प्रकाशपुर :  बराहक्षेत्र नगरपालिकामा यतिबेला वडा कार्यालयको निर्माणको बिषयमा बिबाद तिब्र छ ।

वडा कार्यालय बनाउने बिषयमा मेयरले अनावश्यक हस्तक्षेप गरेको भन्दै बराहक्षेत्र नगरपालिकामा वडा नं ३ का वडाध्यक्षले प्रवक्ताको पदबाट राजिनामा नै दिएपछि यो बिषय छताछुल्ल भयो । दाहालले प्रवक्ताको पदबाट राजिनामा दिदै वडाध्यक्षबाट समेत राजिनामा दिने चेतावनी समेत दिएपछि विवाद चर्कदै गएको छ । राजिनामा पत्रमै दाहालले मेयर खनाल जग्गा व्यापारीहरुसँगको मिलेमतोमा वडा कार्यालय बनाउन लागेको आरोप लगाएका छन।

गत बैशाख २७ गते वडा समितिको बैठकले वडा कार्यालय नडाहा चोकमा बनाउने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम नगर सभाले बजेटसमेत विनियोजन गरेर ठेक्का प्रक्रिया अघि बढेको थियो । मेयर निलम खनालले प्लटिङ्ग गरेको ठाँउमा छ कठ्ठा सित्तैमा जग्गा दिएको भन्दै वडाध्यक्ष संग समन्वय नै नगरी एक्लै सम्झौता समेत गरे । पार्टि नेतृत्वकै रोहबरमा वडा कार्यालय बनाउने सम्झौता गरेका निलम खनालले सरकारले बनाएको कानुन भने मिचेको देखिन्छ ।

नगरपालिका संचालनको प्रमुख कानुनले भने वार्डको सिफारिसमा नगरसभाले वार्डको केन्द्र तोक्ने व्यवस्था छ । वडा कार्यालयले केन्द्र तोकेर सम्पुर्ण प्रक्रिया पुरा गरेर नगर सभाबाट बजेटसमेत विनियोजन भएको थियो । विशुद्द वडासमिति र नगरसभाको अधिकारको क्षेत्रमा रहेको वडाकेन्द्र तोक्ने बिषयमा मेयर खनालको अधिकार भन्दा माथि गई हात हालेको देखिन्छ ।  भवन निर्माणका लागि ठेक्का आह्वानको सुचना प्रकाशित गरिसकेको अवस्थामा अहिले जग्गा प्लटिङ गर्ने व्यापारीहरुसँग मिलेर मेयरले वडा कार्यालय अन्तै बनाउनुपर्छ लागिपरेको दाहालले समेत आरोप लगाएका छन् ।

स्थानीय सरकार संचालन ऐन २०७४ ले वडाको केन्द्र तोक्ने स्पष्ट अधिकार मेयर भन्दापनि वडा र नगरसभालाई दिएको छ । ऐनको दफा ५ मा नगरपालिकाको वडा सङ्ख्या, सीमाना र केन्द्र भन्ने व्यवस्था छ जसमा वडा समितिको सिफारिसमा गर्ने व्यवस्था छ । दफा ५ को उपदफा ३ भन्छ सभाले सम्बन्धित वडाको सिफारिसमा देहायका अधारमा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट प्रस्ताव पारित गरी वडाको केन्द्र तोक्नेछ : 

(क) जनसङ्ख्या तथा जनसङ्ख्या वितरणको अवस्था,

(ख) भौगोलिक निरन्तरता, अनुकूलता तथा विशिष्टता,

(ग) भाषिक, सांस्कृतिक तथा सामाजिक विशिष्टता,

(घ) सेवा सुविधा वितरणको अवस्था र सुगमता,

(ङ) विद्यमान भौतिक पूर्वाधार ।