याक्थुङ लिम्बू समुदायका लागि किरात : भ्रम र वास्तविकता

  • कार्तिक १०, २०७८
  • ६०० पटक पढिएको
  • माङसा
alt

किरात शब्द याक्थुङ लिम्बुहरूको मुन्धुममा भेटिँदैन। यो लिखित साहित्यहरूमा मात्र भेटिन्छ । यो अझ खस आर्य साहित्यमा किरात शब्द सुरुमा उल्लेख भएको पाइन्छ। आदि साहित्य वेदहरूमा यसको उल्लेख भएको पाइन्छ । वेदहरूमा जेठो वेद मानिएको ऋग्वेदमा किरात शब्द उल्लेख भएको पाइँदैन । यसबाट विभिन्न विद्वानहरूले आङ्कलन गरेका छन् कि यो वेद किरातहरू सँग साक्षात्कार गर्न अगावै लेखिएको हो । यो खस आर्यहरू महाभारत श्रृखलामा आउन भन्दा अगाडि लेखिएको हो । त्यसपछि लेखिएका खस आर्य साहित्य वेद, पुराण, महाभारत, रामायण आदिमा किरात शब्दावली प्रयोग भएको पाइन्छ । महाभारत कथा यही किरात र खस आर्यको बिचको युद्धको प्रभावमा निर्मित कथा मान्ने विद्धानहरूको पनि कमी छैन । खस आर्यहरू महाभारत क्षेत्रमा आउँदा जति पनि मानव समूहसँग युद्ध गरे र उनीहरू सँग सामान्य साक्षात्कार गरे, उनीहरूलाई किरात भनेर संशोधन गरेको पाइन्छ।

खस आर्य इतर मानव समूहलाई किरात भन्नको कारण सुरुवाती समयमा हेयको दृष्टि नै भेटिन्छ। असभ्य, संस्कारविहीन, आर्य संस्कार नमान्ने अर्थमा आर्यहरूले आफ्ना घृणा पोखेको पाइन्छ । सुरुवाती चरणमा यस्ता मानव समूह मङ्गोल नश्ललाई उनीहरूले इङ्गित गरेको पाइन्छ । उनीहरूले नश्लीय हिसाबमा गैर आर्यलाई किरात भनेको पाइन्छ । यसको प्रमाण हाल सम्म पनि केही मङ्गोल नश्लीय मानव समूहले आफूलाई किरात हो भनी दाबी गरिरहेको अवस्थालाई लिन सकिन्छ । बिस्तारै आफ्नै नश्लमा आर्य संस्कृति नमान्ने, यो संस्कृति माथि विद्रोह गर्नेलाई आर्य सभ्यता मान्ने मानव समूहले किरात भनेको पाइन्छ। कालान्तरमा गएर गैर आर्य संस्कार संस्कृति भएका मानव समूह किरात भएको बुझिन्छ। यसको प्रमाण आज भेटिने गैर मङ्गोल आर्य नश्ल पनि किरात भई अस्तित्वमा रहेको कुरालाई मान्न सकिन्छ। अन्तमा गएर किरात एक बहुअर्थी शब्दको रूपमा विकास भएको पाइन्छ।

खस आर्यहरूले किरातको बारेमा स्पष्ट साथ भनेनन् । र भन्न पनि सम्भव भएन । यही कारणले गर्दा आज किरात को हो ? कुन जाति हो ? कुन सभ्यता हो ? कुन मान्यता हो ? भन्ने स्पष्ट भन्न सकिएन । उनीहरूले किरातको बारेमा स्पष्ट वर्णन गर्न सकेको भए किरात सम्बन्धी धेरै अन्यौलताहरू हट्ने थियो । किरातहरू कहाँ बस्छन्? के खान्छन् ? उनीहरूको संस्कार संस्कृति कस्तो छ ? उनीहरू कुन भूगोलमा बस्दछन् ? भन्ने स्पष्ट वर्णन गर्न सकेनन् । जङ्गलमा सिकार खेली हिँड्ने, जडीबुटी खोजी हिँड्ने, सुँगुर पछ्याइ हिँड्ने, रेशमको खेती गर्ने, ओडारमा बस्न आदी वाक्यांश तथा टिपोटले मात्र किरातको पहिचान गर्न काफी भएन । हाल नेपाल खाल्टोमा प्रागैतिहासिक कालीन आर्य पछि मङ्गोल प्रजातिका मानिसले शासन व्यवस्था सँभालेकाले खस आर्यहरूले उनीहरूलाई किरात भने । त्यसपछि आएका आर्यहरूले ती नश्लका मानिस नेपाल( काठमाडौँ) बाट पूर्वी इलाकामा गएका कारण पूर्व तिरका मानव समूहलाई किरात भने । मल्ल र सेनसम्म आइपुग्दा यही क्षेत्रलाई खसआर्यहरुले वल्लो किरात, माझ किरात र पल्लो किरातको रूपमा लिन थालेको देखिन्छ । राज्य सक्ता सधैँ खस आर्यहरूको भएकाले आफ्ना इतिहास र साहित्य मार्फत यही क्रमलाई निरन्तरता दिएको पाइन्छ ।

