विश्वमा नेपालको चिनारी दिने परिकार हो गुन्द्रुक । तिब्बत, भुटान, सिक्किम, दार्जिलिङमा पनि गुन्द्रुकको प्रचलन भने छ । गुन्द्रुक नेपालको ग्रामीण भेगदेखि तारे होटेलसम्म प्रख्यात छ। यो विदेशीले पनि अत्यन्तै पन पराउने परिकार हो ।

गुन्द्रुकमा ४८ प्रतिशत कार्बोहाइड्रेट, ४९ प्रतिशत प्रोटिन र ३ प्रतिशत चिल्लो पदर्थ हुने गर्छ । यो छोटो समयमै तयार गर्न सकिने स्वादिष्ट परिकार हो:

यस्ता छन् गुन्द्रुकका परिकार :

- सामान्यतया गुन्द्रुकलाई झोलको रूपमा प्रयोग गर्ने प्रचलन छ । तर, यसलाई अरू पनि स्वादिष्ट परिकारको रूपमा तयार पारि सेवन गर्न सकिन्छ।

- तारे होटेलमा गुन्द्रुकको झोलमा भटमास राखेर स्वादिष्ट रूपमा तयार पारिन्छ र यसलाई हिमालय सुपको रूपमा प्रयोग गरिन्छ ।

- मस्यौरा, सिन्की, माछाको ग्रेभी बनाउँदा पनि यो निकै स्वादिष्ट हुन्छ ।

- कागती, टिमुर, नुन, खुर्सानी, भुटेको भटमास, धनीया, भुटेको तोरीको तेल राखी गुन्द्रुकलाई साँधेर पनि खान सकिन्छ । यसरी तयार पारेको परिकारलाई कोदो, फापरको रोटी वा नेवारी मासको बारासँग खाँदा पनि निकै स्वादिष्ट हुन्छ ।

- थकाली थाली सेटमा पनि गुन्द्रुकको अचारलाई अनिवार्य परिकारको रूपमा राखिएको छ ।

मेडिकल फाइदा :

- आँखाको भिजनका लागि गुन्द्रुक अति उपयोगी मानिन्छ । यसले आँखा चिलाउने, दुख्ने, सुख्खा हुने समस्यालाई कम गर्दै लैजान्छ । गुन्द्रुकले आँखामा हुने अल्सरको सम्भावनालाई पनि कम गर्छ ।

- गुन्द्रुक नियमित सेवन गर्दा तौल घटाउनमा मद्दत पुग्छ । यसले क्यान्सरको सम्भावनालाई समेत दूर गर्ने काम गर्छ ।

- ग्यास्ट्रिक र अल्सर भएका बिरामीले पनि सादा गुन्द्रुकले फाइदा पुर्‍याउँछ । गुन्द्रुकमा खनिज पदार्थका मात्रा प्रशस्त हुन्छ ।

- स्मरण शक्ति कम हुनेहरूले रायोको गुन्द्रुक सेवन गर्दा राम्रो हुन्छ । किनकि यसले स्मरण शक्ति बढाउनको लागि पनि सहयोग पुर्‍याउँछ ।

- अधिक कोलेस्ट्रोलको समस्या छ भने पनि त्यसलाई कम गर्नका लागि रायोको गुन्द्रुक सेवन गर्न सकिन्छ । यसले कोलेस्ट्रोल घटाउनको लागि भूमिका खेल्छ ।

- शरीरका हड्डी मजबुत बनाउनको लागि पनि गुन्द्रुक सेवन गर्दा हुन्छ ।

- गुन्द्रुक जाडो मौसममा लोकप्रिय छ । यसको मेडिकल कारण पनि छ । यसले 'कोल्ड लु'बाट बचाउनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।