विराटनगर : नेपाली काँग्रेस प्रदेश नम्बर १ को महाधिवेशनको तयारी थालिएको छ । यस विषयमा अधिवेशन आयोजक समितिका संयोजक काँग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधवार विराटनगरमा बैठक बसेको छ।

बैठकले पार्टी प्रादेशिक संरचनामा गएपछि हुन लागेको प्रदेशको अधिवेशन भव्य रूपमा आयोजना गर्ने निर्णय गरेको छ । प्रचार समितिका संयोजक तथा काँग्रेस १ नं प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले पत्रकार सम्मेलन आयोजना गरी अधिवेशन तयारीको विषयमा जानकारी गराएका छन् ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाली काँग्रेस प्रदेश नम्बर १ को प्रथम अधिवेशन विराटनगर महानगरपालिका वडा नम्बर-२ शंकरपुर (विराट नर्सिङ होम) को पूर्वतर्फ रहेको खाली जमिनमा उद्घाटन हुने र १७ सय प्रतिनिधि सहित दुई हजार जना सहभागी हुनेछन् ।

अधिवेशनको उद्घाटन मङ्सिर १६ गते बिहीबार विराटनगरमा हुने बताउँदै संयोजक कोइरालाले भने,“सङ्घीयतासँगै अब काँग्रेस राजनीतिको नयाँ अभ्यासमा जानेछ । हामीले अधिवेशनको तयारी थालिसकेका छौँ ।” अधिवेशन सम्पन्न गर्न आवासलगायत सबै व्यवस्थापनको जिम्मा नेपाली काँग्रेस मोरङ जिल्ला समितिको रहने कोइरालाले बताए ।

अधिवेशन सम्पन्न गर्न नेपाली काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू संयोजक र भीम पराजुली सह–संयोजकका साथै केन्द्रीय सदस्यहरू अमृत अर्याल, पवन सारडा र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी सल्लाहकार रहेको अर्थ सङ्कलन समिति गठन भएको छ ।

कोइराला संयोजक रहेको प्रचार समितिमा नेपाल प्रेस युनियनका प्रदेश संयोजक लीलावल्लभ घिमिरे सदस्य सचिव छन् । यसैगरी सदस्यमा प्रेस युनियन प्रदेश १ का सचिव धनबहादुर पुरी, युनियन मोरङ अध्यक्ष भोजराज बस्नेत, निवर्तमान अध्यक्ष कुमार लुइँटेल र अजित झा छन् ।

व्यवस्थापनको जिम्मा पाएका मोरङ काँग्रेसका सभापति लिम्बूले अधिवेशन सम्पन्न गर्न कम्तीमा रु. १ करोड खर्च हुने अनुमान गरिएको बताउँदै भने,“प्रतिनिधिहरूको आवास, खानपानदेखि अन्य खर्च समेत गर्दा त्यति खर्च हुने देखिन्छ । प्रतिनिधिहरूको दर्ता शुल्कबाट ३२ लाखसम्म उठ्न सक्छ ।”

नेपाली काँग्रेसको प्रथम प्रदेश अधिवेशनमा प्रदेश नम्बर १ का १४ जिल्लाका २८ सङ्घीय निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष र सङ्घीय महाधिवेशन प्रतिनिधि सहित २५ जनाका दारले ७ सय जना महाधिवेशन प्रतिनिधि, ५६ प्रदेश निर्वाचन क्षेत्रबाट १७ जनाका दरले प्रदेश क्षेत्रका क्षेत्रीय अध्यक्ष सहितका प्रदेश अधिवेशन प्रतिनिधि गरी जम्मा ९५२ जना र यस प्रदेशका १९ जना काँग्रेसका केन्द्रीय सदस्यहरूका साथै भातृ संस्था र शुभेच्छुक संस्थाबाट समेत प्रतिनिधित्व हुने गरी प्रदेश अधिवेशनका लागि मतदाता छन् ।

नेपाली काँग्रेस केन्द्रीय समितिले प्रदेश अधिवेशन सम्पन्न गर्न केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला संयोजक रहेको आयोजक समिति गठन गरेको छ । समितिका सदस्यहरू सम्बन्धित प्रदेशभित्रका केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू, प्रदेश सभा संसदीय दलका नेता र प्रदेश सभा सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू हुनेछन् ।

प्रदेश सभापतिका लागि संस्थापन पक्षबाट केन्द्रीय सदस्य अमृत अर्याल र ओखलढुङ्गाका रामहरी खतिवडा र संस्थापन इतर पक्षबाट केन्द्रीय सदस्य गुरुराज घिमिरे र संसदीय दलका नेता कोइराला आकाङ्क्षी देखिएका छन् ।