यहाँ विदेशी भाषाले अतिक्रमण गरेका नेपालका केही हिमाल र स्थान नामहरूका बारेमा केही लेख्ने प्रयास गरिएको छ । जस्तो कि, समुन्द्री सतहदेखि नाप्दाखेरि हालसम्मको विश्वकै अग्लो हिम चुचुरो मानिएको सगरमाथा हिमालकै कुरो गरौँ । जुन हिमाललाई परापूर्व कालदेखि स्थानीय रूपमा बस्दै आएका कुलुङ, शेर्पा लगायतका आदिवासी जनजातिले स्थानीयरुपमा बोलाउँदै आएको नाम 'चोमोलुङमा' हो।

त्यस्तै सो हिमालका उत्तरतर्फका मानिसहरू (तिब्बती जनता) ले पनि सो हिमाललाई 'चोमोलुङमा' नामले नै चिन्छन्/'चोमोलुङमा' भनेरै बोलाउँछन् । यसरी हेर्दा सम्भवतः सो हिमालको वरिपरि बस्दै आएका मानिसहरूले सुरुदेखि नै सो हिमाललाई 'चोमोलुङमा' नामले पुकार्दै/बोलाउँदै आए होलान् । यसरी हेर्दा परापूर्वकालदेखि नै 'चोमोलुङमा' नामले चिनिँदै आएको हिमाललाई विसं २०१० तिर ‘सगर+माथा’ दुई शब्द जोडेर 'सगरमाथा' भनी नयाँ नेपाली नाम दिइयो । अर्थात् नेपाली भाषाकरण गरियो !

फलतः हाल चोमोलुङमा नामले भन्दा पनि सगरमाथा र एभरेस्ट नामले बढी चिनिन्छ । यसरी नयाँ नेपाली भाषाको नाम दिने व्यक्ति थिए, इतिहासकार बाबुराम आचार्य । हुन त त्यो बेला चोमोलुङमालाई 'चरी लमेनी' भनेर पनि चिनिन्थ्यो भने लगभग डेढ दर्जन अरू नामहरू रहेका थिए । सुरुमा र आधिकारिक रूपमा चोमोलुङमाको उँचाइको सम्पूर्ण नाप-जाँचको काम भने भारतीय (बङ्गाली) नागरिक राधानाथ सिकन्दर/सिक्दर र नेपाली नागरिक करवीर बुढाथोकीले गरेका थिए । तर, त्यसको जस भने, तत्कालीन ब्रिटिस इन्डियाका सर्भेयर जनरल जर्ज एभरेस्टले पाए अर्थात् चोमोलुङमाले अर्को नाम पायो 'माउन्ट एभरेस्ट।' जुन नाम तत्कालीन ब्रिटिस इन्डियाका सर्भेयर जनरल जर्ज एभरेस्टको नाममा राखियो । त्यति मात्रै होइन, त्यही बेला सगरमाथालाई नै संसारको अग्लो हिमशिखर पनि यही हो भन्ने विश्वभरिका हिमालका खोजकर्ताहरूले स्वीकारे । सँगसँगै चोमोलुङमामाथि पहिलो मानव विजय पाउने होड पनि चल्न थाल्यो ।

खोज्दै जाने हो भने, केवल सगरमाथा मात्रै होइन, नेपालका धेरै हिमाल र स्थान नामका स्थानीय, खासगरी आदिवासी जनजातिका भाषामा रहेका विभिन्न हिमालका नामहरू विदेशी भाषाले विस्थापन वा भनौँ अतिक्रमण गरेको भेटिन्छन् । त्यसमा पनि विशेषतः अङ्ग्रेजी नामले साम्राज्य चलाएको छ । जस्तै चोमोलुङमा कै कुरा गरौँ । माथि नै भनियो कि, चोमोलुङमालाई माउन्ट एभरेस्ट र सगरमाथा लगायतका नामहरू दिइयो । यसै क्रममा विसं २०१० (सन् १९५३) मा तेन्जिङ नोर्गे शेर्पा (नेपाल) र एडमण्ड हिलारी (तत्कालीन बेलायती उपनिवेश अन्तर्गत न्यूजिल्याण्ड निवासी) ले चोमोलुङ्मामाथि प्रथम मानव विजय पाए ।

त्यसपछि माथि नै भनिए झैँ जातीयताको आधारमा फेरि नेपाली भाषामा नाम राखियो 'सगरमाथा।' चोमोलुङ्माको अनेकौँ नाम भए तापनि अहिले सगरमाथा र एभरेष्टको नामले बढी चिनिन्छ । तापनि विगतमा विदेशी लेखकहरूले लेखेका पुराना किताकहरु जति पनि छन्, ती किताबहरूमा 'चोमोलुङमा' भनेरै लेखेको पाइन्छ । तर, नेपालका धेरै जसो मिडियाकर्मीहरूले अझै पनि ‘चोमोलुङमा’लाई ‘चोमोलुङमा’ नभनेर/नलेखेर ‘सगरमाथा’ नामलाई नै महत्त्व दिई रहेका छन् ।

पूर्वमा रहेको कुम्भकर्णको स्थानीय नाम ‘जान्नु’ हो । र, लिम्बु जातिले उक्त हिमाललाई 'फक्ताङलुङ' (कुम भएको ढुङ्गो) भनी पुकार्छन् भने हिउँद याममा धान लगायतका अन्नपात भित्र्याउँदा फक्ताङ्लुङमा रहेको हिउँको थुप्रोलाई सह मानी धानको रासमाथि फक्लाङ्तुङतर्फ फर्काएर हँसिया, धुपौरो, फूल, अक्षता, कुखुराको भाले (जसलाई राशि भाले भनिन्छ) राखेर पूजा आज गरिन्छ । कञ्चनजङ्घा हिमाललाई लिम्बुहरूले सेवालुङ/सेन्छेलुङ भन्ने गर्छन् भने यस क्षेत्रमा अङ्ग्रेजी नामको अर्को हिमाल छ, ‘टेन्ट-पिक ।’ उक्त हिमाललाई खासमा किरात चुली भनिन्छ । मकालु हिमाललाई कुलुङ जातिले सेसेलुङ भन्छन् ।

लाङटाङ क्षेत्रमा लाङटाङ-री र याला पिकको पछाडि रहेको एउटा सानो हिमाल (५,९५१ मिटर अग्लो) मोरीमोतो नामक जापानीजले पहिलो पटक चढ्न प्रयास गरेकोले उक्त हिमालको नाम ‘मोरीमोतो’ राखे, जापानीजहरुले । त्यस्तै डोम-ब्लु (६,८२० मिटर) फ्रेन्च भाषामा ‘सेतो’ भनेर राखिएको हिमाल छ । उक्त क्षेत्रमा अन्य हिमालहरू भने प्रायः स्थानीय नाममा आधारित नै छन् । त्यस्तै पिक-२९, ७,८७९ मिटरको खास नाम ‘ङादी चुली’ हो भने उक्त पिकको नयाँ नाम स्वर्गीय भूगोलविद् डाक्टर हर्क गुरुङको नाममा ‘हर्क पिक’ राखिएको छ । मनास्लुको स्थानीय नाम 'प्याङगेन पुथाङ' हो । पिसाङ पिकको स्थानीय नाम झोङ-री (६,०९२ मिटर) हो ।

ninam-kulung-mangale