इटहरी: इटहरी उपमहानगरपालिकाले आफुहरुसँग जथाभावी पैसा असुलेको सिटी सफारी चालकहरुले आरोप लगाएका छन् ।

नगर कार्यपालिकाको कार्यालय उल्लेख भएको र स्वयम् उपमहानगरको छाप भएको बिल काटेर जथाभावी शुल्क असुल भइरहेको सफारी चालकले गुनासो गरेका हुन् । उनीहरुका अनुसार दैनिक पार्किङ, सरसफाई शुल्क रसिद भनेर बिल बनाएर मनपरी शुल्क लिने गरिएको छ । सफारी चालक भक्त बहादुर तामाङले ट्राफिकले पनि समाउने र नगरपालिकाले पनि शुल्क लिने गरेकोले आफुहरु दोहोरो मारमा परेको गुनासो पोखे । ‘दिनमा ४० ठाउँ ट्राफिकले पक्रिन्छ,’उनले भने, ‘गरिखाने वातावरण नै छैन, नगरपालिकाले पनि जथाभावी पैसा लिन्छ ।’

चालकहरुका अनुसार पार्किङ शुल्क भनेर नगरपालिकाको रसिदमा १६ रुपैँया ९५ पैसा दर तोकिएको छ । तर, चालकहरुले भने २०, २५ र ३० रुपैयाँसम्म बुझाउने गरेका छन् । सफारी चालक रामचन्द्र भट्टराईले बुधबार सफारी चलाउँदै इटहरीको बसपार्क क्षेत्रमा जाँदा जर्बजस्ती रोकेर पैसा लिएको बताए । उनले भने,‘आज मैले सफारी चलाउँदा चलाउँदै समातेर पार्किङ शुल्क भन्दै बिल काट्यो, कुदाउँदै गरेको सफारीको के को पार्किङ शुल्क ?’

safari2

उनका अनुसार निश्चित पार्किङ क्षेत्र नभएको भएपनि पार्किङ शुल्क भन्दै पैसा लिने गरेको छ । शुल्क असुल गर्न पाथिभरा कन्सट्रक्सनलाई ठेक्का दिइएको छ । आफूहरुलाई बिना सूचना नगरपालिकाले पैसा लिने गरेको र ट्राफिक प्रहरीले पनि अनेक बहानामा दुःख दिने गरेको सफारी चालकहरुको गुनासो रहेको छ । सफारी चालक भरत राईले भने, ‘हामीलाई पार्किङ गर्ने ठाउँ छैन, कसरी पार्किङ शुल्क तिर्ने ?’ उनले नगरपालिकाले बिना सूचना र कसैलाई खबरै नगरी टेन्डर लगाएको र एकलौटी निर्णय गरेर पैसा उठाउन आएको आरोप लगाए । ‘हामीलाई पनि सूचना हुनुपर्यो नि, हामीले यात्रु चढाउन र उतार्न पाउँने अवथा छैन, तर पाइलैपिच्छे पैसा तिर्नुपर्छ,’उनले भने ।

स्वच्छ रुपमा काम गरेर खान कठिन भएको तर्क गर्दै अरुबेला यस्तो नहुने र चाडबाड नजिकिएसँगै ट्राफिक प्रहरी र नगरपालिकाले दुःख दिने गरेको चालकहरुको आरोप छ । आफूहरुसँग लाइसेन्स, बिलबुक भएपनि प्रहरीले कहिले विमा त कहिले अनेक बहाना देखाएर चिट काट्ने गरेको चालकहरुको आरोप छ । सफारी चालक राधाकृष्ण अधिकारीले दिनमा पाँच सय रुपैँयासम्म कमाई हुने गरेपछि कहिले कही त ट्राफिक प्रहरीलाई तिर्दै ठिक्क हुने बताए ।

safari1

यता, पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख प्रहरी उपरीक्षक एसपी भीम बहादुर दाहालले राजमार्गमा गुडिरहेको सवारीमा पार्किङ शुल्क लिनु गैरकानुनी रहेको बताए । ‘यो त मुख्य राजमार्ग हो, यहाँ कसरी नगरपालिकाले पैसा लिन पाउँछ,’ उनले टेलिफोन सम्पर्कमा भने, ‘स्थानीय सरकारको अधिकार भित्र पार्किङ गरिरहेको अवस्थामा लिन पायो तर राष्ट्रिय राजमार्गमा उठाउन पाईँदैन ।’ उनका अनुसार स्थानीय सरकारको क्षेत्रभित्र पनि गुडिरहेको सवारीमा रोकेर पार्किङ शुल्क लिन पाइँदैन । यता इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीलाई यस बिषयमा बुझ्न सम्पर्क गर्दा उनको फोन उठेन ।

safariii