काठमाडौं : कुवेतको एउटा निर्माणस्थलमा कार्यरत चार नेपाली कामदारको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

काम गरिरहेको बेला बालुवा र ग्राभेलको पहिरो खस्दा उनीहरु पुरिएका थिए । कुवेतबाट सञ्चालित अरब टाइम्स अनलाइनका अनुसार ‘अल मत्ला’ क्षेत्रमा एउटा चिनियाँ कम्पनी मातहत कम्तिमा १३ नेपाली मजदुर उक्त निर्माण क्षेत्रमा कार्यरत थिए ।

पहिरोमा पुरिएकामध्ये सात जनालाई बाहिर निकालिएको छ । जसमध्ये चार नेपालीको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई अस्पताल लगिएको छ । थप तिन जना नेपाली मजदुर अझै हराइरहेका छन् ।

उद्धारकर्र्ताहरुले उनीहरुको खोजी जारी राखेको बताएका छन् । घटनामा परी ज्यान गुमाउने तथा घाइते हुनेहरुको परिचय भने खुलेको छैन ।