इटहरी : प्रदेश १ मा मात्र आगामी ५ वर्षमा करिब ३ अर्ब बराबरका दुईवटा भ्यू टावर बन्दैछन । गत सोमबार मुख्यमन्त्री शेरधन राईले गृह जिल्ला भोजपुरमा "टेम्के भ्यु टावर"को शिलान्यास गरे । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-४ मा करिब १४ करोडको लगानीमा निर्माण हुने भ्यु टावरकाे मुख्यमन्त्री राईले शिलान्यास गरेका हुन् ।

उता प्रधानमन्त्रीको गृह जिल्ला झापाको दमकमा यस अघि नै भ्यू टावर शिलान्यास भइसकेको छ । साढे २ अर्ब लगानीमा बन्न लागेको टावरको २०७३ ज्येष्ठमा प्रधानमन्त्रीले शिलान्यास गरेका हुन् ।

भोजपुरमा ४ तले र झापामा २५ तले टावरको लागि करिब ३ अर्ब लगानी हुने भएको छ । सहरी विकास तथा भवन कार्यालयका अनुसार भोजपुरमा १३ करोड ६२ लाख ८१ हजार लागतमा निर्माण हुने भ्यु टावर पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

आर एन्ड सी कुन्सालिङले कम्पनीले निर्माण गर्ने उक्त भ्यु टावर विसं २०८२ जेठ मसान्तसम्म बनाइसक्नु पर्ने छ । टावर बाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, गौरींशकर लगायतका दर्जन भन्दा बढी हिमाल तथा हिमशृङखलाहरूको अवलोकन गर्न सकिने बताइएको छ ।

Bhojpur-silanyas

उता झापामा प्रधानमन्त्री केपी ओलीको जोडबलमा साढे दुई अर्ब रुपैयाँ लगानीमा भ्यु टावर निर्माण गर्ने तयारी सुरु भएको छ । ओलीको गृहनगरमा व्यावसायिक कम्प्लेक्स सहितको ‘भ्यु टावर’ निर्माण गर्न लागिएको हो। सहरी विकास मन्त्रालयले दमक नगरपालिका-६ ढुकुरपानीमा अत्याधुनिक कम्प्लेक्ससहितको भ्यु टावर निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार भैसकेको छ । टावर बनाउन दुई अर्ब ५० करोड रुपैयाँ लाग्ने भएको छ ।

जसको लागी २१ हजार १ सय ९७.२१ वर्गमिटर क्षेत्रफल छुट्याइएको छ। त्यसमध्ये एक हजार ३८ स्क्वायर मिटरमा ७२ मिटर अग्लो (१८ तले स्थायी भवन) भ्यु टावर निर्माण हुनेछ। त्यसमाथि २८ मिटरको स्टिल टावर राखिनेछ।

'भ्यू टावर'बाट समृद्धि आउँदैन :- अर्थविद्

उता अर्थशास्त्रका प्राध्यापक डाक्टर भेष प्रसाद धमलाले अहिलेको अवस्थामा भ्यू टावर जस्तो अनुत्पादक क्षेत्रमा लगानी गर्नु अनुपयुक्त रहेको बताए । सामान्य आवश्यकता पनि पूर्ति गर्न नसक्ने अवस्थामा मुलुक रहेकोले उत्पादन र रोजगारी तिर ध्यान दिनुपर्ने उनको भनाइ छ ।

'तराईका फाँटमा भ्यू टावर बनाउनु कतिको उपयुक्त होला भनेर म आफै अन्योल छु' उनले भने, अहिले देशका संरचना चलाउन नै ऋण माग्नुपर्ने बेलामा अनुत्पादनशील क्षेत्रमा गरिएको लगानीले समृद्धि आउन सम्भव छैन ।

'स्वास्थ्य सेवालाई थप प्रभाकारी बनाउनुपर्ने आवश्यकता एकातिर छ भने देशको अर्थतन्त्र थप चलायमान बनाउने चुनौती अर्कोतिर छ' उनले थपे । यो अवस्थामा एकदमै जोगिएर खर्च गर्नुपर्ने र उत्पादन मूलक क्षेत्रमा मात्र लगानी गर्नुपर्ने देखिन्छ ।