भद्रपुर : झापाको मेचीनगरमा कोठा भाडा लिएर युवतीलाई आर्थिक प्रलोभन देखाई यौन धन्दा चलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका ५ घर भई हाल झापाको मेचीनगर नगरपालिका ७ बस्ने ४४ वर्षीय तुलसी कट्टेल, मेचीनगर नगरपालिका ७ बस्ने ५८ वर्षीय हरि भनिने शिवप्रसाद घिमिरे र मेचीनगर नगरपालिका ६ बस्ने ४६ वर्षीय सूर्य भनिने श्यामप्रसाद सिवाकोटी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । तीनजना पक्राउ परेसँगै दुई युवतीलाई त्यहाँबाट उद्धार गरी प्रहरीले घर पठाइ दिएको समाचार थाहाँखबरमा प्रकाशित छन् । यता, पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

युवतीले खुलाए घटना

प्रहरीका अनुसार बिहीबार बिहान मेचीनगर ६ स्थित सडकमा अन्दाजी २० देखि २१ वर्षका दुईजना युवतीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले शंकास्पद अवस्थामा फेला पारी सोधपुछ गरेका थिए । सोधपुछको क्रममा ती दुई युवतीले आफ्नो घर भक्तपुर र मोरङ बताएकी थिइन। युवतीले झापा जिल्ला बाहिर आफ्नो घर बताएपछि प्रहरीले थप सोधपुछ सुरु गरे । प्रहरीले गरेको सोधपुछको क्रममा युवतीले यौन धन्दा चलाएको घटनाको खुलस्त गरिन् ।

युवतीले प्रहरीलाई दिएको बयान अनुसार पक्राउ परेका ती व्यक्तिहरूले मेचीनगर ७ स्थित प्यारीभिट्टामा १६ कोठा भएको चार तले घर भाडामा लिएका थिए । सोही घरमा झापा बाहिर जिल्लाका युवती राख्ने र कोठामै ग्राहक बोलाएर यौन धन्दा चलाउँथे । त्यति मात्र नभई ती व्यक्तिले ग्राहकको चाहना बमोजिम युवतीहरूलाई यौन सम्पर्क गराउन झापाका विभिन्न होटेल तथा लजमा समेत पठाउँदै आइरहेका थिए । युवतीले दिएको बयानलाई उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक पोखरेलले भने, ’एक दिनमा पाँचदेखि ६ जना व्यक्तिसँग यौन सम्बन्ध राख्न लगाउने गरेको र प्रति व्यक्ति प्रति घण्टा ५०० र रात समयमा बाहिर होटेलमा पठाउँदा प्रति रातको २५०० सयसम्म रकम दिने प्रलोभन युवतीलाई दिएको थियो ।’ युवतीले यो काम गरेबापत अहिलेसम्म १० हजार रकम मात्र पाएको खुलाएको उनले बताए ।