स्वाट्टै हटाइदियो । फाइल बोकेर फाँट फाँट धाउनुपर्ने बाध्यता हट्यो ।
१ हजार स्वायर फिट सम्मका घरको नक्सा निःशुल्क बनाइदिन पनि यही वर्षबाट सुरु भयो । गरिब, सीमान्तकृत वर्ग र मध्यम वर्गका लागि आर्थिक बोझ केही कम भयो ।
यो वर्ष केही महत्त्वाकाङ्क्षी योजना सुरु भए । झन्डै दुई दशक अघि निर्माण भएको बसपार्क अस्तव्यस्त भएपछि व्यवस्थित बसपार्क बनाउन सुरु भएको छ ।
९ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँको लागतमा १८ महिना भित्र सम्पन्न गर्ने गरी निर्माण भइरहेको इन्जिनियर जीवन घिमिरेले जानकारी दिए । नगर विकास कोषको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहेको इन्जिनियर घिमिरेले बताए ।
लामो समयदेखि निर्माण गर्ने भनेर चर्चामा रहेको आकाशे पुल र सभा हल निर्माणको ठेक्का लागेको छ । धरान रोड र गोल्डेन चौकमा २ वटा आकाशे पुल निर्माणको ठेक्का लागेको हो ।
आधुनिक सभा हल निर्माणको पनि ठेक्का लागेको इन्जिनियर घिमिरेले बताए । इटहरी ५ स्थित काव्यवाटिको जग्गामा ३ तले सुविधा सम्पन्न, ५ सय मानिस अट्ने सभा हल निर्माणको ठेक्का लागेको उनले जानकारी दिए । अब २०८१ मा यी दुवै महत्त्वाकाङ्क्षी योजना निर्माण सुरु हुनेछ ।
सेवा प्रवाह र प्रशासन सुधार
पालिकाले प्रदान गर्ने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन नीतिगत सुधारको काम थाल्यो । यसका लागि मुख्य रूपमा प्रशासनिक सुधार गरिएको उपमहानगरको दाबी छ ।
कर्मचारीको अनिवार्य पोसाक, इ हाजिरी,समयको व्यवस्थापन, सिस क्यामराको मोनिटरिङ, नागरिक सहायता कक्ष जस्ता आधारभूत पक्षमा सुधार गरिएको प्रशासन महाशाखा प्रमुख सञ्जीव खड्काले जानकारी दिए ।
स्पष्टीकरण सोधेर मौका दिँदा पनि नसुध्रिएका ५ जना कर्मचारीको करार सम्झौता रद्द गरी निष्कासन गरिएको उपमहानगरले जनाएको छ । छड्के चेकजाँच, फाँट सरुवाले पनि कर्मचारीलाई नियममा बस्न बाध्य बनाएको छ ।
यो वर्ष फाँट सरुवाले कर्मचारी वृत्तमा हङ्गामा नै सृजना गरेको थियो । उपमेयर र केही वडा अध्यक्षहरूले विरोध जनाए । तर पछि त्यो विषय आफै सेलाएर गयो ।
नागरिकलाई सहजढंगबाट सेवा दिन नागरिक सहायता कक्ष स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले जानकारी दिए ।
सेवाग्राहीको निवेदन लेखिदिने,नबुझेको कुरा बुझाइदिने, अशक्त भए फाइल सम्बन्धित शाखामा पुराएर काम गरिदिने प्रमुख प्रशासकीय अधिकृत मेहताले बताए ।
उपमहानगरले सहायता कक्षमा निःशुल्क चिया कफी खुवाउने गरेको छ । सेवा लिन आएका सेवाग्राहीले निःशुल्क कालो चिया तथा कफी खान पाउँछन् ।
इटहरी उपमहानगरपालिकाले सिसिटिभी मोनिटरिङ गर्न डिजिटल कक्ष स्थापना गरेको छ । उपमहानगर र सो अन्तर्गतका सबै कार्यालय हरूमा सिसिटिभी क्यामरा जडान सुरु भएको छ ।
डिजिटल प्रविधिको प्रयोगले सेवा प्रवाहको गुणस्तरका थप सुधार हुने तथा सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास लिएको प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले बताए ।