पछिल्लो समय राज्यसत्ताको आडका पुगेका किरात भनिएका ब्याक्त्तित्वहरुबाट किरात शब्दलाई स्पष्ट पार्न खोज्दा झनै यो शब्द गोलमटोल हुन पुगेको छ । एकातिर राज्यले निरन्तर दमन गरिरहेको र विभिन्न राज्य रजौटाहरूलाई मासी एकीकरण गरेको अवस्था, आफ्नो पहिचान दमित भएको अवस्थामा विशेष गरी इमानसिंह चेम्जोङलाई किरातोलोजिष्ट बनाएपछि किरातको बृहत्तर अवधारणा खस आर्यहरूको किरात सम्बन्धी आदिम बुझाइलाई नै अगाडि सारे । उनले आफ्नो पुस्तकमा यहाँसम्म भने कि नेपालका प्राय सबै आदिवासीहरू किरात हुन । नेपालका थारु, मगर, गुरुङ , तामाङ , राई, लिम्बु, शेर्पा, याक्खा, सुनुवार, लाप्चा, मेचे, कोच , भारतका नागा, बोडो आदी सबैलाई किरात भन्न पुगे । यहाँ सम्म कि चिनियाहरुलाई पनि उनले किरात भन्न भ्याए । उनले अध्ययन गर्दा त्यही आर्य साहित्यहरूको सन्दर्भ सामाग्रीको रूपमा प्रस्तुत गरे । यसरी उनले किरात भन्दै गर्दा कति मानव समूहलाई खस आर्यहरूले किरात भन्दा थाह नपाए जस्तै अनभिज्ञ भए । कतिले यस्तो कुरामा चासोसम्म व्यक्त गरेनन् । कतिले आफूलाई किरात भनेको पत्तो सम्म पाएनन् । कतिले पत्तो पाए पनि सहर्ष स्वीकार गरेनन् । यतिखेर लिम्बु समुदायमा यसको बहस तीव्र भएको छ । सबै भन्दा धेरै अन्यौलताहरू यो समुदायमा देखिएका छन् । केन्द्र राज्य सत्ताको षडयन्त्र र यही समुदायका अग्रज ब्यत्तित्वहरु अदुरदर्शीता कारण समुदाय यस्तो चक्रब्युमा फसेको हो । राष्ट्रिय जनगणना नजिक आउँदै गर्दा लिम्बु जातिमा किरात जाति हो कि ? सभ्यता हो ? पहिचान हो ? इतिहास हो ? धर्म हो कि ? केहो भन्ने बारेमा व्यापक विचार विमर्श चलिरहेको छ ।

