धरान : २२ औँ संस्करणको गोधुली फुटबल रनिङ कपको उद्घाटन खेलमा धरानको १५ नं. वडाले शानदार विजय हात पारेको छ।

आज धरान रङ्गशालामा भएको उद्घाटन खेलमा १५ नं. वडाले ३ नं. वडालाई ५-१ गोल अन्तरले पराजित गर्‍यो । धरान-१५ का लागि खेलको ११ औँ मिनेटमा नै नगेन्द्र राईले गोल गरेका थिए। त्यस्तै खेलको पहिलो हाफमा वसन्त बानियाले २ गोल थपे भने ३ नं. वडाका दिवस क्षेत्रीले एक गोल गरी पहिलो हाफमा ३–१ को स्थितिमा पुर्याइएका थिए ।

खेलको दोस्रो हाफमा १५ नं. वडाले थप २ गोल गर्‍यो । उसकालागी मिलन लिम्बू र सुगम जिमीले एक एक गोल गरे । खेलको म्यान अफ द म्याच १५ नं. वडाका प्रज्ञान देवान घोषित भए । उनलाई माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरका सञ्चालक कुमार तामाङले नगद १५ सय पुरस्कार प्रदान गरे । भोलिको खेल धरानको वडा नं. ८ र ४ का बिच धरान रङ्गशालामा ठिक ३ बजे हुने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिता सम्पन्न गर्न धरान उपमहानगरपालिकाले निरन्तर संयोजन गरेको छ भने गोर्खा ब्रुअरी प्रालिले पनि निरन्तर रूपमा प्रायोजन गरिरहेको क्लबका उपाध्यक्ष सतिश केसीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद रु १ लाख ५० हजार र उपविजेताले नगद रु. ७५ हजार पुरस्कार जित्ने तथा शीर्ष आठ टिमले लिग गेम खेल्न पाउनेछन् ।

Gudhuli-Cup-Man-of-the-Mach

Gudhuli-cup-1