धरान: नेपाली कांग्रेसले धरानमा एकिकृत सहरी विकास कार्यक्रम अन्तर्गत निर्माणाधीन खानेपानी आयोजनाले लक्ष्यअनुसार खानेपानी उत्पादन नभएको जनाएको छ ।

नेपाली कांग्रेस धरान उपमहानगर समितिले कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारीलाई आज शुक्रबार ज्ञापन पत्र बुझाउदै यस्तो जनाएको हो । नगर सभापति तिलक राईद्धारा हस्ताक्षरित १० बुंदे ज्ञापन पत्रमा भूमिगत श्रोतवाट १ करोड ५२ लाख २० हजार लिटर प्रतिदिन उत्पादन गर्ने भनिए तापनि हाल ८० लाख लिटर मात्र उत्पादन भएको दाबी गरिएको छ । यस्तै, इन्टरकनेक्शन गर्न नसकेको, आयोजना सम्पन्न हुने निर्धारित समयभन्दा २ वर्ष ढिलो भईसकेकये उल्लेख छ भने हालको उत्पादन क्षमताले सम्झौता तथा डिजाईनमा भने बमोजिम ७ मिटरको प्रेसरमा दैनिक १६ देखि २४ घण्टा पानी उपलब्ध हुन नसक्ने दावी गरिएको छ ।

कांग्रेसले सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिसँग भएको सम्झौता बमोजिम भूमिगत श्रोतवाट १ करोड ५२ लाख २० हजार लिटर पानी दैनिक उत्पादन गरेर वितरण प्रणाली अर्थात टंकीमा संकलित गरी ७ मिटरको प्रेसरमा खानेपानी घरघरमा वितरण हुनुपर्ने माग गरेको छ । यस्तै, नेपाल खानेपानी संस्थानको धरान शाखाको सम्पत्ति तथा दायित्वको विशेषज्ञ मार्फत पुनः मूल्यांकन हुनुपर्ने, संस्थानको कर्मचारी समायोजन सम्बन्धि विनियमावली स्विकृत हुनुपर्ने पनि माग गरेको छ ।

आयोजनावाट पञ्चकन्या (विजयपुर) सिष्टम हटाइएकोले धरान १४ तथा साविक विष्णुपादुका र पांचकन्या क्षेत्रका लागि छुट्टै खानेपानी योजना लागु हुनुपर्ने, पूर्ण सञ्चालनमा नआउदै पम्प तथा उपकरणहरु विग्रिने गरेको पाइएकोले यसको छानबिन हुनुपर्ने, आयोजनावाट हटाइएको पञ्चकन्या (विजयपुर) सिष्टम र सडक विकास कोषवाट भएको २० किलोमिटर सडक मर्मत तथा विस्तारमा परेको व्ल्याक टप निर्माणको लागत समायोजन हुनुपर्ने पनि माग गरेको छ । यस्तै, आयोजनाको प्रगति, खर्च तथा कम्युनिटि डेभलपमेन्ट प्रोग्रामको खर्च तथा कार्यको विवरण सार्वजनिक हुनुपर्ने, आयोजना सम्पन्न भएपछि ९ महिनाको परीक्षण काल रहने व्यवस्था भएकाले सो अवधिसम्म आयोजनावाट डिजाईन अनुसार खानेपानीको आपूर्ति भएको हुनुपर्ने पनि माग गरेको छ ।

यस्तै, हाल कतिपय वडामा वोर्ड र संस्थान दुवैवाट महशुल उठाउने गरेको पाइएकोले दोहोरो महशुल संकलन तत्काल बन्द गर्नुपर्न पनि कांग्रेसको माग छ । शहरी खानेपानी आयोजनाको व्यवस्थापन तथा सञ्चालन गर्न नेपाल सरकारले छुट्टै संरचना बनाउने नीति लिएको सन्दर्भमा अधुरो, अपुरो र अप्रमाणित आयोजनालाई हतारहतार जिम्मा लिने र खानेपानी संस्थानलाई वोर्डमा गाभ्नुको औचित्य पुष्टि गर्न पनि कांग्रेसले माग गरेको छ ।

ज्ञापन पत्र बुझाउदै जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले आयोजनाले भूमिगत श्रोतवाट १ करोड ५२ लाख २० हजार लिटर शुद्ध पानी वितरण सिष्टममा दैनिक झारेर र ७ मिटर प्रेसरमा घरघरमा वितरण गरेर देखाएर प्रमाणित गर्नुपर्ने बताए । आयोजना सम्पन्न पछिको ९ महिना परीक्षण अवधि संतोषजनक हुनुपर्ने बताउंदै उनले अधुरो, अपुरो तथा अप्रमाणित आयोजनालाई बुझ्ने र हचुवाको भरमा खानेपानी संस्थानलाई बोर्डमा गाभ्न खोजिए कडा प्रतिकार गरिने पनि बताए ।

यस्तै, नगर सभापति तिलक राईले सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिसंग भएको ११ बुंदे माग सहित ज्ञापन पत्रमा उल्लेखित १० बुंदे मागको बुंदागत रुपमा संवोधन नगरी धरान उपमहानगरपालिका अघि बढे सशक्त आन्दोलन गर्ने बताए । कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारीले ज्ञापन पत्र बुझ्दै आयोजनाको काम लगभग सकिन लागेको र आयोजनालाई सफल बनाउनकै लागि म्याद थप गरिएको बताइन् ।