जाति

केही अगुवा लिम्बूहरूले अन्धाधुन्ध किरातको पछि लागि किरात भनेको महाजाति हो भन्दै अन्य केही जातीहरूलाई समेत समेटे । कम्तीमा नेपालको राई, लिम्बु, याखा र सुनुवार चाहिँ किरातको रूपमा एकता कायम गर्ने कुराले अरू सहमत भएको पाइन्छ । यही कुराले किरात भन्ने पगरी सबैको टाउकोमा झुण्डियो । यो अभ्यासले किरातलाई स्थापित गदै लग्यो । केही मानव समुदायले यो अभ्यासलाई स्वीकार गरेको भेटिन्छ । विशेष गरी राई समुदायले यसलाई स्वीकार गरेका मात्र छैन आफ्नो पहिचान किरातको रूपमा अभ्यास गरिरहेको छ । यसलाई जातीय अस्तित्वको रूपमा मानेको भेटिन्छ । याखा र सुनुवार समुदाय प्रायः मौन छन् । यी समुदायमा यसको विरोध भएको पनि भेटिँदैन । यसको समर्थनमा आवाज उठाएको पनि पाइँदैन । लिम्बु समुदायमा यसको सबै भन्दा बढी अभ्यास भए पनि यसलाई स्वीकार गरेको भेटिँदैन । अङ्ग्रेजी लेखकहरूले अठारौँ शदि देखि बिसौँ शदिसम्म सङ्कलन गरेका लिखतमा राईहरूले आफूलाई किराँतीको रूपमा स्वीकार गरेको भेटिन्छ । लिम्बुहरूले आफूलाई लिम्बु वा याक्थुङको रूपमा उल्लेख गरेको भेटिन्छ । अहिले अधिकांश लिम्बु समुदायले यसमा विमति जनाइरहेका छन् । केही लिम्बूहरूले यसको समर्थन गरिरहेका छन् । यसको समर्थनमा उत्रिएका लिम्बुहरूको तर्क ऐतिहासिक विरासतलाई लिन्छन् । यो महाजातिको रूपमा परिभाषित गर्छन् । इमानसिंह चेम्जोङको ऐतिहासिक निरन्तरतालाई हवाला दिन्छन् । यसको विमतिमा उत्रिएका लिम्बुहरूको तर्क यो महाजाति होइन । लिम्बु सत्ता, राजनीति, देश, विदेशले चिनेको जाति हो । उनीहरू आफ्नो भाषामा याक्थुङ हुन । त्यसैले याक्थुङ लिम्बुहरूको आफ्नो मौलिक सांस्कृतिक पहिचान हो भने लिम्बु याक्थुङहरुको राजनैतिक पहिचान हो । यो जाति हो । यसको बेग्लै जातीय पहिचान र भौगोलिक निरन्तरता छ । यसलाई किरातको अभ्यासले बहु आयामिक दृष्टिकोणबाट ओझेलमा पार्दै सङ्कटको नजिक पुर्‍याएको छ । यसलाई बचाउनु पर्छ । यसका लागि आगामी जनगणनामा याक्थुङ लिम्बु उल्लेख गरेर जानु पर्दछ । आफू जातीय हिसाबले किरात नभएर जाति रहेको र लिम्बु जातिको रूपमा स्वीकार गर्दा याक्थुङ लिम्बु हुने तर्क रहेको छ । राई, लिम्बु , याक्खा, सुनुवार जाति हुनलाई आफै पर्याप्त छन् । उनीहरूको तर्क कसैले अनुमानका हिसाबले एक्जोनिम किरात भनेको इन्डोनिस याक्थुङ हुँदा हुँदै स्वीकार नगर्न यसको सट्टा लिम्बु स्वीकारेको तर्क गर्दछन् ।

धर्म

किरात धर्मको जन्म १९८८ सालमा फाल्गुनन्द लिंगदेनले सत्यहाङमा मुचुल्का उठान गरेपछि लिम्बु समुदायमा उदय भएको हो । सुरुमा सत्यहाङमा भनिए पनि यो किरात धर्मको रूपमा विकास भयो । फाल्गुनन्द आफै हिन्दु जसमुनी पन्थद्वारा दीक्षित भएकाले उनले प्रवाह गरेको धार्मिक दर्शन हिन्दु धार्मिक मनोविज्ञान प्रभावित भयो । सुरुवातमा समाज सुधारको नाममा लिम्बु समुदाय केही मानिसहरू उनको अनुयायी बनेको देखिन्छ । यसले आफ्नो धार्मिक दर्शन र अभ्यासहरू सबै हिन्दुकृत गर्दै लग्यो । यसले २०३६ सालमा किरात धर्म तथा साहित्य उत्थान सङ्घको रूपमा दर्ता हुँदै, यसका प्रवर्तक फागुनन्दलाई राज्यबाट राष्ट्रिय विभूतिको मान्यता दिँदै, अन्य जातीय संस्थाहरू सँग गठबन्धन बनाउँदै बलियो भएको पाइन्छ । यसले मुन्धुमका मूल आत्मा पात्र तागेरा निवाफुमालाई लिएर थेवा र युमा आत्मा पात्रलाई हिन्दुकृत गरेको स्पष्ट देखिन्छ । यसले राई समुदायका मानिसलाई युमा नै सुन्नीमा हो र थेबा नै पारुहाङ हो भन्ने गरेको छ । भने आर्य समुदायलाई थेबा युमा नै शिव पार्वती हो भन्ने गरेको पाइन्छ ।

