धरान: नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले धरानमा मेयर पदका उम्मेदवार तिलक राईको लागि सुकुम्बासी बस्तीमा पुगेर भोट मागिदिएका छन् ।

मंसिर १४ गतेको उपनिर्वाचनमा कांग्रेसबाट उम्मेदवर राईसँगै उनी घरदैलो कार्यक्रममा सहभागी भएर भोट मागेका हुन् । उनी धरान १६ को गैरी बस्ती, नौलो बस्तीमा पुगेका थिए । ती बस्ती सुकुम्बासीहरु बसोबास भएको बस्ती हो । कांग्रेसका लोकप्रिय नेता रहेका कोइरालाले कांग्रेसले कम्युनिष्ट जस्तो जनतालाई झुक्याउने, ठग्ने काम नगर्ने भएकोले भोट दिएर जिताउन आग्रह गरे । चुनाव नजिकिँदै जादा पैसाको भरमा निर्वाचन बिथोल्न र आचारसंहिताविरुद्ध कामगर्न सक्ने भन्दै कांग्रेसका नेतालाई सचेत हुन पनि आग्रह गरेका थिए ।

कांग्रेस सुकुम्बासीहरुलाई सम्पन्न भएको देख्न चाहने पार्टी भएकोले वीपीले भने जस्तै सम्पुर्ण नेपालीलाई आफु जस्तै बनाउने चाहान धरानमा तिलक राईले पुरा गर्ने कोइरालाको भनाई थियो । कोइरालाले आचारसंहिता विपरीत काम भइरहे पनि सत्ता पक्षलाई केही नगरेको भन्दै निर्वाचन आयोग सरकारको नभै संवैधानिक अंग रहेको हेक्का राख्न पनि आग्रह गरे । कोइरालाले कम्युनिष्टहरुले झुक्याएर मत माग्ने काम भइरहेकोले सचेत हुन मतदाताहरुसँग पनि आग्रह गरे ।

मेयरको उम्मे्दवार तिलक राईले कांग्रेस आश्वासन बाढ्ने पार्टी नभएको भन्दै सुकुम्बासीलाई सुरक्षित बसोबासको व्यवस्था गर्ने बताए । नेकपाले सत्ताको दुरुपयोग गरेको आरोप लगाउदै उनले पैसाको भरमा लगत प्रचार गरिरहेको पनि बताए ।

shekhar-koirala