इटहरी: नेपाली कांग्रेस इटहरी नगर समितिले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी नसच्चिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बिहीबार इटहरीमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले मेयर चौधरीलाई सच्चिन आग्रह गरेको हो । पटक–पटक पत्रकारमाथि धम्की र दुव्र्यबहार गरेको भन्दै कांग्रेसले सच्चिन आग्रह गरेको हो । मेयर चौधरी नसच्चिए आन्दोलन गर्ने कांग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेलले बताए । उनले भने, ‘अहिले देशका तीनै तहबाट पत्रकारमाथि दमन भईरहेका घटनाले हाम्रो ध्यानाकर्षण भएको छ, सरकार निरङ्कुश तरिकाले अगाडि बढिरहेको र बिशेषगरेर हाम्रै नगरमा पनि पत्रकार माथि नगरप्रमुख बाटै दुव्र्यवहार भएको घटनाको भत्र्सना गर्दछु ।’

कांग्रेसले पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तीमा भनिएको छ,‘सार्वजनिक पद धारण गरेको व्यक्तिले कसैलाई अंगभंग गराउन एक करोड छुट्याएको छु, सुपारी नै दिइसकेको छु, अदालत र प्रहरी कमजोरका लागि मात्रै हो, म शासक हुँ, अदालत र प्रहरीलाई मान्दिन भन्नु गैरजिम्मेवार अलोकतान्त्रिक र संविधान विरोधी काम अरु के हुन सक्ला ?’

मेयर चौधरीले उठाएका केही बिषय भने गम्भीर रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘उनले निश्चित व्यक्ति र संस्थालाई किटान गरेर अभिव्यक्ति दिईरहेका छन् । उनले किटान गरेका व्यक्ति रामप्रसाद चौलागाईँ यसअघि पनि यस्तै विवादित भैसकेका व्यक्ति हुन् । उनले किटान गरेका व्यक्ति इटहरी उपमहानगरपालिका र इटहरी खानेपानी भित्रको भ्रष्टाचार बिषयमा छानबिन गर्न जोडदार माग गर्दछौँ ।’ भ्रष्टाचार बिरोधी काममा कांग्रेसले जहिल्यै साथ सहयोग गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।