धरान: चुनाव नजिकिदै गर्दा राजनीतिक दलहरुले एकले अर्काे पार्टीको नेता, कार्यकर्ताहरु भित्र्याउने होडबाजी चलेको छ । सोही क्रममा बुधबार धरानमा पुर्वमाओवादीका जिल्ला कमिटि सदस्य नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

भानुचोकमा आयोजित कार्यक्रममा पुर्वमाओवादीका जिल्ला सदस्य प्रेमबहादुर लकान्द्री कांग्रेस प्रवेश गरेका हुन् । उनी सुनचादी व्यवसायी हुन् । उनीसहित कार्यक्रममा १ सय ६ जना विभिन्न व्यक्तिहरु कांग्रेस प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइरालासहित शीर्ष नेताहरुले माला र टिका लगाएर स्वागत गरेका थिए । स्वागत कार्यक्रममा नै लकान्द्रीलाई कांग्रेसले आमन्त्रित जिल्ला सदस्य मनोनयन गरिएको पत्र पनि थमाएको थियो ।

एउटा पार्टी छोडेर अर्को पार्टी प्रवेश गर्ने लहरमा लकान्द्री पछिल्लो समयको माथिल्लो(जिल्ला)स्तरका नेता हुन् । लकान्द्रीले मन्तव्यको क्रममा आफु सरकारी कर्मचारी रहदा नै २०६० सालदेखि माओवादी पार्टीमा आवद्ध भएको र माओवादीले मुलुक परिवर्तन गर्छु भनेपछि नेताहरु मात्र परिवर्तन भएकोले पार्टी छोडेको बताए । कम्युनिष्टहरुले खोक्रो आश्वासन मात्र दिइरहेको र कम्युनिष्टहरुको आफ्नो केही हुदैन भन्ने कार्यकर्ताहरुलाई घोकाए पनि नेताहरुले भने अथाह सम्पत्ति जोड्ने गरेकोले कांग्रेस प्रवेश गरेको बताए । पुर्वएमाले र पुर्वमाओवादी पार्टी एकता हुँदा उनी नअटेपछि असन्तुष्ट भई निष्क्रिय बसेका थिए ।