इटहरी: इटरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले भ्रष्ट भनेर नाम किटान गरेपछि विवादमा तानिएका रामप्रसाद चौलागाईले प्रष्टीकरण दिएका छन् ।

नेकपाका जिल्ला नेता एवं इटहरी खानेपानी उपभोक्ता समूहका अध्यक्षसमेत रहेका चौलागाईले आज मंगलबार पत्रकार सम्मेलन गर्दै आफुले निस्वार्थरुपमा काम गरेको जिकिर गरेका छन् । खानेपानी संस्थाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा चौलागाईले आफूले निस्वार्थ रुपमा काम गरेकोले भ्रष्टाचारको आरोप निराधार भएको जिकिर गरे । 'हामीले कुनै तलब भत्ता लिएर काम गरेका छैनौँ, संस्थाको सुशासन र पारदर्शीतामा हामीलाई विश्वास छ । जसले आरोप लगाएको हो, उसले नै प्रमाणित गर्नुपर्छ,'उनले भने,'ममाथि भ्रष्टचारको आरोप लगाउनेले छानबिन गरि तथ्य सार्वजनिक गर्नुपर्छ ।' 

चौलागाईले मेयर चौधरीले मानहानी गरेको भन्दै मेयरलाई कारबाही हुनुपर्ने बताए । उनले भने, 'मेयर साबले आफ्नो गल्तीमा फर्कनुपर्छ, कि छानबिन गरेर भ्रष्टचार भएको प्रष्ट पार्नुपर्छ । स्वतन्त्र रुपमा छानबिन गर्नुपर्छ, म भ्रष्टाचारी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु ।' उनले संस्थालाई हानी हुने कुनै काम नगरेको बताउँदै आरोप लगाउने बित्तिकै राजीनामा दिन आवश्यक नरहेको पनि बताए ।

दुई कार्यकाल अध्यक्ष चलाएका चौलागाईको कार्यकाल यही असार मसान्तसम्म रहेको छ । यो कार्यकालपछि भने आँफूले राजीनामा दिने उनले संकेत गरे । मेयर चौधरीले एक कार्यक्रममा चौलागाईलाई भ्रष्टाचारी भन्दै कुटेको पनि वयान दिएका थिए । यस बिषयमा पत्रकारले सोधेपछि चौलागाईले भने, 'उहाँ (मेयर) ले नै भनेपछि मैले होईन कसरी भन्ने ? उहाँले आफैँ बोलिसकेपछि मैले पिटाई खाएको हैन किन भन्ने ? '

मेयर चौधरीले तीन दर्जन बढीको हाराहारीमा आफूलाई म्यासेज पठाएको र आफूले सार्वजनिक गर्न नचाहाने चौलागाईँले बताए । 'अस्तिसम्म मेयर साबसँग सौहार्दपूर्ण नै सम्बन्ध थियो, उहाँलाई एक्कासी के भयो, मलाई केही थाहा छैन, मलाई बिनाकारण उहाँले झम्टिनुभयो,'चौलागाईले भने । मेयर चौधरीले खानेपानीको पाईप विच्छ्याँदा, ट्यांकी निर्माण गर्दा, जग्गा खरीद गर्दा भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।