इटहरी: इटहरी उपमहानगरपालिकाले नेपालमै पहिलो पटक ६ तले स्मार्ट पार्किङ्ग निर्माण गर्ने योजना सार्वजनिक गरेको छ । त्यससंगै इटहरीमा पार्किङ समस्या समाधान हुने उपमहानगरको बुझाई छ ।

तर लामो समयदेखि समस्याको रुपमा रहदै आएको सार्वजनिक शौचालय निर्माण हुन सकेको छैन । सार्वजनिक महत्त्वको शौचालय निर्माण गर्न नसकेको उपमहानगरको स्मार्ट पार्किङलाई भने धेरैले महत्वाकांक्षी योजनाका रुपमा बुझेका छन् । जनप्रतिनिधि निर्वाचित नहुदै सार्वजनिक शौचालयको व्यापक माग भएको थियो । निर्वाचित जनप्रतिनिधिले चुनाव घोषणापत्रमा सार्वजनिक शौचालयलाई प्राथमिकता दिएका थिए ।

निर्वाचन पश्चात् दुइपटक आएको बजेट नीति तथा कार्यक्रममा पनि सो कुरा उल्लेख भएको छ । त्यतिमात्र हैन उद्योग वाणिज्य संघको व्यापारीक चुनावमा पनि सार्वजनिक शौचालय प्राथमिकतामा पर्यो । हालका उवासंघ अध्यक्ष भिम पौडेलले त उपमहानगरले जग्गा उपलब्ध गराए अत्याधुनिक शौचालय बनाइदिने बचननै दिए । तर उपमहानगरले उपयुक्त स्थान किटान गर्न नसक्दा सार्वजनिक सौचालय बारम्बार दलहरूको चुनावी एजेन्डा बन्दै गएको छ । व्यापारीक नगरी भनेर परिचित इटहरी चौकमा एउटा पनि सार्वजनिक शौचालय नहुनुले उपमहानगरको अनुहार स्पष्ट देखाएको छ ।

itri2

त्यहीँ बेला इटहरी उपमहानगले अबको साढे चार महिना भित्रमा स्मार्ट पार्किङ्ग निर्माण सम्पन्न भएर सञ्चालनमा ल्याउने योजना बनाएको छ । इटहरी वडा नम्वर ४ ट्याङग्रा खोला उत्तरपूर्व अधिकारी मेडिकल हल छेउमा रहेको दुई कठठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ्ग बन्ने भएको हो । त्यहाँ सय वटा हल्का सवारी साधन पार्क गर्न सकिने इन्जिनियर जीवन घिमिरेले बताए ।

संघीय सरकारले समपुरक योजना अन्‍तर्गत ५ करोड २० लाखमा स्मार्ट पार्किङको योजना अगाडि बढाइएको उनको भनाइ छ । करिब १० करोड लागतमा स्मार्ट पार्किङ्ग निर्माण हुने भनिएको छ । निर्माण कम्पनीका लागि सूचना गर्ने प्रक्रिया सुरु भइसकेको उनको भनाइ छ।

सवारीधनीले पार्क गराउन ल्याएपछि सफटवेयरलेनै एक क्लिकमा १ मिनेटमै खाली भएको ठाउँमा पठाउने छ । पछि १ मिनेटमा नै पहिला भएको ठाँउमा ल्याइदिने छ । यो सिस्टम सबै अटोमेटिक हुने घिमिरेले जानकारी दिए । गाडी धुने स्मार्ट वास र कफि सपको पनि ब्यवस्था हुने र पार्क गरिसकेपछि सम्बन्धित ठाँउमा पुग्ने सवारी साधनको ब्यवस्था मिलाउने विषयमा पनि छलफल भइरहेको इन्जिनियर घिमिरेले बताए ।