याक्थुङ लिम्बु समुदायको आध्यात्मिक चेतनाले जन्माएको मुन्धुमी पात्र युमा र थेबा, हिन्दु खस आर्यहरूले वर्णन गरेको शिव र पार्वती जस्ता पात्र र राई समुदायको आध्यात्मिक चेतनाले जन्माएको सुन्नीमा र पारुहाङ बिच शिवको रूप किरातेश्वर भएको बाहेक कहीँ कतै मेल छैन । हिन्दुहरूले वर्णन गरेको किरातेश्वर सँग थेबा र पारुहाङ जस्ता आत्मा चरित्रमा कतै समानजसता छैन । जबरजस्ती यी पात्रहरू बिच तुलना गरी मौलिक ज्ञान र आध्यात्मिक चेतनालाई भत्काउने काम हुँदैन । आदि समयदेखि याक्थुङ लिम्बुको आध्यात्मिक चेतनाको बाटो नै युमा साम्यो हो । यो धार्मिक बाटो पछ्याएर सामुदायिक जीवन चलाइरका याक्थुङ लिम्बु समुदायको धर्म युमा हो । यसको सर्वोच्च रूप तागेरा निवाफुमा युमा माङ हो । यो तागेरा निवाफुमा भन्ने आत्मिक पात्र राई समुदायको आध्यात्मिक चेतनाले चिन्दैन र मान्दैन पनि । राई समुदायले बढी पितृ मान्दछ । सर्वोच्च आत्मा सुन्नीमा र पारुहाङलाई मान्दछ । अझ जनजीवनमा प्रकृतिलाई मान्दछ । आध्यात्मिक चेतना अनुसार बेग्ला बेग्लै धार्मिक आध्यात्मिक अभ्यास राई, लिम्बु, याक्खा र सुनुवारमा छ । आध्यात्मिक चेतना हिसाबले याक्खा समुदाय लिम्बु समुदायको नजिक देखिन्छ । सुनुवार समुदाय राई समुदायको नजिक देखिन्छ।

यिनीहरू बिच नश्लीय, सांस्कृतिक रूपमा नजीक होलान् । तर आध्यात्मिक हिसाबले टाढा देखिन्छन् । यस्तो अवस्थामा के किरात जातिले मान्ने धर्मलाई किरात धर्म भन्ने ? त्यो सम्भव छैन । यस भित्र परेका मानिएको जातिहरूले स्पष्ट बेग्ला बेग्लै आध्यात्मिक चिन्तनको अध्यास गर्दछन् । यसमा निकै अन्तर छ । धार्मिक र आध्यात्मिक दर्शन फरक छ । कम्तीमा एउटा साझा कुरा त मिल्न पर्‍यो । राई समुदायले आफूलाई किरात जातिको रूपमा स्वीकार गरेको अवस्थामा राई समुदायले अभ्यास गरेको धार्मिक मान्यतालाई किरात धर्म भन्ने ? यहाँ देश विदेश, रुष्ट अन्तर्राष्ट्र बुझेको किरात धर्म लारुम्बाको अभ्यास हो । यहाँ जे अभ्यास गरिन्छ । जस्तो दर्शनको दिक्षा दिइन्छ । त्यसलाई किरात धर्मको रूपमा बुझिन्छ । तर त्यहाँ राई समुदायले अभ्यास गरे जस्तो पनि हुँदैन । यो धर्मको नाममा लुकामारी मात्र भएको छ । एउटाले अर्कोलाई छक्याउने । लाभ हासिल गर्ने । लारुम्बाले धर्मको नाममा सेवा सुविधा खाईरहने र लिम्बुका मौलिक मान्यतालाई तोडिरहने । अन्य समुदायले धर्मको नाममा राजनीतिक लाभ उठाउने । यसले कसैलाई फाइदा गर्दैन । एक अर्कालाई सम्मान गर्दै आफ्नो बाटो हिँड्न मै सबैको कल्याण छ । आफ्नो आध्यात्मिक बाटोलाई पछ्याएर अगाडि बढ्न नै उचित हुन्छ।

