इटहरी : गोविन्द अधिकारले सफारी चलाउन थालेको ३ वर्ष भयो । ३ वर्षमा १५ हजार भन्दा धेरै जरिवाना र पार्किङ शुल्क तिरिसके । इटहरी उपमहानगरपालिकाले ठेक्का लगाएरै सिटी सफारीबाट दैनिक २० रुपैयाँका दरले पार्किङ शुल्क लिन थालेको छ । पार्किङस्थल नभए पनि आन्तरिक आम्दानी वृद्धि गर्न भन्दै शुल्क लिन थालेको हो ।

पार्किङ गर्ने सुविधा नभए पनि शुल्क लिएको भन्दै उनी दुखित छन् । "कतै सडकमा रोक्यो भने प्रहरीले डन्ठा लगाएर खेदाउँछ ।, उनले भने, त्यती मात्रै कहाँ होर कुद्दाकुद्दै नगरपालिकाका मान्छेले खेदी खेदी पैसा माग्छन् । कमाइ छैन भन्न पनि पाइँदैन ।"

समस्या अधिकारीको मात्र हैन । सवारी चालक प्रकाश तिम्सिनालाई पनि पार्किङ स्थलको अभाव खड्केको छ । इटहरीको मुख्य बजारमा काम पर्दा छेउछाउमा पार्किङ गर्ने स्थान नहुँदा धेरै झन्झट बेहोर्नु परेको उनको भनाइ छ । जथाभाबी पार्किङ गर्दा हेलमेट हराउने देखी सवारी दुर्घटनाको जोखिम बढेको उनी बताउँछन् ।

इटहरी प्रदेश १ कै महत्त्वपूर्ण व्यापारिक नगरीको रूपमा विकसित हुँदै गइरहेको छ । त्यससँगै इटहरी भिडभाड र सवारीको चाप पनि बढिरहेको छ । जसले गर्दा इटहरी पार्किङ व्यवस्थापनमा समस्या देखा पर्न थालेको छ । पार्किङस्थलको उचित व्यवस्थापन नहुँदा सवारी दुर्घटनाको जोखिम बढिरहेको छ ।

Itahari-Parking-1

पार्किङ अभावले अस्तव्यस्त बन्दै इटहरी

पार्किङको अभावमा राजमार्गको बिचमै सवारी रोक्नुपर्ने अवस्था सृजना भएको छ । भित्री बजारमा पनि त्यहीँ समस्या देखा पर्न थालेको छ । सडक मिचेर पसलको समान राख्ने र लामो समय एकै ठाउँमा सवारी रोक्ने कारण इटहरी अस्तव्यस्त बन्न थालको हो । बजार व्यवस्थापन बारे उपमहानगरले बारम्बार सचेत गराए पनि व्यापरीहरुले अटेर गरी रहेका छन् ।

इटहरी उपमहानगरले आन्तरिक आम्दानी गर्ने भन्दै सिटी सफारी बाट समेत पार्किङ शुल्क लिन थालेको छ । पार्किङ स्थल बिनै शुल्क लिएको भन्दै उनीहरूले बारम्बार विरोध जनाइरहेका छन् । तर ठेकेदार कम्पनीले भने बिच बाटोमै रोकेर २० देखी ३० रुपैयाँ सम्म लिने गरेको उनीहरूको गुनासो छ ।

२ कट्ठा जग्गामा ६ तले स्मार्ट पार्किङ

पार्किङको व्यवस्थापन गर्ने भन्दै एक वर्ष अघि नै इटहरी उपमहानगरपालिकाले स्मार्ट पार्किङको अवधारणा ल्याएको थियो । तर बिना तयारी सुरु भएको अवधारणा अहिले अन्योल अवस्थामा देखिन्छ । २०७६ सालको अन्त्य सम्मका निर्माण सम्पन्न गर्ने गरी सुरु भएको स्मार्ट पार्किङको काम अलमलमा परेको हो ।

२ कट्ठा जग्गामा बन्न लागेको ६ तल्लाको स्मार्ट पार्किङमा सय वटा हल्का सवारी राख्न सकिने उपमहानगरले जनाएको छ । इटहरी उपमहानगरको पहलका सङ्घीय सरकारले समपूरक योजना अन्तरगत पाँच करोड बिस लाख रकम विनियोजन भइसकेको छ । १० करोडको लागतमा बन्न लागको स्मार्ट पार्किङ कहिले बन्ने अझै अन्योल छ ।

उता इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरे लकडाउनको कारण स्मार्ट पार्किङको सुरु हुन नसकेको बताउँछन् । साना सवारीलाई स्मार्ट पार्किङमा राख्ने गर्ने र अन्य ठुला सवारीको लागी थप स्थानको छनौट गरेर व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ । यसको विषयमा बजेट समेत विनियोजन गरेर काम सुरु गर्ने चरणमा रहेको कपुरी न्युजलाई उनले बताए ।

smart-2