धरान : धरानमा स्मार्ट बसपार्क बनाउन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बुधवार धरान उपमहानगरपालिका र निर्माण व्यवसायी गीताञ्जली जेभि दुहबी सुनसरी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद खनालको उपस्थितिमा ठेकेदार कम्पनीसँग सम्झौता पत्रमा हस्ताक्षर भएको धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिए ।

धरान-८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाको मल्टिप्रपोज एरियामा स्मार्ट बसपार्क निर्माण हुने भएको छ । ठेकेदार कम्पनीले १५ दिनभित्रमा निर्माण कार्यलाई अगाडी बढाउने इन्जिनियर श्रेष्ठले बताए । इन्जिनियर श्रेष्ठका अनुसार बसपार्क करसहित गरेर २३ करोड १५ लाख ३ हजार २ सय ९६ रुपैयाँ ४६ पैसामा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीसँग सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उनले भने, “३ वर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । ५० प्रतिशत नेपाल सरकारको अनुदान (३ वर्षभित्रमा प्राप्त हुन्छ) भने बाँकी ५० प्रतिशत स्रोत धरान उपमहानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।”

मेयर तिलक राईले उपमहानगरपालिकाले लामो समयदेखि थाती रहेको योजनालाई सम्झौता गरेर अगाडी बढाउन पाएको बताए । धरानको विकास र समृद्धिको लागि विगत लामो समयदेखि बसपार्क निर्माण योजना थियो । अब चाडै पुरा हुने भयो ।

ठुला योजनाहरूमा विभिन्न टीकाटिप्पणी, सल्लाह सुझाव, विवादहरू हुने गरेको मेयर राईको भनाई थियो । चाँडोभन्दा चाँडो बसपार्क निर्माण सकियो भने धरानको सुन्दरता थप झल्किने मेयर राईको धारणा छ ।

मेयर राईले बसपार्क निर्माणको योजना समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न सुझाव दिँदै ठेकेदार कम्पनीसँग आग्रह पनि गरे । साथै, सुरुदेखि अहिलेसम्म यस योजनामा अहोरात्र रूपमा खटेका उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूलाई मेयर राईले धन्यवाद समेत व्यक्त गरे ।

उपमेयर मञ्जु भण्डारीले ३० वर्षदेखि जनप्रतिनिधिले देखेको सपना अब पुरा हुन लागेको बताइन् । उपमेयर भण्डारीले पनि समयमा नै योजना सम्पन्न गर्न आग्रह गरिन् ।

निर्माण व्यवसायी गीताञ्जली जेभिका सञ्चालक सपन दासले अब १५ दिनभित्रमा निर्माण थाल्ने बताए । तोकिएको समयभित्र निर्माण पुरा गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

smart-buspark