धरान:विभिन्न ११ बुँदे धरान घोषणा पत्र जारी गर्दै किरात कुलुङ राई संघको दुई दिने दोस्रो राष्ट्रिय महाधिवेशन आइतबार धरानमा सम्पन्न भएको छ ।

धरान १० यलम्बर स्मृति संग्रहालय भवनमा भएको महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति मात्र चयन गरेको छैन, कुलुङहरु अलग्गै जाति नभई राई जाति भित्रकै एक थरि एक भाषी कुलुङ राई भएको पनि स्वीकार गरेको छ । महाधिवेशनले संस्थाको नाम किरात कुलुङ राई भाषा धर्म सँस्कृति उत्थान संघलाई संशोधन गरी किरात कुलुङ राई संघ पनि बनाएको छ । ‘सबै पाछाका कुलुङ राईहरुलाई आफ्नो मौलिक भाषा, सँस्कार र सँस्कृति, रिती रिवाज संरक्षण गर्दै व्यवहारमा प्रयोग गरि नयाँ पुस्तामा हस्तान्तरण गर्न आह्वान गर्दछ,’आइतबार जारी भएको घोषणा पत्रमा भनिएको छ,‘विश्वभरि छरिएका कुलुङ राईहरुको परिचय, अस्तित्व र पहिचानलाई सम्मान गर्दै कुलुङहरु राई जाति भित्रकै एक थरि एक भाषी कुलुङ राई रहेको कुरालाई स–गौरव स्वीकार गर्दछ ।’

कुलुङहरु राई जाति भित्रको थर नभै अलग्गै जाति भएको दाबी गर्दै सुनसरीमा नेपाल किरात कुलुङ भाषा सँस्कृति उत्थान संघ नामको अर्को संस्था पनि छ । यो संघले कुलुङलाई अलग्गै जातिकोरुपमा सुचीकरण गर्न सरकारसँग माग पनि गरेको छ । तर, यसमा असहमत राख्ने ठुलो संख्यामा कुलुङ राईहरु पनि छन् । ती कुलुङ राईहरुले संगठित गर्दै किरात कुलुङ राई संघको दोस्रो महाधिवेशन सम्पन्न भएको हो । नवनिवर्चित केन्द्रीय अध्यक्ष मकरध्वज राईले कुलुङहरु अलग्गै जाति नभै राई भित्रकै  भाषिकरुप मात्र फरक भएको बताए ।

‘केही कुलुङ दाजुभाईहरुले राई पगरी मात्र हो, हाम्रो अलग्गै भाषा,सँस्कार,भुगोल, सँस्कृति छ भन्नुहुन्छ र आफुलाई राई नभै कुलुङ मात्र हौ भन्नु हुन्छ,’केन्द्रीय अध्यक्ष राईले भने,‘तर कुलुङ भाषिकरुपमा मात्र फरक हो, हामी कुलुङहरु राई जातिकै एक थर हौ । ती अलग हौ भन्ने साथीहरुसँग एकीकरणको प्रयास नगरेको पनि होइनौ, उहाँहरुसँग मात्र शब्दमा कुरा मिलेन । हामी कुलुङ राई लेख्ने तर उहाँहरु राई नलेख्ने । राई लेख्ने कि नलेख्नेमा मात्र समस्या हो ।’

प्रदेश नं १ को नामकरण किरात गर्न माग

20190126_173454(1)

घोषणा पत्रले प्रदेश नं १ को नामकरण किरात प्रदेश गर्न पनि जोडदार माग गरेको छ । घोषणा पत्रकोे बुँदामा भनिएको छ,‘संघीय गणतन्त्र नेपालको १ नं प्रदेशलाई किरात प्रदेश नामाकरण गरियोस् भनेर जोडदार माग गर्दछ ।’ यस्तै, घोषणा पत्रमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको सरकारी कामकाजको भाषा कुलुङ भाषा बनाउन पनि माग गरिएको छ । महाकुलुङ गाउँपालिका कुलुङ राईहरुको उद्गम भुमि मानिन्छ । महाधिवेशनले २००७ साल आन्दोलनका नायक सहिद रामप्रसाद राईलाई अबिलम्ब राष्ट्रिय विभूति घोषणा गर्न पनि माग गरेको छ ।

घोषणा पत्रले संसारभरि छरिएको कुलुङ राईहरुलाई संगठित हुन आह्वान गर्दै आगामी राष्ट्रिय जनगणनामा जातिको महलमा कुलुङ राई र धर्मकये महलमा किरात लेख्न पनि अपिल गरेको छ । यस्तै, किरात राई यायोक्खालाई सबै भाषी राईहरुको महासंघ संस्थाकोरुपमा स्थापित गर्न आग्रह गर्दै महाधिवेशनले किरात राई भित्रका सबै भाषी किरात राईहरुसँग भातृत्व कायम गरी सहअस्तित्व, सद्भाव र सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता पनि जनाएको छ ।

सर्वसम्मत १३ सदस्यीय केन्द्रीय समिति

20190126_175734

दुई दिने महाधिवेशनबाट सर्वसम्मत मकरध्वज राई(ललितपुर)को अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति पनि चयन भएको छ । समितिको उपाध्यक्षमा दोर्पध्वज राई(सुनसरी), महासचिवमा डिल्लीबहादुर राई(खोटाङ), सचिवद्धयमा चन्द्रप्रसाद राई(सोलु), करसिंह राई(इलाम) र कोषाध्यक्षमा आशबहादुर राई(काठमाण्डौ) चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा जंगवीर राई(इलाम), बुद्धिबहादुर राई(सोलु), शुभद्रा राई(सुनसरी), निलकमल राई(तेह्रथुम), फुलमाया राई(मोरङ) र भरत राई(खोटाङ) रहेका छन् । यसैबीच, किरात राई यायोक्खाका केन्द्रीय सल्लाहकार मणीकुमार राई(ललितपुर)ले संघलाई आर्थिक सहयोग गरेका छन् । आइतबार राईले नवनिवार्चित अध्यक्ष मकरध्वज राईलाई नगद हस्तान्तरण गरेका थिए ।

IMG_20190127_142258