सभ्यता

याक्थुङ लिम्बु समुदायले आफ्नो सभ्यता याक्थुङ सभ्यता भएको मान्दछन् । यो सभ्यताको उद्गम स्थल तम्बर (ईम्वीरी याङधावा) भएकाले ईम्वीरी याङधावा सभ्यताको रूपमा पनि मान्दछन् । यसैबाट मुन्धुम जन्मिएको, मुन्धुमबाट आध्यात्मिक ज्ञानहरू जन्मिएको, त्यसैले सामुदायिक जनजीवन निर्देशित गरेको, यही परिसरमा समुदाय हुर्किएको, र आफ्नो जातीको विकास गर्दै सभ्यता विकास गरेको मान्दछन् । यही सभ्यताले मानव समुदायलाई मुन्धुम र सिरिजंघा लिपि दिएको र विभिन्न आयामहरू दिएका मान्दछन् । जुन मान्यता र सभ्यताबाट किरात भनिएका समुदायहरू भौगोलिक दुरी सँगै टाढा छन् । किरात सभ्यता? आदिम होला तर यसको बारेमा यसलाई परिभाषित गर्ने खसआर्यहरुले भन्न सकेनन् । यसका आयामहरू के थिए ? यो सभ्यता?ले मानव समुदायलाई के दियो ? आज पनि स्पष्ट भन्न सकिँदैन । किरात सभ्यता? याक्थुङ सभ्यतालाई मान्ने हो भने अरूले यसलाई मान्दैनन् । सामान्य संस्कार संस्कृतिलाई मान्ने हो भने पनि यिनीहरू बिच व्यापक भिन्नता छ । काठमाण्डौको इतिहासलाई आधार बनाउँदा पनि काठमाण्डौका किरातहरू शैव धर्मी थिए । उनीहरूले मानव समुदायलाई केही नयाँ आयाम दिएको देखिँदैन । यो आफैमा प्रागइतिहासमा पर्छ । त्यसैले याक्थुङ लिम्बु जातिको सभ्यता याक्थुङ सभ्यता हो ।

पहिचान

राई समुदायले आफ्नो पहिचानको रूपमा किरातलाई अभ्यास र विकास गरिरहेको छ । किरात भन्नाले अहिले राई जातिलाई बुझिन्छ । राई जातिले अपनाउने, मनाउने संस्कार, किरात संस्कृतिको रूपमा बुझिन्छ । यसलाई किराँती संस्कृति रूपमा बुझिन्छ । याक्थुङ लिम्बूहरूको आफ्नो पहिचान मौलिक हिसाबले याक्थुङ हो । राजनैतिक हिसाबले लिम्बुवान हो । याक्थुुङ सभ्यताले जन्माएको मुन्धुम, भाषा, याम्थुङ लिम्बु जाति, सिरिजंघा लिपी, मुन्धुममा आधारित आध्यात्मिक चिन्तन, मौलिक संस्कार संस्कृतिमा यो पहिचान आधारित छ । यो जातिको मुन्धुमले निर्देश गरेको युमा साम्यो आध्यात्मिक चिन्तन हो । यसैले यो जातिको धार्मिक पहिचान युमा साम्यो ( युमा धर्म ) हो । याक्थुङ लिम्बु जातिको पहिचान कुनै दृष्टिकोणबाट पनि किरात देखिँदैन । याक्थुङ लिम्बुले किरात पहिचान मेरो भन्नु आफ्नो आमालाई छोडेर धर्म पुत्र हुनु जस्तै हो । किरात पहिचान भनेर हिँड्दा याक्थुङ लिम्बूहरूले धेरै ठाउँमा पछि पर्नु पर्ने हुन्छ । यसले पहिचानको राजनीतिलाई समेत नकारात्मक असर पुग्ने देखिन्छ । यसकै कारण लामो समय सक्ताको वरिपरि रहेको याक्थुङ लिम्बु समुदाय अहिले नेपालको सत्ताको खेलमा ओझेल परेझैँ देखिन्छ ।

