धरान: नेपालीहरुको घरघरमा चाड तिहार भित्रिसकेको छ । घर, आँगन, चोकहरु सबै बत्तिले झिलिमिलि छ । आज साँझ लक्ष्मीपूजा हुदैछ, र महिला दिदीबहिनी, देउसे टोलीहरु भैलो एवं देउसी खेल्न पनि निस्कनेछन् ।

यता धरानको महोल भने अलि फरक छ । यहाँ तिहारको मात्र होइन, आगामी मंसिर १४ गते हुने मेयरको उपनिर्वाचनको पनि रौनक छाएको छ । सर्वसाधारणहरु तिहार मनाउने जोरजाम गरिरहदा राजनीतिक दलहरु भने चुनावी अभियानमा ब्यस्त छन् । उम्मेदवार घोषणा र चुनावी प्रचारप्रसारमा उनीहरुको ब्यस्तता बढ्दो छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले घरदैलो अभियान थालिसकेका छन् । कांग्रेस धरान उपमहानगर कमिटिका सभापति राईलाई पार्टीले सर्वसम्मत उम्मेदवार सिफारिश गरेको थियो ।

tilak-congress1

उम्मेदवार राईले हिजो शनिबारदेखि घरदैलो अभियान थालेका हुन् । प्रसिद्ध एवं पवित्र धार्मिकस्थल रहेको धरान वडा नं २० विष्णुपादुकाबाट उनले घरदैलो थालेका हुन् । हिजो पहिलो दिन तामाखाम, बाघखोप, चिण्डे डाँडा, बन्दुके र टोड्केलगायत क्षेत्रमा उनले मतदाताहरु घरलौरी भेटेका थिए । आज पनि विष्णुपादुका मन्दिर क्षेत्रमा घरलौरी मतदाता भेट्ने र सुझाव पनि संकलन गर्ने काम भइरहेको उम्मेदवार राईले बताए । ‘आज सुलिकोट, चिउरीबोटे, कोकाह पारी विष्णुपादुका मन्दिर क्षेत्रमा मतदाताहरु भेटिरहेको छ,’मोवाइल सम्पर्कमा उनले भने,‘घरलौरी नै पुगेर मतदाताहरुसँग भोट मागिइरहेका छौं, सुझाव पनि लिदैछौं ।’

मतदाताहरु निराश

tilak-congress-

कांग्रेस उम्मेदवार राईका अनुसार घरदैलोको क्रममा भेट माग्न जादा मतदाताहरुले निराशा प्रकट गर्दै भोट हाल्न नजाने अभिव्यक्ति दिइरहेको पनि बतए । तत्कालिन एमालेलाई जिताए पनि वाचा पुरा नगरेको भन्दै मतदाताहरु यसपाली भोट नै हाल्न नजाने बताइरहेका छन् । ‘कतिले त भोट हाल्नै जादैनौ भने । एमालेले जितेपछि गछौं भनेको वाचा पुरा गरेन, भोट दिएर पनि केही नहुदो रहेछ भन्छन्,’उनले भने,‘हामीले सम्झाइ बुझाइ गरेर त्यस्तालाई भोट नदिएर सजाय दिनुस्, र यसपाली हामीलाई जिताउनुस्, हामी काम गरेर, वाचा पुरा गरर देखाउछौं । हामीलाई विश्वास गर्नुस् भनेर भनिरहेका छौं ।’