धरान: प्रथम र दोस्रो विश्वयुद्धमा लाखौं मानिसले ज्यान गुमाएका थिए । त्यसरी ज्यान गुमाउनेहरुमा नेपाली युवाहरु पनि पर्छन् ।

विश्वयुद्धमा नेपालको प्रत्यक्ष संलग्नता नभए पनि हजारौं गोर्खा भर्ती लागेका हजारौं युवाहरु युद्धमा ज्यान गुमाए, वेपत्ता भए । विश्वयुद्धमा तिनै वीरगति प्राप्त गर्ने ज्ञात, अज्ञात गोर्खा सैनिकहरुको स्मृतिमा सोमबार धरानका भूपू सैनिकहरुले पप्पी डे मनाएका छन् । उनीहरुले धरानको वडा नं २० माछामारा डाँडामा निर्माणाधिन गोर्खा स्मृति पार्कमा पप्पी डे मनाएका हुन् । हरेक बर्ष विश्वभर नोभेम्बर महिनाको ११ तारिखलाई पप्पी डेकोरुपमा मनाइन्छ । यसदिन वीरगति प्राप्त गरेका सैनिकहरुप्रति बिशेष सम्मान प्रकट गर्ने गरिन्छ ।

पप्पी युरोपमा फुल्ने प्रसिद्ध फुल हो । बेलायत लगायतका मुलुकहरुमा भने नोभेम्बर महिना भरि पप्पी फुल छातीमा सिउरिने चलन छ । नेपालमा भने नोभेम्बर ११ को दिनमा मात्र बिशेष कार्यक्रम गरेर भूपू ब्रिटिश सैनिक तथा परिवारका सदस्यहरुले पप्पी डे मनाउदै आएका छन् । ब्रिटिश गोर्खा एकता समाजले सोमबार पार्कमा राखिएको आयो गोर्खा प्रतिमामा सलामीसहित फुल चढाएर आफ्ना वीर पुर्खाहरुप्रति सम्मान व्यक्त गरेका थिए । कार्यक्रममा समाजवादी पार्टीबाट धरानका मेयर पदका उम्मेदवार गजेन्द्र इस्वो पनि थिए ।

समाजका पदाधिकारीहरु सहित भुतपुर्व ब्रिटिश गोर्खाजहरुका परिवारहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा भुतपुर्व ब्रिटिश गोर्खा रमेश राई, गजेन्द्र इस्वो लगायतले पार्कमा रहेको ‘आयो गोर्खा’ प्रतिमामा फुल चढाउँदै सलामी दिएका थिए । पूर्वब्रिटिश सैनिक रमेश राईका अनुसार प्रथम विश्वयुद्ध अन्त्य भएको घोषणा गर्दा सन् १९१८ नोभेम्बर ११ तारिखको समय ११ बजेको थियो । त्यसबेला पश्चिम बेल्जियमको फलन्दर्स भन्ने ठाउँमा भीषण युद्ध भएर जनधनको ठुलो क्षति भएको थियो ।

वीरगति पाएका सैनिकहरुको समाधि भएको ठाउँमा पप्पी फुल फुलेर झुलिरहेको थियो । सोही पप्पी फुललाई वीरगति प्राप्त गरेका सैनिकहरुको प्रतिककोरुपमा पप्पी डे मनाउन थालिएको उनले बताए । ‘विश्वयुद्ध अन्त्य हँुदा वीरगति प्राप्त गरेका हाम्रा पुर्खाहरुको समाधिस्थलमा पप्पी फुल मात्र फुलिरहेको देखिएको थियो,’उनले भने,‘त्यसै दिनको सम्झना र दिवंगत हाम्रा वीर गोर्खाली पुर्खाहरुको सम्झनामा पप्पी डे मनाउछौं ।’

पप्पी डे विश्वयुद्धमा ज्यान गुमाएकाहरुको स्मृतिमा र घाइते, अंगभंग भएकाहरुको उपचार तथा पालनपोषणमा सहयोग गर्ने उद्देश्यले मनाइने गरिएको थियो । युरोपतिर नोभेम्बर महिनाभरि कृत्रिम पप्पी फुल छातीमा सिउरिन किन्ने गरिन्छ । त्यसरी संकलन भएको रकम घाइते सैनिकहरुको लागि कोषमा राखिने गरिन्छ । पछिल्लो समय भने त्यसरी आर्थिक संकलन गर्ने चलन हराउदै गएको छ ।