धरान : धनकुटामा सातौँ खादले सिंहदेवी गोल्डकपको विजेताको उपाधि हासिल गरेकोमा पानबारी फुटबल क्लबले टिमका खेलाडीलाई सम्मान गरेको छ।

धरान ६ स्थित क्लबको भवनमा आज सोमवार आयोजित कार्यक्रमबिच खेलाडीहरूलाई सम्मान गरिएको हो । क्लबका अध्यक्ष भूपाल कृष्ण कुमार राई सहित पदाधिकारी र सल्लाहकारले खेलाडीलाई नगद सहित खादा ओढाएर सम्मान गरेका थिए ।

धनकुटामा भएको गोल्डकपमा क्लबको प्रतिष्ठाका लागि टिमले गरेको योगदानलाई कदर गरिएको अध्यक्ष राईले बताए । आउने दिनमा खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेर विजेता हुने विश्वास व्यक्त गर्दै उनले बधाई तथा शुभकामना दिए ।

गत साता फाइनल खेलमा पानबारी फुटबल क्लबले फाक्सीप क्लब धनकुटालाई हराउँदै उपाधि हासिल गरेको थियो । खेलमा क्लबले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, सिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।

यसैबिच क्लबको आयोजनामा वैशाख २२ गतेदेखि प्रथम पानबारी गोल्डकप पनि आयोजना गरिने अध्यक्ष राईले बताए । गोल्डकप सम्पन्न गर्नको लागि तयारी तीव्र भइरहेको उनको भनाई थियो ।