धरान : धरान-१५ मा रहेको श्रेय बचत तथा ऋण सहकारी विरुद्ध सहकारीकै बचतकर्ताहरूले धरान उपमहानगरपालिकामा करोडौँ ठगी गरेको भन्दै उजुरी हालेका छन् । 

उपमहानगरपालिकाको आर्थिक विकास शाखाका वरिष्ठ आर्थिक विकास अधिकृत भक्तिराज शर्माका अनुसार गत पुस १९ गते  ९४ जना बचतकर्ताले संयुक्त रूपमा हस्ताक्षर गरी उजुरी हालेका हुन् । 

उनका अनुसार सहकारीमा १ सय ८१ जनाले जम्मा गरेको १५ करोड ८७ लाख ९६ हजार ९ सय रुपैयाँ फिर्ता नगरेको उजुरीमा उल्लेख छ ।

इजी राइडर ग्रुपले सञ्चालन गरेको सहकारी संस्था बचतकर्ताहरूलाई रकम फिर्ता गर्न नसकेपछि सहकारीको कार्यालयmहाल बन्द छ भने सञ्चालक लोकबहादुर खापुङ लिम्बूको फोन स्विच अफ छ । भने उनी केही दिन देखि सम्पर्क विहीन बनेको बचतकर्ताको भनाई छ ।

चलन चल्तीको भन्दा बढी ब्याजदर दिने प्रलोभन देखाएर करोडौँ जम्मा गर्न लगाएको, बचत गरेको रकम लामो समय सम्म प्राप्त हुन नसकेको र श्रेय बचत तथा सहकारी संस्था लिमिटेडले बचत फिर्ता गर्न नसकेपछि बचतकर्ताहरूले आफ्नो जम्मा भएको रकम फिर्ता पाउने व्यवस्था गराइदिन आग्रह गर्दै धरान उपमहानगरपालिकामा उजुरी दिएका हुन् ।  

उपमहानगरपालिकाले चन्द्र सुवेदीको  संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेर प्रतिवेदन तयार पार्ने काम जिम्मा दिएको छ ।

शर्माले कपुरी  न्युजसँग भने 'अनुसन्धान तथा अनुगमन गरिरहेका छौ।' नगरपालिकामा पारित भएको सहकारी ऐन २०७५ परिच्छेद २ मा दण्ड जरिवाना तोकेको सोही अनुसार कारबाही हुने उनले बताएका छन् । 

चन्द्र सुवेदीका अनुसार पीडितहरूले उपमहानगरपालिकामा उजुरी दिएको २१ दिन भित्रमा काम गर्नुपर्ने हो । सञ्चालक खापुङ धरान बाहिर भएकाले छलफल पनि गर्न सकेनौ त्यसैले समय थप भएको छ ।

सहकारीका सेक्युरिटी गार्डको ड्युटीमा खटेका योगेश प्रधानले भने 'सेवाग्राहीहरू आउँदै  फर्किरहेका छन् । कार्यालय निकै दिन देखि बन्द नै छ' अन्य कुरा जानकारी नभएको उनले बताए ।

Sreya-Sahakari-Nibedan