डडेलधुरा: डा. गोविन्द केसीले आज नवौं दिनमा अनसन तोडेका छन् ।

डडेलधुरामा विगत ९ दिनदेखि अनसनरत डा.केसीले देशमा उत्पन्न पछिल्लो परिस्थितिको कारण केही दिनको लागि अनसन स्थगित गरेको बताएका छन् । उनका अनुसार सिमा मिचिएको विद्यमान अवस्थालाई मध्यनजर गर्दै तत्कालको लागि अनसन स्थगित भएको हो । राष्ट्रियताको विषयमा देशभरी आवाज उठिरहेको विषयलार्इ हृदयगंम गरि सत्याग्रह स्थगन गरेको उनले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै भनेका छन् ।

डा केसीले जारी गरेको प्रेस वक्तव्यमा सिमा रक्षाको सवालमा राजनीतिक शक्तिहरुले देखाएको तदारुकता देखावटी मात्र नभएर कुटनीतिक माध्यमबाट समस्याको समाधानतर्फ लाग्न पनि उनले आग्रह गरेका छन् । चिकित्सा शिक्षा ऐन संशोधनसहितका सातबुँदे माग अघि सारेर डा. केसी कात्तिक १७ गतेदेखि डडेलधुरामा अनसनरत थिए । उनले ०७५ साउन १० गतेको दिन १५ औं अनशनको क्रममा सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न उनले माग गर्दै अनसनमा बसेका थिए ।