इतिहास

याक्थुङ लिम्बु जातिको इतिहास नेपालको सबैभन्दा जेठो र कान्छो इतिहास हो। नेपालको इतिहासमा केन्द्रीय इतिहासलाई गोपाल वंशी, महिसपाल वंशी र किरात काललाई प्राग इतिहासको रूपमा मानिएको छ । जसको मतलब यसलाई आधुनिक पुरातत्त्व कठघरामा सप्रमाण पेस गर्न सकिँदैन । त्यो समयमा काठमाण्डौलाई नेपाल मानिन्थ्यो । त्यो बेला पनि याक्थुङ लाजे क्षेत्रमा आबादी थियो। यहाँ राज्य स्थापना भएको कुरा इतिहासकारहरूले चर्चा गरेका छन् । यस मानेमा यो जेठो इतिहास हो। नेपाल एकीकरण भएपछि पनि गोरखा राज्यले समान हैसियतमा लिम्बुवानलाई मानेको देखिन्छ। जसमा निहित भूमि माथिको किपटीय अधिकार र पाच खत बाहेकको शासकीय अधिकार पञ्चायतीकामा आएर मात्र समाप्त भएको यथेष्ट प्रमाणहरू छन्।

यो इतिहास याक्थुङ लिम्बु जातिको विशेष गौरवपूर्ण इतिहास छ। केही पाटीहरू यसैको आधारमा केन्द्रीय राज्यले छलकपट र बलजफ्ती आफ्नो अधिकार खोसेको, आफ्नो राज्य हरण गरेको कुरा राखिरहेका छन् । यो इतिहास काठमाण्डौको किरातकालीन इतिहास भनिएको भन्दा धेरै आधुनिक र वैज्ञानिक छ । यो मानेमा यो इतिहास नेपालको इतिहासमा सबैभन्दा कान्छो इतिहास पनि हो । किरात भनिएका केही मानिस पूर्वबाट गई केही सुदूर पूर्व आए होलान् । तर यही माटोमा उत्पन्न विचार, चिन्तन, र जनजीवन सँग घुलिन भएको भेटिन्छ । त्यो बेलाको नेपाल (काठमाडौँ) एक स्थिर राज्य सत्ताको मियो देखिन्छ । त्यस पछि अर्को सत्ताको मियो सबैभन्दा लामो सुदूर पूर्वमा रहेको देखिन्छ । याक्थुङ लिम्बुको इतिहास किरात भन्दा बढी याक्थुङ सभ्यता सँग देखिन्छ ।

अन्त्यमा.....

याक्थुङ लिम्बूहरूको आफ्नै गौरवयुक्त सम्पदाहरू छन् । यो समुदायले आफ्ना सम्पदाहरूलाई नै मौलिक रूपमा महत्त्व दिँदा राम्रो हुन्छ । यी सम्पदा एक परिपक्व सम्पदा हुन । अरू नजिकका समुदायको अस्तित्वलाई सम्मान गर्दै आफ्ना मौलिक कुराहरूमा ध्यान दिन नै विवेकयुक्त हुन्छ । धर्म केही होइन भन्नेहरूले विश्वको कुना कुनामा, खोला खोल्सी, नदी नाला किनारमा आफ्ना संरचना धमाधम बनाई ओगटिरहेका छन् । यसको जर्गेणा गर्न यही समुदाय अगाडि आउनु पर्दछ । आफ्नो सम्पदा रक्षा गर्ने नाममा यसलाई विरूप पार्नु हुँदैन । लिम्बूहरूको एउटा पक्षले संरक्षणको नाममा याक्थुङ लिम्बूहरूको मौलिक सम्पदाहरूलाई विरूप पारिरहेका छन् । यस्तो कार्य विवादित अवस्थामा रोकेको राम्रो । किरात धर्म जति भने पनि हिन्दु धर्म केन्द्रित छ। ओमकार धर्म केन्द्रित छ । यसको धार्मिक दर्शन र अभ्यास शैलीहरू हिन्दुकृत छन्। आफ्नो काम गदैछु भन्ने भानमा अरूको काम गर्नु पनि महामुर्खंता हो । यसले पतनको बाटो मात्र सोझ्याउछ। युमा साम्यो याक्थुङ लिम्बु समुदायमा हिजो पनि थियो । आज पनि छ । भोलि पनि रहने छ । यो बाटो समाएर समुदाय यहाँ सम्म आएको छ । यो समुदाय किरातको भ्रम बाट मुक्त हुन जरुरी छ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved